निकुञ्ज र वन क्षेत्रमा गरी एकै दिन दुई गैँडा मरे

निकुञ्ज र वन क्षेत्रमा गरी एकै दिन दुई गैँडा मरे


चितवन राष्ट्रिय निकुञ्जमा मङ्गलबार (१४ माघ) एकै दिन दुई गैँडा मरेका छन् । चालु आर्थिक वर्षमा प्राकृतिक कारणले मरेका गैँडाको सङ्ख्या अब १३ पुगेको छ । सोमध्ये दुई राष्ट्रिय वन क्षेत्रमा र अन्य निकुञ्ज क्षेत्रमा मरेका हुन् ।

निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार निकुञ्जको तमासपुर क्षेत्रमा अन्दाजी १८÷२० वर्षको पोथी गैँडा मृतावस्थामा फेला परेको हो । अर्को एक गैँडा सुखीभार क्षेत्र नजीक मृतावस्थामा फेला परेको छ । बताइए अनुसार सो गैँडा ३० वर्षको पोथी हो । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठका अनुसार तमासपुरमा भेटिएको गैँडा विषाक्त खानाका कारणले मरेको प्रारम्भिक अध्ययनमा देखिएको छ । विषाक्त घाँस खाएर गैँडा मरेको हुन सक्ने श्रेष्ठको भनाई छ । अर्को गैँडा मर्नाको कारण खुल्न सकेको छैन ।

गत आर्थिक वर्षमा ४३ गैँडा प्राकृतिक कारणले मरेका थिए । आर्थिक वर्ष २०७४÷७५ मा २६ र २०७३÷७४ मा २५ गैँडा कालगतिले मरेका थिए । गैँडाको मृत्युदर उच्च भएपछि निकुञ्ज विभागले मृत्युको कारण अध्ययन गर्न समिति बनाएर काम गरिरहेको छ ।

विगत केही वर्षयता चोरीसिकारीबाट गैँडा मारिएका छैनन् तर कालगतिले मर्ने क्रम बढेपछि संरक्षणको क्षेत्रमा चिन्ता व्यक्त गरिएको छ । यसैगरी माउले छाडेका दुई बच्चालाई उद्धार गरी राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा राखिएको छ । श्रेष्ठलाई उद्धृत गर्दै राससले जनाएअनुसार एउटा अन्दाजी तीन हप्ताको पोथी तमासपुर क्षेत्रबाट र अर्को चार महिनाको भाले बच्चा सौराहा नजीकैबाट उद्धार गरी राखिएको छ ।