वैद्यलाई थकाउने र गलाउने योजना, बैठक सार्दा वैद्य गल्ने विश्वास

वैद्यलाई थकाउने र गलाउने योजना, बैठक सार्दा वैद्य गल्ने विश्वास


एकीकृत माओवादीभित्रको विवादलाई बैठक बसेरभन्दा पनि सारेर निष्कर्ष खोज्ने निचोडमा अध्यक्ष प्रचण्ड पुग्नुभएको छ । पार्टीमा आफू अल्पमतमा पर्नसक्ने वा विवाद समाधान हुन नसक्ने स्पष्ट देखिएपछि बैठक स्थगित गर्ने परम्परालाई निरन्तरता दिँदै अध्यक्ष प्रचण्ड असोज १३ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक सार्ने निचोडमा पुग्नुभएको हो । सूत्रका अनुसार पार्टीभित्रको विवाद तत्काल समाधान हुन नसक्ने बरु उल्टै थप विवाद निम्त्याउन सक्ने खतरा औंल्याउँदै प्रचण्डले बैठक र्सार्न लाग्नुभएको हो । बैठक सार्नेबारेमा प्रचण्डले प्रधानमन्त्री एवम् पार्टी उपाध्यक्ष बाबुराम भट्टराईसँग मंगलबार बिहान छलफलसमेत गरिसक्नुभएको छ । उहाँले दसैँअघि बस्ने बैठकले विवाद समाधान गर्ने सम्भावना अत्यन्तै कम छ, थप गृहकार्य गरेर दसैँपछि बैठक बस्दा राम्रो हुने भन्दै बैठक सार्ने इच्छा गर्नुभएको प्रचण्डनिवास सूत्रले बतायो । सूत्रका अनुसार बैठक सार्ने विषयमा बाबुराम सकारात्मक भए पनि फेरि बैठक कहिले बस्ने भन्नेबारे निष्कर्षमा पुगिएको छैन । बैठक सार्नुपरेको कारण पदाधिकारी बैठकमा राखौँ र त्यही बैठकबाट कसरी अघि बढ्ने र कहिले राख्ने भन्ने निर्णय गर्नुपर्ने प्रस्ताव बाबुरामले प्रचण्डसँग राख्नुभएको थियो । ‘१३ असोजको बैठक सार्नका लागि उपयुक्त बहाना मिल्न जाने भएकोले यसलाई सदुपयोग गर्दै पार्टी नेताहरूबीच थप छलफल गरी दसैँपछि बैठक बस्नुपर्छ,’ प्रचण्डको भनाइ थियो । बैठक बोलाउँदै सार्दै गरेपछि अन्ततः वैद्य थाक्नेछन् र यही अवधिमा धेरै मानिसलाई सत्ताको आडमा आफूतर्फ आकरि्षत गर्न सकिन्छ भन्ने विश्वास प्रचण्डमा रहेको देखिन्छ । वैद्यलाई थकाउने र सके लाइनमा ल्याउने नभए पार्टी छोडेर जाने स्थितिमा पुर्‍याउने योजनामा प्रचण्ड रहनुभएको छ ।
बैठक सार्ने विषयमा प्रचण्ड निश्चिन्त रहे पनि यसबारे औपचारिक घोषणा भने गरिएको छैन । उहाँले आफूनिकटका केन्द्रीय नेताहरूबाट त्यसप्रकारको सन्देश वैद्य पक्षका नेताहरूसमक्ष पठाउनुभएको हो । आफ्नोअनुकूल कुटिल चाल चल्दै आउनुभएका प्रचण्डले वैद्य पक्षबाट आउन सक्ने प्रतिक्रियाका आधारमा निर्णय गर्ने योजना बनेको बताइएको छ । प्रचण्ड बैठकको मिति सारिरहेर वैद्य पक्षको आक्रोशलाई मत्थर गर्ने र अन्ततः आफ्नो निर्णय लागू गराइछाड्ने सोचाइमा हुनुहुन्छ । एमाले अध्यक्ष झलनाथ खनालले पनि आफूलाई अप्ठ्यारो पर्दा गत वर्ष यसरी नै बैठक बोलाउने र सार्ने गर्दै आउनुभएको थियो । सूत्रका अनुसार उपाध्यक्ष मोहन वैद्यले आत्मालोचना गर्ने अवस्था सिर्जना गर्ने अवस्था नआएसम्म प्रचण्ड केन्द्रीय समितिको बैठक बोलाउने पक्षमा हुनुहुन्न । मधेसकेन्द्रित दलका मोर्चासँग गरिएको चारबुँदे सम्झौता तथा हतियार रहेको कन्टेनरको साँचो विशेष समितिलाई बुझाइएको भन्दै वैद्य अध्यक्ष प्रचण्डविरुद्ध एक वक्तव्य जारी गर्दै सडक आन्दोलमा उत्रनुभएको थियो ।
