किन चाहियो खस मोर्चा ? -बबिता बस्नेत

किन चाहियो खस मोर्चा ? -बबिता बस्नेत


हाम्रो देशमा जातीय तथा सामाजिक सद्भावना भड्काउन मुख्य भूमिका निर्वाह गरेका माओवादीहरूले क्षेत्री-ब्राह्मण समुदायभित्र पनि जातीय भावना भड्काउने प्रयास गर्न खोज्दै छन् । माओवादीभित्रै खस मोर्चा गठन गरेर त्यसको सुरुवात गर्न लागिएको हो । जातीय विविधताबीच एकता रहेको नेपालमा साम्प्रदायिक भावना बढाउने कार्यमा माओवादीको धेरै ठूलो भूमिका रहेको छ । जे बोल्दा जताबाट सहयोग मिल्छ त्यही गर्ने क्रममा युद्धका १० वर्ष र त्यसपछिका दिनमा उनीहरूले विभिन्न जातजातिलाई जातकै कारण पद र प्रतिष्ठा मात्र होइन राज्य नै प्राप्त गर्न सकिने र प्राप्त गर्नुपर्ने सपना देखाउँदै आए । आदिवासी, जनजाति, जनजातिभित्रका पनि फरक जातजातिकाबीच खेल्दै जाँदा आफैंले देखाएको सपनाका कारण अहिले माओवादी कठिन मोडमा पुगेको छ । शिक्षाबाट वञ्चित, अवसरबाट पछाडि पारिएका निमुखा जनतालाई एक छाक पेटभरि खान दिने परिस्थिति नदेखेपछि राज्यको सपना देखाइयो, आफ्नो जातको राज्य भए शोषण-दमन अन्त्य हुने, सबै कुरा ठीक हुने, साधन स्रोतमा पहुँच हुने के मात्रै भनिएन । मुलुकमा खाँचोचाहिँ विकेन्द्रीकरण सिद्धान्तको व्यावहारिक प्रयोग थियो तर कुराकानीचाहिँ जातजातिमै लगेर ठोक्काइयो, धिमालदेखि चेपाङसम्म, ताम्सालिङदेखि खम्बुवान हुँदै लिम्बुवानसम्म धेरै कुरा भए । आ-आफ्ना जातिगत हितका कुरा मात्रै भएका भए त ठिकै थियो आफूबाहेक अन्य जातिलाई अपमान र तिरस्कार गर्ने परिस्थितिको समेत निर्माण गरियो । मधेसी र पहाडीबीचको सद्भावना भड्काउनमा एक मात्र भूमिका माओवादीकै छ, माओवादीले नै मधेसी मुक्ति मोर्चा गठन गरी पहाडीविरुद्ध जेहाद छोड्ने रणनीति बनाई त्यसैअनुरूप गतिविधिको सुरुवात गरेको थियो । यसबीचमा जातजातिको भावना मानिसहरूमा यसरी फैलाइयो कि मानिसहरूले जातिको बाहेक मुलुकको विषयमा कुरै गर्न छोडे । आफूलाई ‘नेपाली’ भनेर चिनाउनुभन्दा म जनजाति, जनजातिभित्रको राई र राईमा पनि म पुमा, बान्तावा या चाम्लिङ भनेर आफ्नो परिचय दिनुमा गर्व गर्ने परिस्थिति निर्माण गरियो । यो त एउटा उदाहरण मात्रै हो, सबै जातिमा यसै प्रकारका भावनालाई बढाउने काम गरियो ।
राष्ट्र र राष्ट्रियताभन्दा जातजातिको भावना हुरि्कन थालेपछि गृहयुद्धतर्फ धकेलिन मुलुकलाई त्यति लामो समय लाग्दैन । राज्य संयन्त्रमा सहभागितादेखि लिएर हरेक कुरामा जातिगत प्रतिनिधित्व हुन थालेपछि आफ्नो अस्तित्वका लागि मात्र नभएर टुत्रिँmदै गएको राष्ट्रियताको भावनालाई एक गर्न पनि खस क्षेत्रीका नाममा क्षेत्रीहरूको सङ्गठन बन्यो । सुरुमा ‘अब क्षेत्रीको पनि सङ्गठन -‘ भनेर हास्यास्पद रूपमा लिइए पनि बिस्तारै-बिस्तारै यसले सङ्गठित आकार लिँदै गयो, यसैबीच ब्राह्मणहरूले पनि एक भएर अगाडि बढ्नुपर्ने ठाने र ब्राह्मण समाजको निर्माण भयो । मुलुकमा जातीयताको विषवृक्ष रोपेको माओवादीले यसलाई हर्ुकाइ-बढाइ गर्नमा पनि कुनै कसर बाँकी राखेन । मुलकका जुन ठाउँमा गए पनि जुन जाति विशेषका कार्यक्रममा भाग लिए पनि तिनलाई राज्य दिने कुरा गरियो र त्यहीअनुरूप राज्य विभाजनको रेखा पनि कोरियो । अहिले पनि माओवादी पार्टी कार्यालय र नेताका निवासमा जातीय राज्य विभाजनको नक्सा नै झुन्ड्याउने गरिएको छ । राज्यको माग र मौखिक राज्य वितरणको होडबाजीमा क्षेत्रीहरूले कहिल्यै पनि छुट्टै राज्यको माग गरेनन् । जातिगत अवधारणाभन्दा माथि रहेका क्षेत्रीलाई भुरे-टाकुरे राज्य होइन अखण्ड नेपाल चाहिएको थियो र त्यहीअनुरूपको वकालत गरे । मानिस हुन्- प्रवृत्तिहरू फरक हुन सक्छन्, क्षेत्रीहरूबीचमै पनि फरक-फरक सङ्गठनहरू नभएका होइनन् तर ती सबैको माग छुट्टै राज्य कहिल्यै रहेन ।
