चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरूले कम्तीमा ८० जनाको मृत्यु भएको र झन्डै दुई हजार ७४४ जना संक्रमित भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ ।
संक्रमितमध्ये ४६१ जनाको अवस्था गम्भीर रहेको आइतबार अबेर राति सो आयोगले जनाएको छ । गत २४ घन्टायता ७६९ जना नागरिकमा यो भाइरसको संक्रमण देखिएको छ । त्यसैगरी तीन हजार ८ सय ६ जनालाई पनि यसको संक्रमणको आशंका गरिएको आयोगले जनाएको छ ।
यस कोरोना भाइरसबाट निको भएर एक हजारभन्दा बढी व्यक्ति अस्पतालबाट घर फर्किएका पनि उक्त समाचारमा जनाइएको छ । घर फर्किएकाहरूलाई पनि विशेष निगरानीमा राखिएको छ । उक्त संक्र्रमणको उत्पत्ति भएको उहान क्षेत्रमा सरकारले बढी निगरानी राखिरहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
कोरोना चीनका कम्तीमा २५ प्रान्तका १८ शहरमा निकै डरलाग्दो तरिकाले फैलिएकाले त्यहाँ यातायातका साधन सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ
संक्रमणको प्रकोप चीनका कम्तीमा २५ प्रान्तमा फैलिएको छ भने कम्तीमा १८ शहरमा निकै डरलाग्दो तरिकाले फैलिएकाले ती सहरहरूमा यातायातका साधन सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ । ती क्षेत्रमा विभिन्न किसिमले सतर्कता अपनाइएको चीन सरकारले जनाएको छ । सरकारले देशभर हुने उडान, रेल सेवा र अन्य सवारीका साधनहरूको आवतजावतमा निगरानी बढाएको र उच्च सतर्कताका अपनाउन आह्वान गरेको छ ।
मानिसको बढी आवतजावत हुने विमानस्थल, बसपार्क, रेल स्टेसनलगायतमा स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको छ भने जंगली जनावर र पशु ओसारपसार तथा उपभोगमा कडाइ गर्न निर्देशन दिइएको छ ।
संक्रमणले अमेरिका, जापान, दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा छोइसकेको बताइन्छ । कोरोना भाइरस युरोपमा पनि फैलिन थालेको छ । फ्रान्समा तीनजनामा कोरोना भाइरस देखिएको पुष्टि भएको छ ।
ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुने र शरीरमा अक्सिजनको मात्रा कम हुँदै जाने यस संक्रमणका लक्षण र समस्या हुन्
यस संक्रमणबाट मृत्युको घटना चीनमा मात्रै भएको छ भने त्रास संक्रमित हुनेहरू अन्य देशमा पनि भएकाले विश्वभरि नै त्रास फैलिएको छ । चिनियाँ अधिकारीले कोरोना भाइरस मानिसबाट मानिसमा सरेको पुष्टि गरिसकेका छन् । यो भाइरस संक्रमण भएपछि खासगरी श्वासप्रश्वाससम्बन्धी समस्या देखिने चिकित्सकहरूको भनाइ छ ।
उनीहरूका अनुसार ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुने यस संक्रमणपछिका लक्षण हुन् । यस भाइरसको संक्रमणपछि शरीरमा अक्सिजनको मात्रा कम हुँदै जाने पनि अर्काे एक समस्या हो । यसैबीच, संयुक्तराज्य अमेरिकाले मध्यचीनमा घातक भाइरसको केन्द्रमा फसेका अमेरिकी कर्मचारी र नागरिकलाई उद्धार गर्न विशेष विमान सेवा शुरु गर्न लागेको जनाएको छ ।
अमेरिकी विदेश मन्त्रालयले उहानस्थित आफ्ना कन्सुलर कार्यालयमा कार्यरत कर्मचारी र अरू अमेरिकीलाई उद्धार गर्न चीनको वुहानतर्फ अमेरिकी विमान मंगलबार प्रस्थान गर्ने बताएको छ ।
रासस–सिन्ह्वा
प्रतिक्रिया