नेपाल–चीन उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यहरूले नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीसँग भेटघाट गरी दुई देशबीचको व्यापार, पर्यटन तथा आर्थिक प्रवर्द्धनका विषयमा छलफल गरेको छ ।
भेटघाटमा राजदूत यान्छीले दुई देशबीच विद्यमान आपसी विश्वास र मित्रता महत्वपूर्ण रहेको उल्लेख गर्दै चिनियाँ उत्पादनहरू सस्तो तथा गुणस्तरयुक्त भएको कारण विश्वमा नै ठूलो निर्यातमूलक राष्ट्र भएको कुरा बताउनुभयो । उहाँले दुई देशबीचको व्यापार वृद्धिमा नेपालतर्फको साँघुरो सडक नै बाधकको रुपमा देखापरेको हुँदा दुवै राष्ट्र नेपालको सडक निर्माण तथा विस्तारमा लागि परेको जानकारी गराउनुभयो ।
नेपालमा विमानस्थालहरूको निर्माण तीव्र गतिमा भइरहेको र हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालको प्रोजेक्ट पूर्ण गरी हस्तान्तरण गरिसकेको पनि राजदूतले उल्लेख गर्नुभयो । अबका दिनमा दुई देशबीच भएका विविध सम्झौताहरुको कार्यान्वयनमा जोड दिने जानकारी उहाँले दिनुभयो । साथै, नेपाल चीन उद्योग वाणिज्य संघ एक अग्रणी संस्था भएको र दुई देशबीचको आर्थिक, व्यापारिक, सांस्कृतिक, पिपल टु पिपल सम्बन्ध आदि प्रवद्र्धनमा गर्दै आएको कार्य सराहनीय रहेको, भविष्यमा समेत राजदुतावासले दुई देशबीचको व्यापार, पर्यटन तथा आर्थिक क्रियाकलापमा सहकार्य गर्ने उहाँको प्रष्टोक्ति थियो ।
भेटघाटका क्रममा संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले दुई देशबीचको सदियौँ पुरानो ऐतिहासिक सम्बन्धको चर्चा गर्दै संघका गतिविधि तथा दुई देशबीच विद्यमान व्यापारिक संभावना र समस्याहरु बारे जानकारी दिनुभयो । संघको विभिन्न जिल्लाहरुमा १२ वटा च्याप्टर रेहेको र संघले हालसम्म चीनका ३५ वटा ऋChina Council for the Promotion of International Trade (CCPIT) अन्तगर्तका सव–काउन्सील तथा संगठनहरूसँग समझदारीपत्रमा हस्ताक्षर गरी व्यापारिक सूचना, प्रतिनिधिमण्डलको आदानप्रदान, व्यापारिक मेला, एस्पो, सेमीनारमा सहभागिता आदिमा सहकार्य गरी अघि बढिरहेको उहाँको भनाई थियो ।
हालै चीनका राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणबाट दुई देशबीचको आर्थिक, लगानी तथा पर्यटनमा वृद्धि हुने माहोल बनेको भन्दै उहाँले नेपाल–चीनबीच नयाँ हवाई गन्तव्य विस्तार भएको र संघाई जस्तो ठुलो शहरमा समेत सो सेवा विस्तार गर्नुपर्ने, जसबाट नेपाल भ्रमण वर्ष २०२० सफल हुने तुलाधरको तर्क थियो ।
लार्चामा सुख्खा बन्दरगाह संचालनमा आएको र सडक मार्गबाट छिटो सुरक्षित रुपमा सामान नेपाल आइपुग्ने हुँदा धेरै आयातकर्ताहरू त्यसतर्फ आकर्षित भइरहेको जानकारी दिँदै रसुवा तथा तातोपानी नाकामा भौतिक पूर्वाधारको विकास गर्नुपर्ने अनि नेपालमा स्थायी सरकार रहेको र लगानीमैत्री वातावरण बन्दै गइरहेको हुँदा चिनियाँ लगानीकर्ताहरुलाई नेपालका विविध सम्भावित क्षेत्रमा ठुलो लगानी ल्याउन पहल गर्न उहाँले आग्रह गर्नुभयो ।
प्रतिक्रिया