राष्ट्रपति ट्रम्पलाई हराउन खोज्नेहरू आफैँ विभाजित छन् : मत सर्वेक्षक जोग्बी

राष्ट्रपति ट्रम्पलाई हराउन खोज्नेहरू आफैँ विभाजित छन् : मत सर्वेक्षक जोग्बी


■ मनोज रिजाल, न्युयोर्क

एक अन्तर्राष्ट्रिय मत सर्वेक्षक र मत सर्वेक्षण गर्ने प्रख्यात संस्था जोन जोग्बी स्ट्राटेजिजका संस्थापक जोन जोग्बीले यही वर्षान्त (नोभेम्बर २०२०)मा हुने अमेरिकी राष्ट्रपतिको चुनावमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले विजय प्राप्त गर्न सक्ने सम्भावनाका साथै असङ्ख्य चुनौती पनि विद्यमान रहेको, तथापि उनका विपक्षीहरू एक–आपसमै राम्रैसँग विभाजित रहेकाले ट्रम्पलाई हराउन गाह्रै पर्ने तथ्य बाहिर ल्याएका छन् ।

‘राष्ट्रपति ट्रम्प पुनः निर्वाचित हुन सक्छन् । उनी राम्रैसित पुनः निर्वाचित हुन सक्छन् । उनका विपक्षीहरू कैयौँ चिरामा विभक्त रहेकाले उनको पुनः निर्वाचनको सम्भावना बढेर गएको हो,’ मत सर्वेक्षक जोग्बीले भनेका छन् ।

विपक्षी डेमोक्रेटिक पार्टीले ‘अहिलेको अवस्थामा’ कडा टक्कर हुने चार वा पाँच राज्यहरूमा अघि रहेको देखिए तापनि चुनाव आउन अझै महिनौँ बाँकी छ र त्यतिन्जेलसम्ममा अवस्था बिल्कुलै परिवर्तन हुन सक्छ,’ जोग्बीले भनेका छन् ।

‘कडा टक्कर हुने राज्यहरूमा चार, पाँच वा सात अङ्कले डेमोक्र्याटहरूले मत सर्वेक्षणमा उछिनिरहेका छन् । तर, यो अवस्था वर्तमानमा मात्रै हो । चुनावमा डेमोक्रेटिक पार्टीको विजय सुनिश्चित गर्न यो नै काफी छैन,’ मत सर्वेक्षक जोग्बी भन्छन् ।

जोग्बीको सर्वेक्षणअनुसार डेमोक्रेटिक पार्टी वर्तमान अवस्थामा पेन्सिलभेनिया, मिचिगन र विस्कन्सिन राज्यमा अघि देखिएको छ, तर आयोवा र फ्लोरिडा राज्यमा भने राष्ट्रपति ट्रम्प नै अगाडि देखिएका छन् ।

उनका अनुसार डेमोक्रेटिक पार्टीमा केही यस्ता कारक तत्व छन् जसले गर्दा यो पार्टीभित्र ठुल्ठूला भिन्नता र विभाजनहरू छर्लङ्ग हुँदै गएका छन् ।

उदाहरणका लागि सन् १९६८ देखि डेमोक्रेटिक पार्टीमा नरम वा मध्यमार्गी (मोडरेट) संस्थापन पक्ष र प्रगतिशील वाम धार (लेफ्ट) समेत गरी दुई स्पष्ट सैद्धान्तिक लाइनहरू देखिएका छन् । अहिलेको राष्ट्रपतीय चुनावमा मध्यमार्गी संस्थापन पक्षलाई जो बिडेनले प्रतिनिधित्व गर्छन् भने प्रगतिशील वामधारको प्रतिनिधित्व बर्नी स्यान्डर्सले गरेका छन् ।

यसैगरी, राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक पार्टीकी पूर्वउम्मेदवार हिलारी क्लिन्टनले स्यान्डर्सका विरुद्धमा जसरी बोलिरहेकी छिन्, त्यसले डेमोक्रेटिक पार्टीको राष्ट्रपतीय अभियानलाई डुबाउने त होइन ? भन्ने आशङ्कासमेत उब्जाएको छ ।

डेमोक्र्याटहरूले आफ्ना आन्तरिक मुद्दाहरूलाई समाधान गर्न सकिरहेका छैनन् । हिलारी म बर्नी स्यान्डर्सलाई भोट हाल्दिनँ भन्छिन् भने डेमोक्रेटिक पार्टीको संस्थापन पक्षले बर्नी स्यान्डर्सलाई खासै धेरै भोट दिने छाँटकाँट देखिँदैन । यो अवस्थाले सन् १९७२ को अवस्थालाई दोहोऱ्याउन सक्छ, जहाँ जर्ज मक्गभर्नले पार्टीको मनोनयन त जितेका थिए तर पार्टीको संस्थापन पक्षले उनलाई राष्ट्रपतीय चुनावमा खासै सहयोग गरेको थिएन ।

