विवाह कसका लागि ?

विवाह कसका लागि ?


■ बबिता बस्नेत

केही दिनअघि कार्यालयको टेबुलमा एउटा यस्तो सामान देखियो, जसलाई ओल्टाइपल्टाई गरेर निकैबेर हेरेपछि थाहा भयो– त्यो विवाहको कार्ड रहेछ । सुनौलो मेटलको लामो बुट्टेदार डन्डीजस्तो, बिर्को खोलेर हेर्दा भित्र कागजको पत्र भेटियो जहाँ विवाहको विवरण लेखिएको थियो । केही साथीहरूले ‘यसलाई कति पऱ्यो होला ?’ भन्ने प्रश्न गरे । यसो हेर्दा एउटा कार्डको कम्तीमा तीन हजारजति त पर्थ्यो नै होला । कतिले विवाहका कार्ड पनि कस्ताकस्ता आउन थाले भने, कतिले कार्ड नै यस्तो छ विवाह कस्तो होला भने । कतिले यस्तो कार्ड बाँडेर गरिएको विवाह टुट्यो भने के होला भने । यो पङ्क्तिकारको मनमा चाहिँ विवाहको अवधारणा र अहिले भइरहेका अभ्यास माथि अनेक तर्क–वितर्क खेल्न थाले । विवाह कसका लागि ? अरूलाई देखाउनका लागि या आफ्ना लागि ? अहिले यत्तिका तामझम गरेर बाँडिएको कार्डले भोलि विवाह भएका ती दुलाहादुलहीको जीवनमा के अर्थ राख्छ ?

ठूलो खर्च गरेर मानिसले आफ्ना सन्तानको विवाह गर्ने परिपाटी बढिरहेको छ । समयक्रममा यसलाई घट्ला भन्ने ठानिएको थियो । विशेषगरी यसबीचमा मुलुकमा जे–जस्ता परिवर्तनहरू भए तिनलाई हेर्दा हाम्रा कतिपय सांस्कृतिक परम्पराहरूमा परिमार्जन हुनुपर्ने थियो । तर, राजनीतिक परिवर्तनले सांस्कृतिक परिवर्तन ल्याउन सकेन । हिजो पार्टीमार्फत कुरा छिनेर मञ्चमा मुट्ठी उठाई एक चिम्टी सिन्दुर र एउटा साधारण मालाले आफ्नो विवाह गरेका कतिपय कामरेडहरूले नै अहिले सयौँको सङ्ख्यामा मान्छे बोलाएर भोजभतेर गर्न थाले । उहाँहरूले गर्ने व्यवहार र सजाउने मण्डप हेर्दा कुनै राजा–महाराजाको भन्दा बढी नै होला, कम देखिँदैन । अरूले त पहिलादेखि नै गर्दै आएकै थिए, कुरै भएन, तर कतिपय कामरेडहरूको व्यवहारमा भने अहिले फरक तरिकाले सांस्कृतिक रूपान्तरण आएकाले उल्लेख गरिएको हो । यद्यपि, मुलुक र समाज परिवर्तनको जिम्मेवारी सबैको बराबरी भएकाले यो कुनै वर्ग, समुदाय या राजनीतिक आस्था राख्ने व्यक्तित्वहरूको मात्रै जिम्मेवारी भने होइन । हामी जो जहाँ छौँ, हामी सबैको कर्तव्य हो, जिम्मेवारी हो ।

पुस्तक विमोचन, अन्तरक्रिया कार्यक्रम हुन् कि कसैको विवाह छुट्याउनै मुस्किल पर्ने गरी आयोजना गरिने यस्ता भोजभतेरले के हुन्छ ? के सन्देश दिन्छ ? भनेर सोच्दा खासै अर्थपूर्ण सन्देश भेटिँदैन ।