उता उपाध्यक्ष वैद्य भने बैठक र्सार्न नहुने र १३ असोजबाट नै बैठक बस्नुपर्ने अडानमा हुनुहुन्छ । ‘अध्यक्ष प्रचण्ड बैठक सार्ने पक्षमा रहनुभएको जानकारी मैले पाएको छु, यदि बैठक सार्नुभयो भने पार्टीका लागि त्यो ठूलो घात हुनेछ, त्यसैले हामी बैठक र्सार्न दिने पक्षमा छैनौँ,’ उपाध्यक्ष मोहन वैद्यले भन्नुभयो । ‘अध्यक्षले आफैंले त मसँग बैठक सार्ने विषयमा कुनै प्रस्ताव गर्नुभएको छैन, तर उहाँका नजिकका मानिसले चाहिँ त्यस्ता प्रस्ताव ल्याएका छन्,’ मंगलबार वैद्यले भन्नुभयो । ‘विमतिका लागि नभई सहमति र मिलनका लागि हाम्रो दबाब र पहलमा केन्द्रीय समिति बैठक बोलाउन लागिएको हो,’ वैद्यले भन्नुभयो, ‘बैठक सारेर भाग्न खोजे पार्टीभित्रको समस्या समाधान हुन सक्दैन । अध्यक्षले यस्तो सोच्नुभएको छ भने यो महाभूल हुनेछ ।’
वैद्य पक्षका अर्का नेता सीपी गजुरेलले पनि अध्यक्षले घुमाउरो ढङ्गबाट बैठक सार्ने प्रस्ताव अघि सारिरहेको बताउनुभयो । प्रचण्डले सीधै बैठक सार्ने भनेर हामीसँग भन्नुभएको छैन, तर, उहाँनिकट मानिसका अनुसार अध्यक्ष बैठक बोलाउने पक्षमा देखिनुभएको छैन । ‘बैठकमा पार्टीभित्रका सबैखाले विवादलाई बैठकमा राखी समाधानको उपाय खोज्नुको सट्टा भागेर हिँड्नु कतिसम्म जायज कुरा हो,’ गजुरेलको भनाइ थियो । माधेसकेन्द्रित दलका मोर्चासँग गरिएको चारबुँदे सम्झौता तथा हतियार रहेको कन्टेनरको साँचो विशेष समितिलाई बुझाएको विषयलाई लिएर सडक आन्दोलनमा उत्रिएको वैद्य पक्ष उक्त बैठकले बेग्लै कार्यपत्र प्रस्तुत गर्ने तयारीमा रहेको बुझिएको छ । वैद्यले यसका लागि मुलुकभरका नेता तथा कार्यकर्ताको भावनालाई पनि समेट्नुभएको उहाँनिकट नेताको भनाइ छ । ती नेताले भन्नुभयो, ‘केन्द्रीय कमिटीबाट पार्टीको मुल भावनाअनुसार नेतृत्वलाई हिँडाउने कोसिस गर्ने छौँ र हिँड्न नमान्नेलाई छाडिदिन्छौँ ।’
यसैबीच अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीको बैठक सार्ने विषयमा प्रधानमन्त्री एवम् पार्टी उपाध्यक्ष डा. बाबुराम भट्टराईसँग परामर्श गर्नुभएको छ । उहाँले बैठकको गृहकार्य बढी गर्नुपर्ने, दसैँ पनि आइसकेकाले पार्टीभित्र उठेका विषयमा छलफल गर्न समय नभएकाले बैठक सार्नुपर्ने प्रस्ताव गरेको नयाँ बजार स्रोतले बतायो । प्रचण्डको प्रस्तावप्रति समर्थन जनाउँदै जवाफमा बाबुरामले बैठकबाटै उपयुक्त निकास खोजिनुपर्ने तर, त्यसका लागि पूर्ण गृहकार्यको खाँचो औंल्याउनुभएको थियो । ‘पार्टीभित्रका सबै विवादको आपसी छलफलबाट निकास निकाल्नुपर्छ, त्यसका लागि हामी सबैले पहल गर्नुपर्छ, बाबुरामको भनाइ थियो,’ नयाँ बजार स्रोतले भन्यो ।