काङ्ग्रेस महाधिवेशन फेरि सर्ने !

काङ्ग्रेस महाधिवेशन फेरि सर्ने !


काङ्ग्रेसभित्र प्रारम्भ भएको आँधीबेहरी थामिएको छ र सबैको ध्यान पार्टीको महाधिवेशनमा केन्द्रित भएको छ । त्यसो त आज शुरु भएको बैठकअघि नै महाधिवेशनको मिति तोकिएको हो र यसबेला अधिराज्यभरिका काङ्ग्रेस कार्यकर्ताहरू आफ्नो पार्टीको सबैभन्दा ठूलो पर्व मनाउने दिनको प्रतीक्षामा लागेका छन् । पार्टीभित्र केही अघि शुरु भएको आन्दोलन यतिबेला अलग रूपमा अनुवाद भएको छ । आक्रोश उत्साहमा बदलिएको छ, तर साथसाथै थोरबहुत शङ्काहरू पनि जीवितै छन् । महाधिवेशन अझै पनि नगरिन सक्छ भन्ने शङ्का एकथरीले अझै पनि गरिरहेका छन् । उनीहरूको भनाइ छ, ‘आन्दोलनहरू टुङ्ग्याउन मात्रै अहिले झुलाइएको हो ।’

तर, वास्तविकता भने त्यस्तो देखिन्न । आन्दोलन अर्थात् अनशनका कारण महाधिवेशनको मिति तोकिएको होइन भन्ने बुझिएको छ । आन्दोलन हुनु र मिति तोकिनु संयोग मात्रै परेको बताइएको छ । जानिफकारहरू भन्छन्– पार्टी सभापति भट्टराई र पार्टी नेता कोइरालाबीच केही सल्लाह बाँकी थियो, त्यसैले मिति तोकिन ढिलाइ भएको थियो, उहाँहरू दुईको आन्तरिक सल्लाह सम्पन्न हुना साथ महाधिवेशनको मिति तोकियो । काङ्ग्रेस कार्यालयमा गरिएको अनशनले पनि उहाँहरूलाई केही न केही दबाब पुऱ्याएको कुरालाई भने अस्वीकार गर्न सकिन्न ।

काङ्ग्रेस केन्द्रीय समितिको आजको बैठकमा महाधिवेशन गरिने स्थान छलफलको प्रमुख विषय बन्ने भएको छ । महाधिवेशनसम्बन्धी सम्पूर्ण तयारी विगतमा नेपालगञ्जमा भइसकेको हुँदा महाधिवेशन त्यही गरिनुपर्छ भन्ने आवाज बैठकमा जोडदार रूपमा उठ्नेछ । केन्द्रीय सदस्य सुशील कोइरालाले स्थानको विषयलाई आफ्नो प्रतिष्ठाको विषय बनाउनुभएको पनि कतिपयले भन्ने गरेका छन् । तर, स्वयम् कोइराला भने आफू वा अरू कसैको व्यक्तिगत प्रतिष्ठाभन्दा पनि काङ्ग्रेसजस्तो पार्टीको प्रतिष्ठासँग गाँसिएको सवाल हो भन्ने विचार व्यक्त गर्नुहुन्छ । हिजो साँझ घटना र विचारसँगको कुराकानीमा उहाँले भन्नुभयो, ‘पोखरा महासमितिको बैठकले स्थानको टुङ्गो लगाइसकेको छ र बाँकेमा त्यसका निम्ति सम्पूर्ण तयारी पनि भइसकेको छ । त्यसैले स्थानको विषयमा अब कुनै वादविवाद वा छलफल होला जस्तो मलाई लाग्दैन । महाधिवेशन नेपालगञ्जमा नै हुनेछ ।’

