प्रधानमन्त्रीसँगको असहमति शिथिल हुँदै गएपछि राष्ट्रपतिप्रति प्रचण्ड-रोष

प्रधानमन्त्रीसँगको असहमति शिथिल हुँदै गएपछि राष्ट्रपतिप्रति प्रचण्ड-रोष


पछिल्ला केही सातायता राष्ट्रपति विद्या भण्डारीलाई गभ्भीर ढङ्गले राजनीतिक विवादमा तान्ने प्रयास भएको छ । केपी ओलीपछि राष्ट्रपतिले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने योजना बनेको, उहाँले सरकार र पार्टीको आन्तरिक काममा हस्तक्षेप गर्न थाल्नुभएको भन्नेजस्ता चर्चा राजनीतिक वृत्तमा चल्न थालेको छ । यस्तो चर्चाको असर नेकपाकै कार्यकारी अध्यक्ष प्रचण्डमा नराम्रोसँग परेको पाइएको छ ।

मङ्सिर २९ गते शुरु भएर (पुस ६ गते) यसै साता सम्पन्न पार्टी स्थायी समितिको बैठकमा प्रचण्डद्वारा प्रस्तुत आक्रोशले उहाँ राष्ट्रपतिप्रति सशङ्कित बन्नुभएको स्पष्ट गरेको थियो । स्थायी समितिको बैठकमा सहभागी नभई गत शनिबार समितिका केही सदस्यहरू राष्ट्रपतिकहाँ छलफलका लागि गएको र त्यहाँ भोजनसमेत गरेर बैठकमा ढिला आएको विषयलाई लिएर प्रचण्ड निकै आक्रोशित र गम्भीर बन्नुभएको थियो । आफू ‘अध्यक्ष’ भएको डेढ वर्षपछि पहिलोपटक स्थायी समिति बैठकको अध्यक्षता गर्ने ‘सुवर्ण अवसर’ पाउनुभएका प्रचण्डले राष्ट्रपतिद्वारा आयोजित विशेष छलफलसहितको दिवाभोजलाई आफूविरुद्धको षड्यन्त्रका रूपमा बुझेको उहाँको प्रतिक्रियाले स्पष्ट गरेको छ ।

बैठकमा राष्ट्रपतिसँग स्थायी समितिका सदस्यहरू भेटवार्ताका निम्ति जानु गम्भीर गल्ती भएको बताउँदै प्रचण्डले आफूले पनि राष्ट्रपतिलाई भेटेर गल्ती गरेको भन्नुभएको थियो । केही दिनअघि प्रधानमन्त्री र आफूले संयुक्त रूपमा राष्ट्रपतिसँग भेट गर्न गएको भन्दै प्रचण्डले आफू त्यसरी जानु पनि गल्ती हो, म आत्मालोचना गर्छु भन्नुभएको थियो । प्रचण्डले सीधै राष्ट्रपतिलाई आलोचना त गर्नुभएन, तर उहाँ राष्ट्रपतिप्रति क्रूद्ध र आक्रोशित बन्नुभएको महसूस स्थायी समिति बैठकका सहभागीहरूले गरेका थिए ।

आफ्नो अध्यक्षतामा भइरहेको बैठकलाई प्रभावित गर्ने र आफूले चाहेबमोजिम कुनै कदम चाल्न नदिन राष्ट्रपतिले चलखेल गर्नुभएको भन्ने प्रचण्डको ठम्याइ छ । राष्ट्रपतिले सरकार र पार्टीको काममा चासो राख्नुभएको भन्ने प्रचार ‘माओवादी’ कित्ताबाट भइरहेको छ र प्रचण्ड स्वयम्ले यसप्रकारको प्रचारमा अभिरुचि लिने गर्नुभएको बुझिन्छ ।

