‘पोस्ट इन्भेष्टमेन्ट समिट इन्डिया-नेपाल बीटूबी मिट’ बैठक सम्पन्न

‘पोस्ट इन्भेष्टमेन्ट समिट इन्डिया-नेपाल बीटूबी मिट’ बैठक सम्पन्न


काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल लगानी बोर्ड र नेपाल-भारत उद्योग वाणिज्य संघसँगको सहकार्यमा काठमाडौंमा ‘पोस्ट इन्भेष्टमेन्ट समिट इन्डिया-नेपाल बीटूबी मिट’ को आयोजना गरेको छ ।

मंगलबार (१८ वैशाख) आयोजित सो बैठकमा ऊर्जा, कृषि, निर्माण, पर्यटन, कोल्ड चेन, मेडिकल उपकरण, वित्त, परामर्श र कानून क्षेत्रलाई समेट्दै मिलेनियम इन्डिया इन्टरनेशनल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एमआईसीसीआईए) र नेपाल-भारत उद्योग वाणिज्य संघका ३५ जना प्रतिनिधिले सहभागिता जनाएका थिए ।

कार्यक्रममा मन्तव्य दिँदै नेपाल-भारत उद्योग वाणिज्य संघकी अध्यक्ष सृजना राणाले भारतीय र नेपाली व्यापारबीच सहकार्यका लागि जलविद्युत, पर्यटन र कृषि सम्भावना बोकेको क्षेत्रको रुपमा रहेको बताइन् ।

यस्तै, मिलेनियम इन्डिया इन्टरनेशनल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एमआईसीसीआईए) का अध्यक्ष राजदूत अनिल त्रिगुनायतले पछिल्लो द्विपक्षीय कनेक्टिभिटी पहलको सराहना गर्दै भारत-नेपाल आर्थिक साझेदारीलाई अघि बढाउन बीटूबी कनेक्सनको महत्व रहेको धारणा राखे ।

लगानी बोर्डका उपसचिव रमेश अधिकारीले भारतीय लगानीकर्तालाई नेपालमा व्यापार गर्न ढोका खुल्ला रहेको उल्लेख गरे । उनले यही २०८१ वैशाख १६-१७ गतेसम्म बसेको तेस्रो नेपाल लगानी सम्मेलनमा फलदायी छलफलमा सहभागी भएका कैयौं व्यक्तिगत व्यवसायका साथै एफआईसीसीआई, सीआईआई, आईसीसी र एमआईसीसीआईएका ५० भन्दा बढी सदस्यीय बलियो भारतीय प्रतिनिधिमण्डलको प्रशंसा पनि गरे ।

उक्त बीटूबी बैठकमा नेपाल-भारत उद्योग वाणिज्य संघ र एमआईसीसीआईएबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गरियो । नेपालमा लगानी गर्ने भारतीय लगानीकर्ताहरुका लागि लगानी सम्मेलनको एक दिनअघि अर्थमन्त्री वर्षमान पुनद्वारा सार्वजनिक गरिएको तेस्रो संस्करणको पुस्तिकाको प्रतिलिपि भारतीय प्रतिनिधिलाई उपलब्ध गराइएको थियो ।

सो पुस्तिका

https://www.indembkathmandu.gov.in/docs/Invest%20in%20Nepal_d020%20(final).pdf

मा गएर डाउनलोड गर्न सकिन्छ ।