भारतको केन्द्र सरकारले ३०.४२ ट्रिलियन भारतीय रूपैँयाको वार्षिक वजेट शनिबार (१ फरवरी) सार्वजनिक गरेको छ । सरकारले आफ्नो प्रतिबद्धता अनुसार गुणस्तरीय जीवन र मुलुकको आर्थिक सुधारलाई लक्षित गरी बजेट सार्वजनिक गरेको दाबी गरेको छ ।
त्यसैगरी, अप्रिल १ बाट सुरू हुने बजेटको आम्दानी २२.४६ ट्रिलियन हुने प्रक्षेपण भारत सरकारले गरेको छ । केन्द्र सरकारले लगानी अभिवृद्धिका लागि राजस्व सङ्कलनमा महत्वपूर्ण कदम चालेको दाबी गरिएको छ, तर प्रक्षेपित कर सङ्कलन सकारात्मक लयमा आउनका लागि केही समय लाग्ने अनुमान सरकारले गरेको छ ।
आर्थिक वर्ष २०२०–०२१ का लागि सरकारले लिने ऋणको धेरै अंश भने पूँजीगत खर्चमा प्रयोग गरिने र पूँजीगत खर्च २१ प्रतिशतले बढ्ने अनुमान सरकारले गरेको एएनआईले जनाएको छ ।
केन्द्र सरकारका अर्थमन्त्री निर्मला सितारमणले सरकारले आर्थिक वृद्धिका लागि विभिन्न आधारहरू तय गरेको बजेट सम्बोधनमा बताइन् । जारी परिस्थितिको आधारमा सरकारले आर्थिक वर्ष २०२०/०२१ का लागि कुल ग्राहस्थ उत्पादनको १० प्रतिशत वृद्धि रहने अनुमान गरेको छ ।
सरकारको संशोधित अनुमान अनुसार चालु आर्थिक वर्षको खर्च २६.९९ ट्रिलियन भारतीय रूपैँया र सरकारी आय १९.३२ ट्रिलियन रहने छ ।
प्रतिक्रिया