‘अभद्र व्यवहार’ मुद्दा लगाइएका १२२ चिनियाँलाई जनही एक हजार जरिवाना

‘अभद्र व्यवहार’ मुद्दा लगाइएका १२२ चिनियाँलाई जनही एक हजार जरिवाना


नेपालमा बसेर चीनविरुद्ध अपराधमा संलग्न रहेका १२२ चिनियाँ नागरिकलाई अभद्र व्यवहारअन्तर्गत मुद्दामा जनही एक हजार जरिवानाको फैसला भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको इजलासले आयतबार (२० पुस) उक्त फैसला सुनाएको हो ।

‘उनीहरुले कसुर स्वीकार गरे, अभियोजनको आधारमा एक हजार जरिवानाको फैसला सुनाइएको हो’ प्रजिअ दाहालको भनाई छ ।

कनुनअनुसार अभद्र व्यवहारमा अधिकतम १० हजारसम्म जरिवाना हुने प्रावधान छ । तोकिएको जरिवाना तिरेर छुटेका चिनियाँहरूलाई थप कारवाहीका लागि आइतबार नै अध्यागमन विभागमा बुझाइएको बताइएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीका अनुसार पर्यटक भिसामा आएर उनीहरुले अवैध रुपमा सङ्गठित काम गरेकाले अध्यागमन विभागको जिम्मा लगाउने निर्णय भएको हो ।

प्रहरीले यही पुस ७ गते काठमाडौंको मनमैजु, महाराजगञ्ज र बुढानिलकण्ठ क्षेत्रबाट १२२ जना चिनियाँलाई पक्राउ गरेको थियो ।