भारतको दक्षिणी राज्य केरलामा पाँच व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भएको आशङ्का गरिएको स्थानीय स्वास्थ्य अधिकारीहरूले बताएका छन् । उनीहरूलाई केरलाका तिरूवनन्तपुरम, एर्णाकुलम, तृश्शूरस्थित विभिन्न अस्पतालमा एकान्तमा राखी उपचार भइरहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।
तिरूवन्नान्तपुरममा एक व्यक्तिलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ भने एर्णाकुलममा तीन र तृश्शूरमा विरामीलाई एकान्तमा राखी उपचार भइरहेको छ । चीनमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि १५५ उडानमार्फत् ३३ हजार ५५२ यात्रु भारतमा आइसकेका छन् र ती सबैलाई कोरोना भाइरस भए नभएको परीक्षण गरिएको छ ।
चीनबाहिर जापानमा सबैभन्दा पहिले पहिलो कोरोना भाइरसको सङ्क्रमण भएको थियो भने सोमबारसम्म थाइल्याण्डमा आठ, अमेरिका पाँच, अष्ट्रेलियामा पाँच र सिङ्गापुर, ताइवान, मलेसिया, दक्षिण कोरियामा चार चार जना सङ्क्रमित भेटिएका छन् ।
त्यस्तै फ्रान्स र जापानमा तीन/तीन जना भियतनाममा दुई र नेपाल र क्यानाडामा एक एक जनामा कोरोना भाइरसको सङ्क्रमण भेटिएको विश्व स्वास्थ्य संगठन र सम्बन्धित मुलुकका अधिकारीले पुष्टि गरेका छन् । कोरोना भाइरसविरूद्धको प्रभावकारी खोप अझैसम्म उपलब्ध आविस्कार भइसकेको छैन ।
प्रतिक्रिया