राजधानीको प्रदूषण घटाउने दुई अचुक उपाय : सरकारसँग सामर्थ्य छ ?

राजधानीको प्रदूषण घटाउने दुई अचुक उपाय : सरकारसँग सामर्थ्य छ ?


■ यादव शर्मा

नेपालको राजधानी काठमाडौंले विश्वको सर्वाधिक फोहोर र प्रदूषित शहरको रूपमा नयाँ कीर्तिमान राखेको छ । भौगोलिक सुन्दरतामा अब्बल भए पनि देशको राजनीतिक एवम् प्रशासनिक नेतृत्व अयोग्य र अक्षम हुँदा एउटा सुन्दर ठाउँ कसरी कुरूप हुँदोरहेछ भन्ने उदाहरण पनि नेपाल बनेको छ । कुनै पनि मुलुकको राजधानी मात्र सुन्दर र सफा हुनुपर्छ भन्ने होइन र, नेपालको राजधानी काठमाडौं उपत्यका मात्र स्निग्ध तथा व्यवस्थित भए पुग्छ भन्ने त झन हुँदै होइन । तर, काठमाडौं सम्पदाहरूले भरिपूर्ण पौराणिक शहर भएको र नेपालको पूर्ण जनसङ्ख्याको एकतिहाई मानिसको बसोवास यहाँ रहेकोले यसको व्यवस्थापनमा उच्च सतर्कता अपनाइनु स्वाभाविक हुन्छ । मानिसको शरीरका सबै अङ्गहरू महत्वपूर्ण भए पनि अनुहार विशेष मानिन्छ र अनुहारकै आधारमा एक–अर्काप्रतिको धारणा बन्ने गर्दछ भनेझैँ कुनै पनि देशको अनुहार राजधानीलाई मानिन्छ र राजधानीको अवस्था हेरेर सम्बन्धित देशप्रतिको धारणा बनाइन्छ ।

भगवान् अर्थात् प्रकृतिले राजधानी काठमाडौंलाई जुन सुन्दर स्वरूपमा प्रस्तुत गरेको छ, त्यसलाई कुरूप बनाउन र बसोवासका निम्ति अनुपयुक्त थलोका रूपमा परिणत गर्न हामी आफैँ द्रुतगतिमा लागिपरेका छौँ । सडक, पिउने पानी, ढल र हरियालीको राम्रो व्यवस्थापन नभएर या टेलिफोन र बिजुलीका तार तथा खम्बाको व्यवस्थापन नगरेर मात्र हामीले राजधानीलाई कुरूप तुल्याएका होइनौँ, न यातायातका साधनहरूको अराजकता बढाएर काठमाडौंलाई भयावह बनाएका छौँ । प्राणवायुका मुहानहरूलाई समेत प्रदूषित तुल्याएर यहाँको मानवीय जीवनलाई नारकीय बनाएका हौँ । कुनै पनि प्राणी जीवित रहन उसले स्वच्छ प्राणवायुको उपभोग अनिवार्य रूपले गर्नुपर्ने हुन्छ । काठमाडौंका बासिन्दा केही वर्षयता स्वच्छ हावामा श्वास फेर्न पाउने आधारभूत अधिकारबाट पनि वञ्चित रहँदै आएका छन् ।

राजधानीको वायु प्रदूषण न्यून गर्न कम्तीमा दुईवटा मात्र निर्णय राज्यले लिइदियो भने पनि ठूलो राहत मिल्ने स्थिति हुन सक्छ । शहरमा मोटरसाइकलको प्रयोगलाई निषेध गर्ने या विद्युतीय सवारीसाधनलाई प्रोत्साहित गर्दै पेट्रोलियम पदार्थबाट चल्ने इन्जिन विस्थापित गर्ने निर्णय त सरकारले एक न एक दिन लिनैपर्ने हुन्छ । तत्कालका निम्ति दुईवटा मात्र निर्णय सरकारले लिने हो भने पनि वायु प्रदूषणमा न्यूनता आउन सक्ने देखिन्छ ।

