प्याच्च बोलेपछि जिया आउट -राजन घिमिरे

प्याच्च बोलेपछि जिया आउट -राजन घिमिरे


चलचित्र बजारमा नायिका जिया केसीलाई एउटा आरोप छ कि उनी सीमित निर्देशकको इशारामा आफ्नो कलाकारितालाई अगाडि बढाउँदै छिन् । तर, यो आरोप उनी स्वीकार गर्दिनन् । ‘म त सबै निर्देशककी नायिका हुँ नि । तर, मैले मात्र चाहेर के गर्ने ? मौका पनि त दिनुपर्‍यो नि अरू निर्माण-निर्देशकहरूको चलचित्रमा,’ उनको भनाइ छ ।
झापाकी यी जानकीलाई जिया नाम राखिदिएका थिए निर्देशक दीपक श्रेष्ठले । तर, विडम्बना जानकीबाट जिया बनेकी उनलाई जिया बनाउने चलचित्र ‘हो यही हो माया’ पाँच वर्ष भइसक्यो प्रदर्शन हुन सकेको छैन । आजसम्म चारवटा सिनेमा खेले तापनि एउटा पनि सिनेमा रिलिज भएका छैनन् उनको । यसकारण पनि ‘अनलक्की’ नायिका बनेकी जियाले सुरुमा राम्रा ब्यानरबाट अफर आउँदा ती सिनेमा लत्याएकी थिइन् । ‘तर आज टाउकोमा हात राख्न बाध्य भइन् उनी,’ जियाका समकक्षीहरू भन्छन् । पहिले जिया र अर्की नायिका युना उप्रेती एउटै कोठामा बसेर सङ्घर्ष गरेका नायिका हुन् । तर, यतिबेला युनाले आफ्नो स्थान बनाइसकेकी छिन् भने जियाको समय भौंतारिएर हिँड्दैमा बित्ने गरेको छ । त्यसो त सीमित चलचित्रकर्मीमाझ मात्र घुम्ने उनको गलत सोच नै यतिबेला जियाका निमित्त घातक सावित भएको छ । फलानो निर्देशकको हिरोइन हुन् यिनी भन्नेजस्ता आरोप उनीमाथि लाग्ने गरेको छ । यिनले पनि त्यस्तै व्यवहार देखाउनाले जियाको भविष्य नेपाली चलचित्रका लागि त्यति राम्रो देखिएको छैन । अर्कोतर्फ केही समयअगाडि एउटा चलचित्रमा बल्ल अवसर पाएकी जियाले सो मुहूर्तमा मिडियाहरू नदेखेपछि बोलेको ‘मीठो खानेकुरा थिएन कुनै मिडिया पनि आएन’ भन्ने शब्द नै यतिबेला जियालाई घाँडो भएको छ । जियाको यो बोली बजारमा आएपछि सबै मिडिया उनीमाथि खनिएका छन् तर उनीचाहिँ बोलेको छैन भन्छिन् । एकातिर चलचित्र रिलिज नहुनु अर्कातिर प्याच्च बोल्नुजस्ता क्रियाकलापले उनलाई घाटा पुर्‍याउने देखिन्छ ।

प्रवाशीमाझ आ-आफ्नै डम्फू
कार्यक्रमको आयोजना त सहयोग र साथ पाउने अपेक्षासहित गरिएको थियो तर, त्यहाँ आफ्नै डम्फु बजाउनेहरूको भीड ठूलै थियो । बोल्न पाइयो भने ठूलै युद्ध जितिन्छ भन्ने होडबाजी चलेको थियो त्यहाँ ।
प्रसङ्ग एनआरएनका नयाँ कार्यसमितिलाई बधाई तथा उनीहरूलाई स्वागत गरिँदाको हो । चलचित्र निर्माता सङ्घले आफ्ना सबै सदस्यलाई कार्यक्रममा आउन उर्दी जारी गरे तापनि त्यहाँ बढी व्यक्तिगत स्वार्थ बोकेकाहरूको भीड बढी थियो । नेपाली चलचित्रको बजार विश्वमाझ कसरी पुर्‍याउन सकिन्छ र त्यसका लागि एनआरएनको भूमिका कस्तो हुनुपर्छ भन्नेबारे राम्रै छलफल भइरहेको थियो । तर, केही मुलुक घुमेर आएका आकाश अधिकारीले आफैं हिरो बनेर लामो समयदेखि विदेशमा नै बसेर ठूलो अनुभव बटुले जस्तोगरी उल्टो एनआरएनका पदाधिकारीलाई भाषण दिँदै थिए, ‘यहाँ आकाशको भाषण सुन्न आएको हो कि एनआरएनको विचार सुन्न आएको हो हामी,’ समारोहमा चलचित्रकर्मीबीच गाइँगुइँ चल्न थाल्यो । अर्का चलचित्रकर्मी भन्दै थिए, ‘आकाशको विदेश भ्रमणको अनुभव कति सुन्नु । जहिले पनि एउटै कुरा । माइक पाएपछि आकाशले छोड्दैनन्,’ उनको व्यङ्ग्य थियो ।
समग्र नेपाली चलचित्रको बजारबारे नभएर आफ्नो फिल्मबारे मात्र बखान गरेपछि आकाशलाई सुटुक्क कार्यक्रम प्रस्तोताले कानमा नै गएर भाषण बन्द गर्नुपर्ने आग्रह गरेका थिए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष जीवा लामिछानेले विदेशमा बसे तापनि आफूहरूले नेपाली कला, साहित्य, सङ्गीत र चलचित्रलाई भुल्न नसकेको कुरा बताए । लामिछानेको यो आश्वासनसँगै कार्यक्रममा एउटा रौनकता थपिएको थियो ।
लामो समयदेखि बेल्जियममा बस्दै आएका र हाल बेलायतमा बसेर बेलायत र अ:6|]लियाबाट नेपाली पत्रिका नेपालीपत्रको प्रकाशन गर्दै आएका पत्रकार राजेन्द्र भट्टले विदेशमा नेपाली चलचित्रको महोत्सव गरेमा वैदेशिक बजार बढ्न सक्ने अवधारणा प्रस्तुत गरेका थिए । उनको भनाइ थियो, ‘एनआरएनको साथ पाएमा यस्ता कार्यक्रमको आयोजना असम्भव होइन ।’
समग्र नेपाली चलचित्रको बजार विदेशमा खोज्ने निर्माता सङ्घको यो कार्यक्रमको आयोजना साँच्चिकै स्वातयोग्य थियो । तर, कार्यक्रममा एउटा निर्माताले एउटा एनआरएनलाई च्यापेर कुनामा लग्दै आफू र आफ्नो चलचित्रबारे परिचय गराउँदै विदेश जानुपर्‍यो भन्दै अनुनयविनय गरेका दृश्यहरू भने खुब हेर्न लायकको थियो ।

