वुहानबाट जापानी नागरिक फिर्ता गरिँदै

वुहानबाट जापानी नागरिक फिर्ता गरिँदै


■ श्याम क्षेत्री, जापान

प्राणघातक नोवेल कोरोना भाइरस महामारी बन्दै गएपछि जापानले चीनबाट आफ्ना नागरिकलाई विमान चार्टर गरेर फिर्ता ल्याउने भएको छ ।

सोमबार जापानी अधिकारीहरुले वुहान शहरका अधिकारीहरुसँग यसबारेमा कुराकानी भइरहेको र संभव भएसम्म मंगलबार जापानीहरुलाई फिर्ता ल्याउने काम सुरु हुने बताएका छन् ।

वुहान प्रान्तमा रहेका जापानीहरुलाई विमानमार्फत मंगलबार टोकियो उतार्ने गरी चिनियाँ अधिकारीहरुसँग छलफल भइरहेको जापानी अधिकारीहरुले बताएका छन् ।

यसैबीच जापानको अल निप्पोन एयरलाइन्सले कोरोना भाइरस संक्रमणको केन्द्र बनेको वुहानको लागि गर्दै आएको सबै उडान रद्द गरेको जनाएको छ ।

जापानको ओसाका, नारिता र हानेडाबाट वुहान प्रान्तको लागि सिधा हवाई उडान हुँदै आएको थियो ।

हाल ७ सय १० जना जापानीहरुले वुहान प्रान्तमा रहेको जानकारी गराएको जापानका परराष्ट्रमन्त्री मोतेगीले बताएका छन् ।

जापान सरकारको तथ्यांकअनुसार ५ सय ६० जना जापानीहरु उक्त शहरमा लामो समयदेखि रहँदै आएका थिए ।

सोमबार जापानको होण्डा कम्पनीले वुहान प्रान्तमा रहेका आफ्ना ३० जना जापानी कर्मचारीहरु फिर्ता ल्याउन चार्टर विमान पठाएको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

१ करोड १० लाख बढी जनसंख्या रहेको वहान प्रान्तमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन चीन सरकारले उक्त शहरबाट मानिसहरुलाई बाहिर जान र बाहिरबाट उक्त शहर पस्न रोक लगाएका छन्स, जसका कारण जापान सरकारले चिनियाँ सरकारसँग समन्वय र अनुमति लिँदा समय लागेकाले मंगलबार अबेरसम्ममा जापानीहरुको फिर्तीको काम सुरु हुने बताएका छन् ।