विवाह, ब्रतबन्ध, पास्नीजस्ता कुरा मानिसका नितान्त पारिवारिक र आफ्नो वरिपरिका मानिसहरूबीच मनाइने सांस्कृतिक उत्सव हुन् । कुनै पनि व्यक्तिको खुशीमा परिवारका सदस्य, नातेदार, आफन्त र निकटवर्तीहरू जम्मा भएर खुशी साट्नु स्वाभाविक हुन्छ । दुःखमा पनि सहयोग चाहिने उनीहरूकै हो । तर, हामीकहाँ दिनप्रतिदिन विवाहका भोजहरू पनि सार्वजनिक व्यक्तित्वहरूले भरिभराउ हुन थालेका छन् । पुस्तक विमोचन, अन्तरक्रिया कार्यक्रम हुन् कि कसैको विवाह छुट्याउनै मुस्किल पर्ने गरी आयोजना गरिने यस्ता भोजभतेरले के हुन्छ ? के सन्देश दिन्छ ? भनेर सोच्दा खासै अर्थपूर्ण सन्देश भेटिँदैन । विवाह पहिलाजस्तो सहज छैन र पहिलाजस्तो असहज पनि छैन । सहज यस अर्थमा छैन कि विवाहहरू टुट्ने क्रममा वृद्धि भइरहेको छ । असहज यस अर्थमा छैन कि विवाहका लागि पहिलाजस्तो घर, थर, आफन्त, कुल–खान्दान हेरेर, सोधीखोजी गरेर लामो प्रक्रियामा जानैपर्दैन । सामाजिक सञ्जालबाटै भेट भएकाहरूबीच पनि धमाधम विवाह हुन थालेका छन् । छोटो प्रक्रियाबाट भएका विवाहका चुनौतीहरू पनि त्यत्तिकै छन् ।

विवाह किन गर्ने ? भावनात्मक साथका लागि ? आर्थिक रूपले सुरक्षित हुनका लागि ? शारीरिक, मानसिक, मनोवैज्ञानिक कारणले ? सँगै जिन्दगी बिताउनका लागि ? वंश परम्परा धान्नका लागि ? केका लागि ? यी सबै कुराको ‘प्याकेजमै समाधान’का लागि ? यी र यस्ता केही प्रश्नमा स्पष्ट नभईकन गरिएका विवाहहरू भ्रममा बसुन्जेल ठीक, भ्रम टुटेपछि बेठीक बन्ने गरेका छन् । आफूले गरेका कुनै पनि अपेक्षा पूरा भएनन् भने के गर्ने ? भन्ने पूर्वतयारी हरेक मानिसमा हुन आवश्यक हुन्छ, जुन कुराको कमी हामी सबैमा छ ।

प्रेमको पूर्णतः अन्त्य भएर औपचारिक रूपमा नटुटे पनि कतिपय विवाह आफ्ना लागि नभएर अरूलाई देखाउनका लागि जीवित छन् । सन्तानको भविष्य बिग्रिएला भनेर आफ्नो वर्तमान नबाँच्नेहरूको सङ्ख्या हाम्रो समाजमा दिन प्रतिदिन बढिरहेको छ ।

श्रीमतीले खाना बनाएर खुवाउँछिन्, घर सम्हाल्छिन् भनेर गरिएको विवाह भोलि श्रीमतीले ती कार्य गर्न नसक्ने अवस्था आयो भने के गर्ने ? उनलाई कुनै दीर्घ रोग लाग्यो भने के गर्ने ? यही कुरा पतिको सवालमा पनि लागू हुन्छ । आर्थिक वा भावनात्मक सुरक्षा दिन्छ भनेर गरिएको विवाहमा यी दुवै कुरा प्राप्त गर्न नसक्ने अवस्था आएमा के गर्ने ? विवाहमा जे–जे गरे पनि परिणामचाहिँ दुईजना व्यक्तिले भोग्नुपर्ने कुरा हो । राम्रो, नराम्रो, दुःख–सुख, जे अपेक्षाले विवाह गरिएको हो ती अपेक्षाहरू पूरा भएनन् भने के गर्ने ? यी प्रश्नहरूको जवाफ नखोजीकन गरिएका कारण अहिले विवाहमा समस्या पनि आइरहेका छन् । यतिसम्म कि कतिपय अवस्थामा विवाह प्रेमको अन्त्य हुने सबैभन्दा उपयुक्त माध्यम पनि बन्ने गरेको छ ।