पार्टीको माथिल्लो तहमा प्रायः बाहुनहरू नै रहेको माओवादी पार्टीले खस मोर्चा गठनको तयारी गरे पनि ब्राह्मण मोर्चा या सङ्गठनका बारेमा भने अहिलेसम्म खासै चर्चा गरेको छैन । नीतिगत तहमा बाहुन हावी यो पार्टीले क्षेत्री-बाहुनको संस्कार मेट्न विगतमा जुन-जुन कामहरू गर्‍यो, ती घटना र सन्दर्भहरू बिर्सन सक्ने र मिल्ने प्रकारका छैनन् । दशवर्षो युद्धका बेला विभिन्न स्थानमा भएका मठ-मन्दिरहरू भत्काउने, मन्दिरका पुजारीहरूमाथि दुर्व्यवहार गर्नेजस्ता कामहरू मात्र भएनन्, आफ्नो संस्कारअनुरूप बाबुआमाको किरिया बसेका किरियापुत्रीहरूलाई समेत छोडिएन । क्षेत्री-बाहुनको संस्कारअनुरूप काजकिरियामा बसेका बेला कसैले पनि छुन मिल्दैन, त्यस्तो बेलामा तिनलाई अपहरण गर्ने कामसमेत भयो । सबै जातजातिको संस्कृति जोगाउन वकालत गर्दै हिँडेका माओवादीहरूले क्षेत्री-बाहुनको संस्कृतिमाथि भने धावा बोले । धर्मको आधारमा अधिकांश क्षेत्री-बाहुन हिन्दु धर्मावलम्बी हुन् । यसबीचमा हिन्दू धर्ममाथि यसरी प्रहार गरियो कि विश्वमै नमुना राष्ट्रका रूपमा रहेको हिन्दू राज्यलाई धर्मनिरपेक्षतामा परिणत गरियो । आफ्नो संस्कारलाई निमिट्यान्न पारेर अरूको संस्कृति संरक्षणको कुरा गर्न माओवादीमा भएका बाहुन नेताहरूलाई कुनै अप्ठ्यारो भएन, निर्णायक प्रभाव पार्ने नभए पनि केही क्षेत्री नेताहरू पनि त्यसमा सामेल भए । धर्मलाई अफिमको संज्ञा दिइयो, धर्म अफिम भए क्रिश्चियन, इस्लाम, हिन्दू सबै धर्म अफिम हुनुपर्ने हो तर माओवादीले सधंै हिन्दू धर्ममाथि मात्रै प्रहार गर्ने काम गरे, अरू कुनै पनि धर्मका बारे एक शब्द बोलेनन्, बरु हिन्दूबाहेकका धर्महरूलाई मजैले पक्षपोषण गर्ने काम गरे । विशेषगरी क्रिश्चियन धर्मावलम्बीहरूले माओवादीबाट धेरै ठूलो समर्थन प्राप्त गरे । हिन्दूहरूको महान् चाड दसैंमा टीका बहिष्कार गर्ने अभियान नै चलाइयो ।
विश्वका धेरै ठूला नेताहरू आफ्नो धर्म-संस्कारअनुरूप चर्च, मस्जिद, बहाई मन्दिर या मन्दिर जान्छन् तर माओवादी नेताहरूले मन्दिर नजानुलाई गौरव ठान्ने परिस्थितिको निर्माण गर्ने कोसिस गरे । समग्रमा भन्नुपर्दा अरू सबै जातिको संस्कार जोगाउन र क्षेत्री-बाहुनाका संस्कारलाई भत्काउनका लागि धेरै ठूलो प्रयास रह्यो । तर, क्षेत्री-बाहुनले सुरुमा त्यस्ता गतिविधिको विरोध गरेनन्, चुपचाप हेरिमात्र रहे र अति भएपछि आ-आफ्ना सङ्गठनमार्फत आफ्नो संस्कृति जगेर्नाका लागि एक जुट बने । अहिले सङ्ख्यात्मक हिसाबले यो मुलुकको धेरै जनसङ्ख्या क्षेत्रीको छ र त्यसपछि बाहुनको । उनीहरूबीच अहिले जुन प्रकारको एकता देखिँदै छ त्यसले राष्ट्रलाई अखण्ड राख्नमा ठूलो योगदान दिन सक्ने देखिएको छ । यो समुदायबीच फाटो नल्याउँदा आफ्नो राजनीतिक भविष्य त्यति उज्ज्वल नदेखेपछि माओवादीले क्षेत्रीहरूबीच खेल्ने प्रयासस्वरूप खस मोर्चाको अवधारणा ल्याएको हो भनेर मान्न सक्ने आधारहरू धेरै छन् । क्षेत्रीहरूबीच फुटको सिर्जना गरिसकेपछि ब्राह्मणहरूमा यो प्रयास गरिनेछ । क्षेत्री-बाहुनको धर्म र संस्कृतिमाथि प्रहार गर्नेहरूले अब के उद्देश्य राखेर खस मोर्चा गठन गर्ने नैतिक साहस गर्ने हुन् बुझ्न सकिएको छैन । त्यसैले माओवादीका नाममा आफ्नो धर्म, संस्कृति र संस्कारलाई त्याग्न राजी हुने या उनीहरूसमक्ष आत्मसमर्पण गर्ने क्षेत्री-ब्राह्मणलगायतका समुदायले सोच्नुपर्ने बेला आएको छ ।