ब्राजिलका राष्ट्रपति जाइर मेसियस बोल्सोनारो राजकीय भ्रमणका लागि शुक्रबार भारत पुगेका छन् । बोल्सोनारो चार दिवसीय भ्रमण कार्यक्रम लिएर भारतको सङ्घीय राजधानी नयाँ दिल्ली पुगेका हुन् ।
उनको मुख्य कार्यक्रम भने जनवरी २६ तारिखमा हुने भएको छ । भारतको गणतन्त्र दिवस परेडमा उनले प्रमुख अतिथिका रूपमा सहभागिता जनाउने छन् ।
भारतले यस वर्ष ७१औँ गणतन्त्र दिवस मनाउन लागेको छ । दिवसका अवसरमा कला र सांस्कृतिको प्रदर्शन, रीतिरिवाजसम्वन्धी कार्यक्रम, विज्ञान प्रविधिसम्वन्धी प्रदर्शनी, सैनिकहरुको प्रस्तुतिलगायतका विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको बताइएको छ भने विशेष समारोहको प्रमुख अतिथिका रूपमा बोल्सोनारोलाई निमन्त्रणा गरिएको सिन्ह्वाले जनाएको छ ।
ब्राजिलका राष्ट्रपति बोल्सोनारोले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतलाई भेट्ने कार्यक्रम रहेको पनि जनाइएको छ । बोल्सोनारो र मोदीबीच केही दुई पक्षीय सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम समेत रहेको बताइएको छ ।

प्रतिक्रिया