सिड्नीको साहित्य पुरस्कार ‘वीर्यको बतास’लाई

सिड्नीको साहित्य पुरस्कार ‘वीर्यको बतास’लाई


■ राजन घिमिरे, सिड्नी

यस वर्षको साताको साहित्य पुरस्कार सीता तुम्खेवालाई प्रदान गरिने भएको छ । तुम्खेवालाई ‘वीर्यको बतास’ शीर्षकको कविताका लागि उक्त पुरस्कार प्रदान गरिने भएको हो । साताको साहित्य डट कमले एक विज्ञप्ति प्रकाशित गरी उक्त पुरस्कारको घोषणा गरेको हो ।

विज्ञप्तिमा गत अगष्ट २०१८ देखि जुलाई २०१९ सम्म ‘साताको साहित्य डट कम’मा प्रकाशित भएका रचनामध्येबाट उत्कृष्ट तीन रचनाहरू एक साताअघि सार्वजनिक गरिएकोमा सीता तुम्खेवाको कविता ‘वीर्यको बतास’लाई पुरस्कृत गरिने निर्णय गरेको जनाइएको छ ।

अन्य दुई उत्कृष्ट रचनाहरूमा गीता पुडासैनीको कविता ‘बाल–विधवा’ र रुपक वनवासीको गजल छानिएका थिए । नगद २० हजार र ताम्रपत्र रहेको उक्त पुरस्कार आगामी जनवरी महिनाको पहिलो साता काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी प्रदान गरिने साताको साहित्य डट कमका सम्पादक निष्प्रभ सजीले जानकारी दिए ।

सुरुवातदेखि नै पुरस्कार राशी इनोभेटिभ एसोसिएट्सले प्रायोजन गर्दै आइरहेको छ । व्यवसायको कर्पोरेट सामाजिक जिम्मेवारी मानेर साहित्यका अनुरागी हरुलाई आफ्नो संस्थाले लामो समयदेखि साहित्य सिर्जनामा सहयोग पुगोस् भनेर साहित्य क्षेत्रलाई सहयोग गर्दै आएको जानकारी संस्थाका निर्देशक डिला खरेलले दिए ।

आठ वर्ष अघिदेखि अस्ट्रेलियाको सिड्नीबाट प्रदान गरिँदै आएको साताको साहित्य पुरस्कार यसअघि नवीन प्यासी, पोल्लास सिन्धुलीय, बोनम प्रताप, नवराज पराजुली, मुकुन्द प्रयास, रमेश सायन र रवीन्द्र समीरका रचनाहरूले प्राप्त गरेका छन् ।