कोइरालाको धारणा यस किसिमको भए पनि महाधिवेशन काठमाडौंमा नै सम्पन्न गराउने पक्षमा ठूलै शक्ति लागिपरेको छ । स्थानलाई विवादको विषय बनाउन स्वयम् गिरिजाप्रसाद कोइराला पनि चाहिरहनुभएको छैन भन्ने कुरा सम्बद्ध व्यक्तिहरू बताउँछन् । त्यसैले अन्ततः महाधिवेशन काठमाडौंमा नै गरिने सम्भावना बढेको छ । महाधिवेशन चाहे जहाँ होस्, हुनचाहिँ अब कुनै पनि हालतमा होस् भन्ने भावना आम काङ्ग्रेसमा देखिन्छ । यद्यपि भरसक महाधिवेशन वैशाखबाट पनि पछि सरोस् भन्ने धारणा पनि कतिपयको पाइएको छ । उनीहरूको तर्क छ– वैशाखमा महाधिवेशन गरिएमा जेठमा हुन सक्ने उपचुनावलाई असर गर्न सक्छ । तर, थाहा भएअनुसार जेठमा उपचुनाव भएमा त्यसको अन्तिम सातामा हुन सक्छ । महाधिवेशन अबचाहिँ सार्नुहुन्न भन्नेहरू भन्छन्– ‘उपचुनावभन्दा झन्डै एक महिना अघि महाधिवेशन हुँदा त्यसले चुनावलाई कुनै असर पार्दैन बरु महाधिवेशनपछिको उत्साहको लहर चुनावी लहरमा बदलिन भने सक्छ ।’

महाधिवेशन गर्ने निश्चित गरिएको बिहान पार्टी सभापति भट्टराई पार्टी नेता कोइराला र प्रधानमन्त्री देउवाबीच एक चर्चित तर अराजनीतिक व्यक्तिको मध्यस्थतामा अन्तिम कुराकानी भएको थियो । त्यसअघि भट्टराई र कोइरालाद्वय नेताहरू मात्रै बसेर आफूहरूबीचको सल्लाह टुंग्याउनुभएको थियो । थाहा भएअनुसार महाधिवेशनबाट गिरिजाप्रसाद कोइराला सभापति भएपछि भट्टराईको भूमिका ठीक त्यस्तै हुनेछ–जस्तो भूमिका किसुनजी सभापति हुँदा पहिले बीपी कोइरालाको थियो । कोइरालाले सभापतिका रूपमा कार्य गर्दा किसुनजीसँग निरन्तर सरसल्लाह गरी काम गर्ने विश्वास उहाँलाई दिलाउनुभएको छ । आगामी महाधिवेशनबाट कोइराला सभापति बन्ने जति निश्चित छ त्यति नै जेठमा हुने उपचुनावबाट भट्टराई संसद्मा आउने पनि निश्चितजस्तै छ । अर्थात् उहाँ आगामी उपचुनावमा उम्मेदवार बन्ने अब पक्का भएको छ र कोइरालाले उहाँलाई चुनाव जिताएर मुलुकको सर्वोच्च विधायिकामा ल्याइपु¥याउने विश्वास दिलाउनुभएको छ ।

महाधिवेशन हुने निश्चित भएपछि अब काङ्ग्रेसभित्र महामन्त्रीका लागि होड शुरु भएको छ । विगतमा कोइरालासँग असहमति राख्नेहरूमध्येबाट महामन्त्री बनाउने कुरामा भट्टराई–कोइरालाबीच सहमति भएको बताइन्छ । आफ्नो छाया पनि देख्न नचाहनेहरूलाई पनि अँगालो मारेर काङ्ग्रेसलाई पुरानो स्थितिमा फर्काउने यात्रामा लाग्न कोइराला सहमत हुनुभएको छ । यसैक्रममा आगामी महामन्त्रीका रूपमा सभामुख रामचन्द्र पौड्याल, खुमबहादुर खड्का, ढुण्डीराज शास्त्री, तारानाथ रानाभाट आदिको नाम लिइँदै छ । त्यसो त खड्का र रानाभाट निश्चित महामन्त्री भन्नेहरू पनि प्रशस्त छन्, तर पौड्याल र शास्त्रीमध्ये एकजना महामन्त्री हुनुपर्छ भनी अलग ढङ्गले आवाज पनि उठिरहेको छ । त्यसमा पनि पौड्याल र शास्त्रीमध्ये कोचाहिँ महामन्त्री बन्नुपर्छ भन्ने विषयमा मतैक्यता पाइन्न । कतिपयले एकको र कतिपयले अर्काको नाम लिइरहेका छन् । अन्त्यसम्म स्थिति यस्तै रहेमा महामन्त्री को हुने भन्ने विषयमा किसुनजीको मत निर्णायक हुने बताइन्छ ।

