‘पूर्ण पृथक’ हुँदा बेलायत कमजोर बन्ने ईयूको धारणा

‘पूर्ण पृथक’ हुँदा बेलायत कमजोर बन्ने ईयूको धारणा


युरोपेली सङ्घ (ईयू)बाट बेलायतको बहिर्गमनपछिको नयाँ बिहानीबारे छलफल गर्न शुक्रबार (३१ जनवरी) ब्रसेल्समा भेला भएका उच्च अधिकारीले ब्रेक्जिटपछि बेलायतले ईयूसँग निकट रहँदाको लाभ गुमाउने बताएका छन् ।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले आफूहरूले संयुक्त अधिराज्य (बेलायत)सँग सकेसम्म राम्रो सम्बन्ध कायम होस् भन्ने चाहेको तर समूहको सदस्य रहँदाजस्तो कहिल्यै हुन नसक्ने तर्क गरे । ईयू परिषद्का अध्यक्ष चाल्र्स मिसेल र युरोपेली संसद्का सभामुख ड्याभिड सासोलीसँगै उभिएर उनले भने– ‘एकताका कारण ईयूले विश्वमा राजनीतिक सम्मान हासिल गरेको हो र विश्वको आर्थिक शक्तिकेन्द्र बनेको हो ।’

युरोप अनुभवले आफूहरूलाई ‘पूर्णरूपमा पृथकता’ मा शक्ति क्षीण हुने तर अद्वितीय एकतामा बल हुने कुरा सिकाएको उनको धारणा छ ।

‘पूर्ण पृथक’ भन्ने वाक्यांश बेलायतको विश्वव्यापी व्यापारिक साम्राज्य भएका समय १९ औँ शताब्दीको युरोपेली मुख्य भूमिको राजनीतिबाट टाढा रहने विदेश नीतिसँग सम्बन्धित रहेको छ । बेलायतले ग्रीनवीच समयअनुसार शुक्रबार राति ११ बजे युरोपेली सङ्घ छोड्ने छ । ब्रसेल्सको मध्यरात अर्थात् १२ बजे ईयूबाट बेलायत बहिर्गमन भए पनि आगामी ११ महिनाको सङ्क्रमणकालमा ईयू नियमको व्यापार, यात्रा र व्यवसायसम्बन्धी अधिकांश कानूनलाई पालना गर्नुपर्ने एएफपीले जनाएको छ ।

बहिर्गमन हुनुभन्दा करिब एक घण्टा पहिले प्रधानमन्त्री बोरिस जोसनले अर्को हप्ता बेलायतको भाबी व्यापार सम्झौताका लागि वार्ता प्राथमिकताहरू खुलासा गर्ने अपेक्षा गरिएको छ । ब्रसेल्सले पनि आगामी एक साताभित्र व्यापार सम्झौताका विषयमा सहमति गरिने भोन डर लेनले पनि बताए ।

‘सोमबार, हामी हाम्रो इतिहासमा नयाँ पृष्ठ खोल्नेछौँ, आयोगले वार्ताका लागि आफ्नो धारणा प्रस्तुत गर्नेछ’, सञ्चारकर्मीहरूसँग उनले बताए– ‘हामी संयुक्त अधिराज्यको साथ उत्तम साझेदारीको चाहना गर्छौँ तर यो स्पष्ट छ कि त्यहाँ सधैँ विचारमा भिन्नता रहनेछ । युरोपेली सङ्घको सदस्य हुनुलाई गाह्रो छ । सङ्घमा सामथ्र्य छ ।’