पहिलो,
काठमाडौं उपत्यकामा ताजा हावाको आपूर्ति पश्चिमी नाकाहरूबाट हुने गर्दछ । नागढुङ्गा, सीतापाइला र नागार्जुन उत्तरको भञ्ज्याङ भएर उपत्यकामा ताजा हावा प्रविष्ट हुन्छ र, यहाँको आकाशमा फैलिएको फोहोर बढार्दै पूर्वतर्फ बढ्ने गर्दछ । त्यसपछि उपत्यकाको साँगालगायत पूर्वी भञ्ज्याङ हुँदै वायु बाहिरिने गर्नाले यहाँको प्रदूषणमा न्यूनता आउने गर्दथ्यो । केही वर्षयता नौबिसे, खानीखोला, धार्के र जीवनपुर क्षेत्रमा अधिक क्षमताका इँटाभट्टा तथा सिमेन्ट उद्योगहरू खुलेका छन् र, अझै खुल्ने क्रम जारी छ । स्थानीय निकायलाई अधिकारसम्पन्न तुल्याउने तर तिनलाई प्रशिक्षित नगरिने हुनाले सानातिना प्रलोभनमा परेर घातक एवम् दूरगामी रूपले नकारात्मक सिद्ध हुने निर्णय लिने गरेको पाइन्छ । धुनिबेसी नगरपालिका र आसपासका क्षेत्रमा अहिले करिब पचासको सङ्ख्यामा अधिक क्षमताका इँटा उद्योग तथा दुई ठूला सिमेन्ट उद्योगहरू स्थापना भइसकेका छन् । र, अझै दर्जनौँ उद्योगहरू खुल्नका निम्ति लामबद्ध छन् । भनिन्छ, एउटै सिमेन्ट उद्योग अठार वर्गकिलोमिटर क्षेत्रभित्रको वायु प्रदुषित तुल्याउन पर्याप्त हुन्छ ।

धुनिबेसी र आसपासका क्षेत्रमा व्यापक रूपले खोलिएका ‘वायु प्रदूषण उत्पादन उद्योग’का कारण स्थानीय बासिन्दा मात्र प्रभावित भएका छैनन्, नागढुङ्गालगायत पश्चिम भञ्ज्याङहरूबाट उपत्यका प्रवेश गरेर राजधानीलाई थप प्रदूषित तुल्याउने काम पनि भइरहेको छ । पहिले काठमाडौंको वायु प्रदूषण न्यून गर्न पश्चिमबाट प्रवाह हुने स्वच्छ हावाले ठूलो र मुख्य योगदान दिएको हुन्थ्यो, अब उपत्यकामा पश्चिमतर्फबाट ताजा वायुको सट्टा घोर प्रदूषित हावा भित्रिने गरेको छ । त्यसैले पश्चिम दिशाबाट उपत्यकामा प्रवाहित हुने वायुको शुद्धीकरणमा राज्यले विशेष ध्यान दिनुपर्ने अवस्था पैदा भइसकेको छ ।

धुनिबेसी र आसपासका क्षेत्रमा वायु प्रदूषित गर्ने कुनै पनि उद्योग खोल्न तत्काल बन्देज गर्ने र हाल सञ्चालनमा रहेका इँटाभट्टा तथा सिमेन्ट उद्योगहरूलाई उचित क्षतिपूर्ति दिएर त्यहाँबाट हटाउने या निश्चित समय तोकेर वैकल्पिक उद्योग व्यवसायमा जान बाध्यकारी नियम बनाउने काम राज्यबाट तत्काल हुन आवश्यक छ । यदि यसप्रकारको निर्णय लिन सरकार असमर्थ हुन्छ भने हाल उपत्यकामा वार्षिक हजारौँ (भनिन्छ करिब सैंतीस हजार) मानिसको प्रदूषणका कारण मृत्यु हुने गरेकोमा अब यो सङ्ख्या बढेर लाखौँमा पुग्ने निश्चित छ । त्यसैले सरकारले विलम्ब नगरीकन धुनिबेसी क्षेत्रबाट प्रदूषण फैलाउने उद्योगहरू विस्थापित गर्न आवश्यक छ ।

दोस्रो,
सरकारले उपत्यकाको वायु प्रदूषण घटाउन लिनुपर्ने दोस्रो महत्वपूर्ण निर्णय हो, सवारीसाधनको सफाइ । नेपालका अधिकांश सडक कालोपत्रे हुन सकेका छैनन् र कच्ची सडक भएर राजधानी भित्रिने सवारीसाधनको एउटा चक्का (पाङ्ग्रा) ले मात्र एक हजार मानिसलाई क्षति पुऱ्याउने मात्राको धुलो राजधानीमा भित्र्याउने गर्दछ । उपत्यकामा प्रवेश गर्ने हरेक सवारीसाधनको सफाइ जाँच गर्ने, चक्कामा टाँसिएको हिलो र धुलोको मात्रा जाँच गरी पूर्ण रूपले सफा गरेर मात्र भित्रिन अनुमति दिने व्यवस्था राज्यले गर्न सक्यो भने राजधानीको वायु प्रदूषणमा न्यूनता आउने निश्चित छ । नेपालमा यदि कुनै वातावरणसम्बन्धी मन्त्रालय अस्तित्वमा छ भने ढिला नगरीकन यससम्बन्धी निर्णय लिन अपरिहार्य भएको छ ।