चीनको मध्य क्षेत्रबाट फैलिएको कोरोना भाइरसका कारण प्रभावित हुनेको सङ्ख्या बढ्ने क्रम नरोकिएपछि नियन्त्रणको लागि औषधी, उपकरण तथा स्वास्थ्यकर्मीसहितका थप १२ टोलीलाई हुबेई पठाउने तयारी गरिएको सम्बद्ध चिनियाँ अधिकारीहरुले जनाएका छन् । कोरोना भाइरसका कारण चीनमा ५६ जनाको मृत्यु भएको र करिब दुई हजार व्यक्तिमा सङ्क्रमण भएको चीनले पुष्टि गरिसकेको छ । रोग लागेका सयौँ बिरामीहरू उपचारपछि स्वस्थ भइसकेका तर उनीहरूलाई अझै पनि चिकित्सकको निगरानीमा राखिएको बताइएको छ ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका निर्देशक मा सिआओवेले आइतबार पत्रकार सम्मेलन आयोजना गरी कोरोना भाइरसको सङ्क्रमित विरामीको उपचारलाई थप प्रभावकारी बनाउन थप एक हजार ६०० स्वास्थ्यकर्मीसहितका १२ समूहलाई छिट्टै प्रभावित क्षेत्रमा पठाउने तयारी भएको बताएका सिन्ह्वाले जनाएको छ ।
आयोगले विशेषज्ञसहितको थप ९०० स्वास्थ्यकर्मीको सात टोलीलाई हुबेई पठाइसकेको छ भने सेनाले पनि ४५० अनुभवप्राप्त स्वास्थ्यकर्मीलाई त्यसतर्फ पठाइसकेको माले जानकारी दिए । थप एक हजारभन्दा बढी स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको उनको भनाई छ ।
हुबेईको क्षेत्रीय सरकारले कोरोना भाइरसलाई नियन्त्रण गर्न १४ करोड ३० लाख अमेरिकी डलर बजेट विनियोजन गरेको छ भने औषधी, मास्क, पञ्जा, चश्माजस्ता सुरक्षा पोशाकलगायत उपकरणहरू पनि अस्पतालहरूको आवश्यकता अनुसार पठाएको छ ।
यसैबीच चीनले आगामी २० दिनभित्रमा कोरोना भाइरसको सङ्मणलाई नियन्त्रणमा ल्याउन सकिने चीनका वरिष्ठ भाइरल रोग विशेषज्ञहरूले बताएका छन् । चिनियाँ इन्जिनियरिङ एकेडेमीका सदस्य वेन युमेईले भाइरस सङ्क्रमण रोक्न राज्यले चालेका सबै उपायका कारण रोगलाई आगामी २० दिनमा पूर्ण नियन्त्रणमा ल्याउन सकिनेमा आफूहरु विश्वस्त रहेको दाबी गरेका छन् ।
‘मानव शरीर क्रमश जीबाणुसँग प्रतिरोध गर्न सक्ने अवस्थामा पुग्छ जसका कारण कोरोना भाइरस फैलिने क्रम अन्त्य गर्न सकिने छ,’ साङ्घाईस्थित प्रमुख मोलिकुलर भाइरोलोजी प्रयोगशालाका प्राध्यापक वेनले भनेका छन् ।
ज्ञातव्य छ, चिनियाँ स्वास्थ्य अधिकारीहरुले कम्तीमा ५६ जनाको मृत्यु भएको र झण्डै दुई हजार जना प्रभावित भएको जानकारी दुई दिनअघि नै दिएका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विरामी हुनेको संख्या १९ सय ७५ रहेको छ । विरामी भएका मध्ये ३२४ जनाको अवस्था गम्भीर रहेको पनि आयोगले जनाएको छ । अहिलेसम्म कुल २६ सय ८२ जनामा कोरोना भइरसको संक्रमण भएको आशंका गरिएको छ ।
यसबाट निको भएर करिब एक हजार जना व्यक्ति अस्पतालबाट घर फर्किएका छन् तर उनीहरुलाई पनि विशेष निगरानीमा राखिएको छ । उक्त सङ्क्रमणको उत्पत्ति भएको उहान क्षेत्रमा सरकारले बढी निगरानी राखिरहेको पनि अधिकारीहरुले बताएका छन् ।
सङ्क्रमणको प्रकोप चीनका कम्तीमा २५ प्रान्तमा फैलिएको छ भने कम्तीमा १८ शहरमा निकै डरलाग्दो तरिकाले फैलिएकाले ती सहरहरुमा यातायात साधन चलाउन प्रतिबन्ध लगाइएको छ ।
ती क्षेत्रमा विभिन्न सतर्कता अपनाइएको चीन सरकारले जनाएको छ । सरकारले देशभरीको उडान, रेल र बससेवामा पनि उच्च सतर्कताका लागि आह्वान गरेको छ । मानिसको बढी आवतजावत हुने विमानस्थल, बसपार्क, रेल स्टेसन लगायतमा स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको छ भने जङ्गली जनावर र पशु ओसार पसार तथा उपभोगमा कडाई गर्न निर्देशन दिइएको छ ।
सङ्क्रमणले अमेरिका, जापान, दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा छोइसकेको बताइन्छ । कोरोना भाइरस युरोपमा पनि फैलिन थालेको छ । फ्रान्समा तीन जनामा कोरोना भाइरस देखिएको पुष्टि भएको छ । यस सङ्क्रमणबाट मृत्युको घटना चीनमा मात्रै भएको छ भने त्रास संक्रमित हुनेहरु अन्य देशमा पनि भएकाले विश्वभरी नै त्रास फैलिएको छ ।
चिनियाँ अधिकारीले कोरोना भाइरस मानिसबाट मानिसमा सरेको पुष्टि गरिसकेका छन् । यो भाइरस सङ्क्रमण भएपछि खासगरी श्वासप्रश्वाससम्बन्धी समस्या देखिने चिकित्सकहरुको भनाई छ । उनीहरुका अनुसार ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुने यस सङ्क्रमणपछिका लक्षण हुन् । यस भाइरसको सङ्क्रमणपछि शरीरमा अक्सिजनको मात्रा कम हुँदै जाने पनि अर्को एक समस्या हो ।
प्रतिक्रिया