आज हुने काङ्ग्रेस कार्यसमितिको बैठकले सर्वप्रथम सरकार टिकाउने सबैमा धन्यवाद ज्ञापन गर्नेछ र सरकारलाई पूरा अवधि टिकाउने प्रतिबद्धता प्रकट गर्नेछ । त्यसपछि बैठक मूल विषयमा केन्द्रित हुनेछ र आज सम्भव नभए भोलिसम्ममा ठोस निर्णयहरू लिनेछ । बैठकले केहीअघि रोकिएका गाउँ, क्षेत्र र जिल्लाका अधिवेशनहरू पुनः चालू गर्न निर्देशन दिने निर्णय गर्नेछ भने महाधिवेशन काठमाडौंमै गर्ने र केन्द्रकै सम्पूर्ण पहलमा गर्ने निर्णय पनि गर्ने सम्भावना छ । महाधिवेशनमा प्रस्तुत गरिने विविध प्रतिवेदन पेस गर्न केही समिति पनि बैठकले बनाउने तयारी भइरहेको बुझिएको छ ।

थाहा भएअनुसार आजको बैठकमा कतिपय सदस्यले वैशाखमा महाधिवेशन गर्न नसकिएला कि भन्ने किसिमले पनि कुरा उठाउनेछन् । केन्द्रीय समितिले तय गर्नुपर्ने महाधिवेशन त्यसअनुरूप नगरिएकोले कतिपयले आज शुरु हुने केन्द्रीय समितिको बैठकमा कानूनी प्रश्न पनि उठाउने तयारी गरिरहेका छन् । त्यसैगरी केन्द्रीय प्रतिनिधिहरू जिल्ला जाने र जिल्लाबाट खटाइएका प्रतिनिधिहरू गाउँ जाने तथा क्षेत्रीय र जिल्ला अधिवेशनहरू गर्ने समय राख्दा आगामी वैशाख २३ गते नै महाधिवेशन गराउन असम्भव भएको तर्क उनीहरूको रहेको छ । आजको बैठकमा यस सम्बन्धमा निकै तातो छलफल हुन सक्ने सम्भावना रहेको छ ।

तर, कुनै पनि हालतमा महाधिवेशन गराउन पार्टी सभापति भट्टराई कटिबद्ध हुनुहुन्छ र महाधिवेशन हुनेचाहिँ निश्चित छ ।

यसपटक काङ्ग्रेसका नेताहरूले ठूलो दुर्घटना हुनबाट पार्टीलाई बचाएको महसूस त्यस पार्टीका कार्यकर्ताले गरेका छन् । अब महाधिवेशनको स्थान वा दुई–चारजनालाई ‘एडजस्ट’ गरिदिनेजस्ता विषयलाई नै लिएर पार्टीमा कलह उत्पन्न भइहाल्ने सम्भावना देखिन्न । पार्टीमा अब सर्वसम्मतिको वातावरण बनेको छ र यही स्थिति कायमै रहेमा गिरिजाप्रसाद कोइरालालाई सर्वसम्मत सभापति बनाइने अनुमान पनि धेरैले गरेका छन् ।

(घटना र विचार साप्ताहिक, २०५२ साल चैत २८ गते बुधबार)