परिणामस्वरूप डेमोक्रेटिक पार्टीका राष्ट्रपतीय उम्मेदवार जर्ज मक्गभर्न रिपब्लिकन पार्टीका उम्मेदवार रिचार्ड निक्सनद्वारा विशाल मतअन्तरले पराजित बन्न पुगेका थिए । उक्त राष्ट्रपतीय चुनावमा निक्सनले ५० मध्ये मेसाचुसेट्सबाहेकका सबै ४९ राज्यका इलेक्टोरल भोटहरू प्राप्त गर्दै विजयी भएका थिए । राजधानी वासिङ्टनडिसीमा भने मक्गभर्न विजयी भएका थिए । लोकप्रिय मतको ६० प्रतिशतभन्दा बढी मत पनि निक्सनले नै प्राप्त गरेका थिए ।

हिलारीले हालसालै एक कार्यक्रममा ‘बर्नी स्यान्डर्सलाई कसैले पनि मन पराउँदैन’ भनी वत्तव्य दिएकी थिइन् ।

चुनावलाई असर पार्न सक्ने तथ्यहरूको सन्दर्भमा डेमोक्रेटिक पार्टीभित्रको आन्तरिक विभाजनका अतिरिक्त वर्तमान राष्ट्रपति ट्रम्पको लोकप्रियताको पारो बढ्ने हो वा ओरालो लाग्ने हो भन्ने तथ्यले पनि आगामी राष्ट्रपतीय चुनावको रूपरेखा तयार पार्नेछ ।

‘राष्ट्रपति ट्रम्पले सन् २०१६ मा ४६ प्रतिशत लोकप्रिय मत हासिल गरी विजयी भएका थिए । यही हाराहारीमा उनले सन् २०२० को चुनावमा पनि लोकप्रिय मत प्राप्त गरे उनको विजयी बन्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन । तर, यदि उनको सर्वप्रियता वा सर्वस्वीकार्यता (अप्रुभल) रेटिङ ४० वा ४१ प्रतिशतमा झ¥यो भने यसले राष्ट्रपति ट्रम्पलाई आगामी चुनावमा असर पार्न सक्छ, खासगरी कडा टक्कर हुने राज्यहरूमा,’ जोग्बीले भनेका छन् ।

जोग्बीले फरेन प्रेस सेन्टरद्वारा वासिङ्गटनडिसीमा आयोजित अन्तर्राष्ट्रिय पत्रकारहरूसँगको एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा चुनावसम्बन्धी आफ्ना भनाइहरू राखेका थिए । न्युयोर्कका अन्तर्राष्ट्रिय पत्रकारहरू भिडियो कन्फरेन्सको माध्यमबाट उक्त कार्यक्रममा सहभागी भएका थिए ।

खासगरी, आयोवा राज्यमा यही फेब्रुअरी ३, २०२० मा हुन गइरहेको दुवै पार्टीहरूको राष्ट्रपतीय उम्मेदवारहरू छनोट गर्ने प्रक्रिया (आयोवा ककस) को सन्दर्भमा उनको अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

राष्ट्रपतीय उम्मेदवारहरू मनोनयन गर्ने सन्दर्भमा दुबै दलहरूको निम्ति आयोवा ककस एक महत्वपूर्ण पहिलो कदम हो । यद्यपि, राष्ट्रपतीय उम्मेदवारहरूको अन्तिम छनोट भने रिपब्लिकन र डेमोक्रेटिक दुवै दलहरूको आ–आफ्नो राष्ट्रिय सम्मेलन (नेसनल कन्भेन्सन) ले गर्दछ ।

सन् २०१६ को राष्ट्रपतीय चुनावको सन्दर्भमा आयोजना गरिएको आयोवा ककसमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टन (४९.८ प्रतिशत) प्रतिद्वन्द्वी बर्नी स्यान्डर्स (४९.६ प्रतिशत) लाई झिनो मत अन्तरले पराजित गर्दै विजयी भएकी थिइन् ।

यसैगरी, रिपब्लिकन पार्टीको तर्फबाट टेड क्रुज (२७.७ प्रतिशत) राष्ट्रपति ट्रम्प (२४.३ प्रतिशत) लाई पराजित गर्दै विजयी भएका थिए । रिपब्लिकन पार्टीको आन्तरिक प्रतिस्पर्धामा क्रुजले ५० मध्ये १२ राज्यको नतिजा आफ्नो हातमा पारेका थिए भने राष्ट्रपति ट्रम्पले बहुमत राज्यमा विजय प्राप्त गर्दै मनोनयन आफ्नो नाममा पारेका थिए ।

यसपालिको चुनावलाई लक्षित गर्दै विपक्षी डेमोक्रेटिक पार्टीले विसकन्सिन राज्यको मिलवाकीमा यही जुलाई सन् २०२० मा आफ्नो राष्ट्रिय सम्मलेन गर्दै छ । यसैगरी, सत्तारुढ रिपब्लिकन पार्टीले नर्थ क्यारोलाइना राज्यको चार्लोट्समा यही अगस्ट सन् २०२० मा आफ्नो राष्ट्रिय सम्मेलन गर्दै छ ।

तत्पश्चात् दुवै राष्ट्रिय सम्मेलनबाट छनोट भएका डेमोक्रेटिक र रिपब्लिकन पार्टीका एक–एकजना उम्मेदवारले आगामी नोभेम्बर २०२० मा राष्ट्रपतीय कार्यकाल (२०२१–२४) को लागि चुनावी प्रतिस्पर्धा गर्नेछन् ।


(फोटो सौजन्य : फरेन प्रेस सेन्टर)