कोरोना भाइरसको संक्रमणका कारण चीन सरकारले शुक्रबार यहाँका थप शहरमा पनि यात्रा प्रतिबन्ध लगाइएको घोषणा गरेको छ । सो भाइरसको कारण मृत्यु हुनेको संख्या २६ पुगेपछि शुक्रबार नौवटा शहरमा यातायातलगायतका सेवा र आवतजावत पनि बन्द गर्ने निर्णय सरकारले गरेको चिनियाँ राजधानी बेइजिङबाट पं्राप्त समाचारमा जनाइएको छ ।
शुक्रबार बिहानसम्म यस भाइरसका कारण प्रभावित भएका भनिएका चीनका नौवटा शहरमा सार्वजनिक यातायातको आवतजावत रोक्नुका साथै मानिसका अत्यावश्यकबाहेकका सेवा पनि रोकेको छ ।
यहाँका तीन करोड २० लाख व्यक्ति प्रभावित भएको चिनियाँ स्वास्थ्य क्षेत्रका अधिकारीहरूले जानकारी दिएका छन् । हुबेई प्रान्तमा जिङजोउ अधिकारीहरूका अनुसार शहरबाट छुट्ने सबै रेल सेवाहरू शुक्रबार बिहानबाट बन्द भएका छन् । त्यसैगरी सार्वजनिक बस, यातायातका अन्य साधनहरू, पर्यटन बस, डुंगा आदिलाई अस्थायी रूपमा सञ्चालन पनि रोकिने बताइएको छ । यसरी सार्वजनिक सवारीमा लगाइएको यस किसिमको प्रतिबन्धबाट करिब तीन करोड २० लाख व्यक्ति पनि प्रभावित भएको प्राप्त समाचारमा जनाइएको छ ।
कोरोना भाइरस संक्रमणको सबैभन्दा बढी प्रभावित मानिएको क्षेत्र चीनको हुबेई हो । हुबेई प्रान्तको वुहान सहरमा यसको बढी प्रभाव देखिएको र त्यहीँबाट नै यसको उत्पत्ति भएकोले पशुबजारमा पनि कडा नियम गरिएको छ । वुहान शहरका हाल ८ सय ३० व्यक्ति यस भाइरसबाट संक्रमित भएका राष्ट्रिय स्वास्थ्य विभागले जनाइएको छ । चीनका विभिन्न २५ प्रान्तमा यो भाइरसको संक्रमण फैलिएको छ । तर, बढी प्रभावित भएका भनिएका हुबेई प्रान्तका नौवटा शहरमा यस्तो किसिमको प्रतिबन्धको घोषणा गरिएको बताइएको छ ।
ती शहरका स्थानीय प्रशासनले जंगली जनावर र पशुबजारका क्षेत्रमा कडाइ गर्न निर्देशन दिइएको हो । यस भाइरसबाट हुबेई प्रान्तमा नै बढी व्यक्तिको ज्यान गएको छ । यस भाइरसबाट मृत्यु हुनेमध्ये धेरै ४८ देखि ८९ वर्ष उमेरका व्यक्ति रहेका पनि जनाइएको छ । यो संक्रमणको संख्यामा करिब पाँच हजार नौ सयजनालाई उपचारार्थ भर्ना गरिएको थियो । यी मध्ये १७७ व्यक्तिको अवस्था गम्भीर रहेको जनाइएको छ ।
यद्यपि यसबाट निको भएर करिब हजार व्यक्ति अस्पतालबाट घर पनि फर्किएका छन् । चीनको वुहानको जनसंख्या भन्डै एक करोड रहेको छ । त्यसैले उक्त संक्रमणको उत्पत्ति भएको सो क्षेत्रमा सरकारले बढी निगरानी राखिरहेको पनि बताइएको छ ।
रासस–एएफपी
प्रतिक्रिया