तोरी उत्पादनमा वृद्धि हुने प्रक्षेपण

तोरी उत्पादनमा वृद्धि हुने प्रक्षेपण


■ नारद कोहार, कपिलवस्तु

जिल्लामा यस वर्ष तोरीको उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । गत वर्षको तुलनामा यस वर्ष तोरी उत्पादन दश प्रतिशतले वृद्धि हुन सक्ने कृषि ज्ञान केन्द्रका प्रमुख रामगोविन्द आर्यले बताए ।

विगतका वर्षमा तोरी खेतीको सिजनमा बीउ, मलको अभाव हुने गरे पनि यस वर्ष भने तोरी खेतीका लागि समयमा नै बीउविजन, खाद्य तथा सिंचाइको सुविधा भएकाले उत्पादन बढ्ने सम्भावना देखिएको केन्द्र प्रमुख आर्यको भनाई छ ।

कृषि ज्ञान केन्द्रका अनुसार यस जिल्लामा २ हजार ८ सय १५ हेक्टर जमिनमा तोरी खेती गरिन्छ र तोरी खेतीबाट वार्षिक प्रतिहेक्टर ९ सय ८० केजी तोरी उत्पादन हुने गरेको छ। यस वर्ष मौसमले यस्तै साथ दियो भने उत्पादन बढ्ने उनले बताए ।

कपिलवस्तुमा कुल खेतीयोग्य जमिन १ लाख ७३ हजार ८ सय हेक्टर रहेको छ । यस वर्ष तोरी खेती राम्रोसंग फस्टाएको हुनाले उत्पादन बढ्न सक्ने केन्द्रको अनुमान छ ।