कुरा मिलेपछि सबैथोक हुन्छ
सिनेमा राम्रो कि मोडलिङ ? चलचित्र जलजलामा नायिका बनेपछि लक्ष्मी बस्नेतलाई सबैले यही प्रश्न सोधे । ‘मलाई त दुवैको महत्त्व लाग्यो । मोडलिङ र फेसन शो आर्थिक रूपमा फाइदा छ भने प्रचारप्रसार र लोकप्रियतामा सिनेमामा रहेछ,’ उनले अनुभव सुनाइन् ।
लामो समय मोडलिङ क्षेत्रमा राम्रै स्थान जमाउन सफल लक्ष्मी बस्नेत यो कुरामा पनि गर्व गरि्छन् कि उनले पहिलो चलचित्रमा नै गजबको भूमिका हात पारिन् । ‘पहिलो चलचित्रमा नै म जमेकी छु । बलियो भूमिका हात पर्नाले सिनेमा क्षेत्रमा लाग्न थप ऊर्जा मिलेको छ,’ उनले सुनाइन् ।
एक दर्जन टेलिभिजन विज्ञानपन र म्युजिक भिडियोमा आफ्नो कौशलता प्रस्तुत गरिसकेकी लक्ष्मी अब मोडलिङ र सिनेमा क्षेत्र दुवैलाई एकसाथ अगाडि बढाउने योजनामा छिन् । ‘तर पहिलो चलचित्र जलजला रिलिज होस् भन्ने मेरो इच्छा छ । त्यो चलचित्र रिलिज भएपछि मलाई लाग्छ मेरो कामको तारिफ राम्रै हुनेछ,’ उनको विश्वास छ । आफैं सिनेमा खेल्न रोल माग्दै जानु र अरूबाट अफर आउनुमा लक्ष्मी धेरै फरक देख्छिन् । ‘त्यसमा पारिश्रमिकको कुरा पनि आउँछ । काम गर्ने लोभमा रोल माग्न जाँदा पारिश्रमिकमा ठगिन्छ तर, उनीहरूबाट अफर आएमा पारिश्रमिकमा डिमान्ड गर्न सकिन्छ,’ यसकारण पनि लक्ष्मी राम्रो फिल्म खेल्ने तर राम्रो ब्यानरकै खेल्ने योजनामा रहेकी छिन् ।
आफूलाई सिनेमा नै खेल्नुपर्ने बाध्यता नभएको कुरा बताउने लक्ष्मी दामका लागि नभएर आफूले नामका लागि फिल्म खेलेको वास्तविकता बताउँछिन् । ‘त्यसैले सिनेमा खेल्ने लोभमा जस्तो पायो त्यस्तो भूमिकामा काम गर्दा भोलि सिनेमा क्षेत्रमा टिक्न गाह्रो हुन्छ । त्यसकारण पनि म थोरै खेल्छु तर राम्रो फिल्म खेल्छु भन्ने विचार बोकेकी छु ।’ उसो भए लक्ष्मीले भनेजस्तै होला त ? ‘नभए तापनि मलाई फरक पर्दैन । जलजला खेल्नेबित्तिकै केही फिल्मबाट अफर आएको थियो तर भूमिका, व्यापार र पारिश्रमिकमा कुरा नमिलेपछि त्यो फिल्म छाडेँ । पहिले कुरा मिल्नुपर्‍यो नि, कुरा मिलेपछि मात्रै सबैथोक हुन्छ’ उनले भनिन् ।