■ विशेष प्रतिनिधि, टोकियो (जापान)
गैरआवासीय नेपाली संघ (एनआरएनए)सँगको सहकार्यमा विश्वभर नै भ्रमण वर्ष २०२० मनाउने निर्णयअनुसार जापानमा पनि नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समिति जापानको सचिवालय बैठक बसेको छ ।
बिहीबार (१० पुस) जापानस्थित नेपाली राजदूतावासमा राजदूत प्रतिभा राणाको प्रमुख आतिथ्यतामा बसेको बैठकमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका निवर्तमान अध्यक्ष तथा एनआरएनए भ्रमण वर्ष २०२० का अन्तर्राष्ट्रिय संयोजक भवन भट्टको विशेष उपस्थिति रहेको बैठकले जनवरी ७ मा हुने भ्रमण वर्षको उद्घाटन तयारीको समीक्षा गर्दै अन्तिम तयारी पूरा गरेको छ ।
उक्त उद्घाटन कार्यक्रममा नेपालका विभिन्न पर्यटकीय स्थलहरुको भिजुअल सामाग्री प्रदर्शन गर्ने, एकजना जापानीजले नेपालगई नेपालको विभिन्न स्थानको भ्रमण गरी तयार पारेको भिडियो सामग्री प्रदर्शन गर्ने, नेपाली कल्चलर नृत्य रहने र जापानीज पाहुनाहरुलाई नेपाली खानाका परिकारले पनि स्वागत गर्ने जस्ता कार्यक्रम रहेको उक्त कार्यक्रमका सचिवालय सदस्यसचिव तथा एनआरएनए जापानका महासचिव जनकविक्रम शाहीले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा १२० जना भन्दा बढी जापानीज आउने निश्चित भैसकेको साथै जापान सरकारका संसदीय उपविदेश मन्त्री, नेपालका लागी पूर्व जापानीज राजदूत, सगरमाथा आरोहीहरुको पनि उपस्थिति रहने भएको छ । बैठकमा उक्त दिन प्रदर्शन गरीने भिजुअल सामाग्रीहरुको डेमो हेरी परीमार्जन गर्नुपर्ने ठाउँमा सुझाव दिइएको थियो ।
कार्यक्रम आयोजनाका निम्ति महत्त्वपूर्ण भूमिका खेल्दै आउनुभएका जिज्ञान कुमार थापा, उपयोनियोग प्रमुख कृष्णचन्द्र अर्याल, मुलआयोजक सचिवालय सदस्य तथा एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारी, वरिष्ठ उपाध्यक्ष अनिता गुरुङ, पत्रकार महासंघ जापान अध्यक्ष मोहन घले, एनआरएनए जापानका सल्लाहका विकास श्रेष्ठ,एनआरएनए आइसीसी एसिया प्यासिफिक युवा संयोजक दीपक कँडेल, नमस्ते नेपाल सिजुवका अध्यक्ष तथा इन्जिनियरिङ कलेजका भिजिटिङ प्रोफेसर नरेश महर्जन, जापानीज पत्रकार युमीको इताका लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया