पाकिस्तानद्वारा अफगानिस्तानसँगको मुख्य नाका बन्द

पाकिस्तानद्वारा अफगानिस्तानसँगको मुख्य नाका बन्द


पाकिस्तानले छिमेकी मुलुक अफगानिस्तानसँगको मुख्य नाका ‘अनिश्चितकाल’का लागि बन्द गरेको छ । अफगानिस्तान र पाकिस्तानबाट आवतजावत गर्ने मुख्य नाकाका रूपमा रहेको तोर्खाम नाका पाकिस्तानले ‘अस्थायी’ रूपमा बन्द गरेको हो ।

‘सुरक्षाको कारण’ देखाउँदै नाका बन्द गरिएको त्यहाँका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता अइशा फारुक्वीले अफगानिस्तानसँगको नाकास्थलमा आवतजावत गर्न नमिल्ने गरी बन्द गरिएको बताएका छन् ।

‘हामीले अफगानिस्तानसँग कुराकानी गर्ने र सम्पर्क गर्ने गरिरहेका छौँ, अहिले बन्द गरिएको नाका चाँडै नै खुला हुन्छ भन्ने विश्वास लिएका छौँ’, उनले भनेका छन् । नाका बन्द भएपछि पाकिस्तान तथा अफगानिस्तान दुवैतर्फ ठूलो सङ्ख्यामा आमनागरिक तथा सवारी साधनहरु अलपत्र परेको पत्रकार राहत शिन्वारीले जानकारी दिएका सिन्ह्वाले जनाएको छ । नाका अहिले बन्द अवस्थामै रहेको छ ।

अफगानिस्तानको पूर्वी नानगार्हार प्रान्तका अधिकारीहरुले पनि सीमानाका बन्द गरिएको पुष्टि गरेका छन् । नानगार्हारका प्रवक्ता अतुल्लाह खोग्यानीले दुवै देशका अधिकारीहरुका बीचमा कुराकानी भइरहेको जानकारी दिएका छन् । उनीहरुले नाका पुनः खुला गर्ने बारेमा पनि कुरा गरेका खोग्यानीको भनाइ छ ।