दुईतिहाइको सरकार गठन भएको दुई वर्ष बितिसक्दा पनि परिणाममुखी काम नभएको, विभिन्न विवादास्पद तथा भ्रष्टाचारमैत्री निर्णय उच्च सरकारी तहबाट भएको र देशको वित्तीय स्थिति खस्कँदै गएकोप्रति राष्ट्रप्रमुखले चासो राख्नुलाई स्वाभाविक मानिन्छ । रामवरण यादव राष्ट्रपति रहँदा उहाँले पनि बेलाबखत विभिन्न दलका नेतालाई छुट्टाछुट्टै या संयुक्त रूपले शीतलनिवासमा बोलाएर राष्ट्रिय मुद्दामा चासो प्रकट गर्ने गर्नुहुन्थ्यो । कतिपय समयमा त डा. यादवले नेताहरूलाई निर्देशनात्मक आदेशसमेत दिनुहुन्थ्यो ।

प्रधानमन्त्री रहेका प्रचण्डले तात्कालिक प्रधानसेनापति रुक्माङ्गद कटवाललाई पदमुक्त गरेको पत्र दिएकोमा राष्ट्रपतिले नै हस्तक्षेप गरी सेनापतिको पद यथावत् राखिदिनुभएको थियो । यादव राष्ट्रपति भएर पनि पार्टीको आन्तरिक राजनीतिमा निकै सक्रिय हुनुहुन्थ्यो । खासगरी सुशील कोइरालाको पक्षमा र शेरबहादुर देउवाको विपक्षमा रामवरण यादवले निर्वाह गरेको भूमिका अहिले पनि स्मरण गर्ने गरिन्छ । राष्ट्रपति विद्या भण्डारीले एमालेका केही नेता तथा मन्त्रीहरूलाई शीतलनिवास बोलाएर दुई घन्टा परामर्श गर्दा प्रचण्डलाई भने असैह्य पीडा भएको देखिएको छ । केपीपछि पार्टी र सत्ताको एकलौटी मालिक बन्ने सपना देख्दै आउनुभएका प्रचण्ड राष्ट्रपति ‘काठको मुढो’झैँ चुपचाप नरहेपछि छटपटिन थाल्नुभएको छ ।

राष्ट्रपतिको भूमिकाले पार्टीमा आफ्नो स्थिति दुर्बल बनाउने त्रासका कारणले मात्र प्रचण्ड छटपटिनुभएको ठानिँदैन, भविष्यमा आफू ‘सर्वशक्तिमान’ बन्न सफल भएमा फेरि पनि ‘राष्ट्रपतिबाट नै अवरोध पैदा हुने हो कि’ भन्ने चिन्ताले पनि प्रचण्डलाई अहिले नै सताउन थालेको छ । त्यसैले पुस ५ गते शनिबार बिहान नौ बजे राष्ट्रपतिनिवास पुगेर बैठकमा केही ढिला आइपुग्ने स्थायी समिति सदस्यहरूप्रति आक्रोशित हुँदै प्रचण्डले राष्ट्रपतिप्रति रोष प्रकट गर्नुभएको थियो । सेनाको बलियो साथ रहेको विश्वास गरिने राष्ट्रपति विद्या भण्डारीप्रति सर्वोच्च न्यायालयको पनि उच्च सम्मान र विश्वास भएको बुझिन्छ ।

सेना र न्यायालयबीच दरार पैदा नगरीकन आफ्नो राजनीतिक भविष्य सुरक्षित नठान्नुहुने प्रचण्ड राष्ट्रपतिप्रति सेना र न्यायालयको विश्वास र सम्मानभाव देखेर पनि विचलितझैँ हुनुभएको छ । पार्टीका नेता र मन्त्रीहरूलाई समेत बेग्लै भेट गर्न थाल्नुभएपछि प्रचण्ड नराम्रोसँग झस्किनुभएको र विद्या भण्डारीले आफ्नो भाग नै खान लाग्नुभएको ठानी प्रचण्ड ज्यादा प्रतिक्रियात्मक बन्नुभएको देखिन्छ । शनिबारको स्थायी समिति बैठकमा प्रचण्डले देखाउनुभएको रौद्र रूपले उहाँ राष्ट्रपतिप्रति कति ठूलो वैरभाव राख्नुहुँदो रहेछ भन्ने महसूस पनि स्थायी समितिका सदस्यहरूले गरेका छन् ।