हराएको तीन वर्षपछि दत्तात्रयको मूर्ति बेवारिसे अवस्थामा भेटियो

हराएको तीन वर्षपछि दत्तात्रयको मूर्ति बेवारिसे अवस्थामा भेटियो


हराएको तीन वर्षपछि दत्तात्रयको मूर्ति बेवारिसे अवस्थामा फेला परेको छ । जुम्ला सदरमुकाम (खलंगा) स्थित चन्दननाथ मन्दिरबाट हराएको दत्तात्रयको मूर्ति ३ वर्षपछि आज (सोमबार) स्थानीय लोकेन्द्र हमालले खेतको आलीमा बेवारिसे अवस्थामा भेटिएको हो ।

करिब १८ किलो चाँदीको दत्तात्रयका सो मूर्ति मन्दिरबाटै ०७३ सालको मंसिरमा हराएको थियो । सो मूर्तिसँगै अरू स–साना गरी १४ वटा मूर्ति हराए पनि अन्य केही मूर्तिहरू भने गुठीचौर गाउँपालिकाको देपालगाउँमा यसअघि नै फेला परेका थिए ।

मूर्ति चोरी भएपछि खोजीका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)सहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको टोलीसमेत परिचालन गरिएको थियो ।

तर मूर्ति हराएको तीन वर्षपछि सोमबार बिहान चन्दननाथ नगरपालिकाको दानसाँघु भन्ने ठाउँमा स्थानीय लोकेन्द्र हमालको खेतको आलीमा बेवारिसे अवस्थामा मूर्ति फेला परेपछि हमालले मन्दिर र प्रहरीलाई खबर गरेका थिए । मूर्ति भेटिएपछि प्रहरी घटनास्थल पुगेको र मुचुल्का उठाइसकेपछि मूर्तिलाई अहिले प्रशासन कार्यालयमा ल्याएर सुरक्षित राखिएको छ । पत्रकार सम्मेलन गरी मूर्ति सार्वजनिक गरिएपछि पुनः चन्दननाथ मन्दिरमै राखिने बताइएको छ ।