विवाहपछि धेरै प्रेम–सम्बन्धहरू सम्बन्धहीन बन्न पुगेका छन् । प्रेमको पूर्णतः अन्त्य भएर औपचारिक रूपमा नटुटे पनि कतिपय विवाह आफ्ना लागि नभएर अरूलाई देखाउनका लागि जीवित छन् । सन्तानको भविष्य बिग्रिएला भनेर आफ्नो वर्तमान नबाँच्नेहरूको सङ्ख्या हाम्रो समाजमा दिन प्रतिदिन बढिरहेको छ । विवाहलाई सामान्यतया पति–पत्नीबीचको सम्झौता मानिन्छ । सम्झौता हो… यस्तै त हो… सबैको उस्तै देख्छु… को पो खुशी छन् र ? यत्तिका वर्ष बितिसक्यो… अर्को मान्छे राम्रो पर्छ भन्ने के ग्यारेन्टी छ र… जिन्दगीको पहाड एक्लै छिचोल्न सकिएला र ? … होइन बुढेसकालमा त साथी चाहिन्छ… यस्तैयस्तै सोचेर टुट्न लागेका वैवाहिक सम्बन्धलाई जोडेर बस्नेहरू हामी वरिपरि धेरै छन् । एक–अर्काको स्वतन्त्र अस्तित्वलाई स्वीकार गरेर अघि बढ्न सक्यो भने विवाह समाजको सबैभन्दा सुन्दर संस्था हो ।

दुलही पक्षबाट लाने गरिएका गहना, कपडालगायतका सामग्री हेर्दा एक पक्ष दिने र अर्को पक्ष लिने दृश्य देखिन्छ । यस्तो दृश्य जहाँ दिनेको भन्दा लिनेको हात माथि हुन्छ । यस्ता ढोंगहरूबाट अब समाजलाई मुक्त गर्नुपर्छ ।

यस्तो सुन्दर संस्था निर्माण गर्ने क्रमका हाम्रा रीतिरिवाजहरू देखावटी नभएर व्यावहारिक हुन जरुरी छ । मलाई उसको छोराको विवाहमा बोलाएको थियो, त्योभन्दा राम्रो गरेर उसलाई मेरो छोरीको विवाहमा बोलाउँछु भन्ने खालको हुनुहुँदैन । विवाहको सन्दर्भमा चर्चा गर्नैपर्ने अर्को कुरा दाइजो हो । हिजो तराईमा सीमित रहेको दाइजो अहिले दराजका नाममा, गहनाका नाममा, टीभी, खाट, ऱ्याक, मोटरसाइकल, गाडीका नाममा सबैतिर व्याप्त हुँदै छ । आफूसँगै रात बिताउने पत्नीलाई सुत्न खाट उसले माइतबाट ल्याउनुपर्छ भने त्यो पतिको आत्मसम्मान कहाँ रहन्छ ? पुरुषहरूले अब यस्ता कुरा सोच्नुपर्छ । पहिला जग्गेमै यस्ता कुरा सजाइन्थ्यो, अहिले विवाहअघि नै दुलही पक्षबाट दुलाहाको घरमै गएर कोठामा सामान मिलाइदिने गरिएको छ । यो लाजमर्दो अवस्थाको अन्त्य कम्तीमा लाखौँ खर्च गरेर भोज गर्नेहरूले गर्नुपर्छ ।

छोराको विवाहमा भोजमा लाखौँ खर्च गर्ने, उसले प्रयोग गर्ने पर्दा, कार्पेटचाहिँ दुलहीको माइतीले हालिदिनुपर्ने अचम्मको संस्कार छ, बढिरहेको छ । सम्धिनी भेटका नाममा हुने नाटक त्यस्तै पीडादायी लाग्छ । सम्धी–सम्धिनीको मुख हेर्ने, ढोगाभेट गर्ने त छोरा र छोरी दुवै पक्षका लागि महत्वपूर्ण हो । तर, दुलही पक्षबाट लाने गरिएका गहना, कपडालगायतका सामग्री हेर्दा एक पक्ष दिने र अर्को पक्ष लिने दृश्य देखिन्छ । यस्तो दृश्य जहाँ दिनेको भन्दा लिनेको हात माथि हुन्छ । यस्ता ढोंगहरूबाट अब समाजलाई मुक्त गर्नुपर्छ । पार्टी धेरै राम्रो भए खानेहरूले यत्रो पैसा कहाँबाट ल्याए होला ? भनी प्रश्न गर्नेछन् र नराम्रो भए यस्तो पार्टी पनि के गरेको ? भन्नेछन् । विवाह अरूलाई देखाउनका लागि नभएर सम्बन्धितहरूले महसुस गर्नका लागि हुनुपर्छ ।