– भगवान गिरी
दोलखास्थित गौरीशंकर–७ का धनराज शेर्पा यतिबेला पोर्तुगलमा संघर्ष गर्दै छन् । उनको यो संघर्ष विगत १० बर्षदेखि जारी छ । संघर्षमा उनलाई पछुतो भने छैन् । नेपालमा रहँदा कार्पेट उद्योगमा नोकरी गरेका शेर्पा युरोपको पोर्तुगलमा कामदारको रुपमा छिरेका थिए । ३३ महिनाको नोकरीपछि उनमा पार्टनरसिपमा रेष्टुरेन्ट चलाउने इच्छा जाग्यो । फलस्वरुप नोकरीबाट शेर्पा लगानीकर्ता बने । पार्टनरसिपमा चलाएको रेष्टुरेन्टबाट आफ्नो सिप र जाँगरलाई थप बलियो बनाएर शेर्पाले आफ्नै एकल लगानीमा नयाँ रेष्टुरेन्ट संचालनमा ल्याए ।
शेर्पाले संसारको सबैभन्दा अग्लो शिखर ‘माउन्ट एभरेष्ट’को नामबाट लिस्बोनको कनाईमा रेष्टुरेन्टको सुरुवात गरे । जुन अहिलेसम्म पनि संचालनमै छ । कामदारको रुपमा आएका उनै शेर्पा अहिले मालिक बनेर नेपाली युवाहरुलाई रोजगारी दिन सक्ने भएका छन् । तर उनि आफुलाई मालिक भन्न भने रुचाउँदैनन् । ‘कामदारको रुपमा पोर्तुगल छिरें, परिश्रम गरें, रेष्टुरेन्ट खोल्न सक्ने भएँ ।’ शेर्पाले भने, ‘गर्न नसक्ने भन्ने केही छैन् । इच्छा र तत्परता भयो भने सबै सम्भव छ ।’
पछुतो छैन्
कामदारबाट मालिक बन्छु भन्ने कल्पनासम्म नगरेका शेर्पा आफ्नो प्रगतिको श्रेय पोर्तुगललाई दिन्छन् । ‘मलाई पोर्तुगल आएकोमा कुनै पछुतो छैन् ।’ शेर्पा भन्छन, ‘मलाई सिप र क्षमता विकासमा पोर्तुगलले सिकाएको छ ।’ कर्ममा विश्वास राख्दा सफल हुने उदाहरणको पात्र बनेका शेर्पा पछिल्लो समय दलालहरुलाई मोटो रकम बुझाएर पोर्तुगल छिर्ने नेपाली युवालाई सिप सिकेर आउन सल्लाह दिन्छन् । ‘लगनशिल बन्ने हो भने सपनाको शहरको उपमा पाएको पोर्तुगलबाट मालामाल बन्न समय लाग्दैन् ।’ उनले भने, ‘काम गर्नुस भविष्य आफैं बन्छ ।’
शेर्पाले नेपाली खानाको स्वाद र नेपाल दुवै चिनाएका छन्
सगरमाथा आज विश्वभर परिचित छ । सगरमाथाको नाम नसुन्ने विदेशी विरलै भेटिन्छन् । परदेशमा यसैको नामबाट रेष्टुरेन्ट चलाउँदा गर्वले छाती फुलेको शेर्पाको तर्क छ । ‘नेपाल, भारत, चीन, बंगलादेश, ब्राजिल लगायत अफ्रिकाका विभिन्न मुलुकका आप्रबासीहरुको गन्तब्य पोर्तुगल बनेको छ ।’ शेर्पाले भने, ‘विभिन्न देशका नागरिक माझ नेपाली खाना र नेपाल चिनाएको छु । यसैमा रमाएको छु ।’ उनका अनुसार एभरेष्टमा कोदोको ढिंडो, भटमास, गुन्द्रुक लगायतका नेपाली परिकारलाई बढि प्राथमिकता दिइएको छ । नेपाली खाना खानको लागि रोजगारीको शिलसिलामा पोर्तुगल आएका नेपालीसँगै भारत, बंगलादेश लगायत अन्य मुलुकका आप्रवासीको भीड लाग्ने गरेको व्यवसायी शेर्पाको भनाई छ ।
व्यवसायी शेर्पा सामाजिक काममा पनि उत्तिकै लगनशिल छन् । व्यवसायसँगै सामाजिक कर्ममा रुचि राख्ने उनले दुःखमा परेका नेपालीलाई सहयोग गर्दै आएका छन् । ‘समयमा जागिर नपाउने र साथमा पैसा नहुने नेपाली दाजुभाईलाई सकेको सहयोग गर्छु ।’ उनी भन्छन्, परदेशमा सानो सहयोग पनि हामी नेपालीका लागि ठूलो हुन्छ ।’ नेपाली नेपालीबीच एकताको आवश्यकता रहेको उनको धारणा छ । काम नपाएकालाई काम र पैसा नभएकालाई खाना खुवाउने शेर्पा दाइको सहयोगी मन सलाम गर्न लायक छ ।
प्रतिक्रिया