चीनमा कोरोनाबाट ३०४ को मृत्यु, १४ हजार पाँच सय संक्रमित पाँच करोड त्रासमा

चीनमा कोरोनाबाट ३०४ को मृत्यु, १४ हजार पाँच सय संक्रमित पाँच करोड त्रासमा


कोरोना भाइरसका कारण चीनबाहिर फिलिपिन्समा पहिलो व्यक्तिको मृत्यु भएको छ । विश्वभर त्रास फैलाएको कोरोना भाइरसबाट चीनमा मात्र मृत्यु हुनेको संख्या ३०४ पुगिसकेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । कोरोना भाइरस फैलन नदिन विश्वका धेरै मुलुकले चीनसँगको आवातजावतमा कडाइ गरिसकेका छन् ।

गत वर्षको अन्त्यतिर मध्य चीनको उहानबाट फैलिएको कोरोना भाइरस चीनमा मात्र १४ हजारमा संक्रमित भएको छ भने विश्वका २४ मुलुकमा देखापरेको छ । चीनले उहानबाट भाइरस अन्यत्र फैलिन नदिन विशेष सतर्कता अपनाएको छ, तर भाइरस फैलिन छाडेको छैन । चीन सरकारले उहानसमेत धेरै शहर बजारमा मानिसको आवतजावत रोक्नुका साथै सवारीसाधन बन्द गरेको छ ।

विश्व स्वास्थ्य संगठनले बिहीबार मात्र कोरोना भाइरसका कारण विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको छ । संयुक्तराज्य अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड र इजरायलले चीनबाट आउने व्यक्तिलाई प्रवेश निषेध गरेका छन् भने आफ्ना नागरिकलाई पनि चीन भ्रमण नगर्न चेतावनी दिएका छन् ।

मंगोलिया, रसियाले सीमानाका बन्द गरेका छन्, र पपुवान्युगिनीले एसियाली मुलुकका हवाई वा बन्दरगाहबाट आउने जोसुकै व्यक्तिलाई प्रवेशमा रोक लगाएको छ । हाल कोरोना भाइरसको फैलने दरमा कमी आएको छ, तर पूर्ण रुपमा रोकिएको छैन । फिलिपिन्समा मृत्यु भएका व्यक्ति पनि उहानबाट गएका ४४ वर्षीय चिनियाँ नागरिक नै रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

ती चिनियाँ नागरिकको मृत्यु भएको पुष्टि भएलगत्तै फिलिपिन्स सरकारले चीनबाट आउने विदेशी नागरिकको आवागमन बन्द गर्ने घोषणा गरेको छ । ‘चीनबाहिर कोरोना भाइरसका कारण व्यक्तिको मृत्यु भएको यो पहिलो घटना हो,’ फिलिपिन्सका लागि विश्व स्वास्थ्य संगठनका प्रतिनिधि रविन्द्र अबेयासिंघेले बताए ।

बेलायत, रसिया र स्विडेनले पनि यस साता कोरोना भाइरसका कारण आफ्ना नागरिक संक्रमित भएको जनाएका थिए । चीनमा आइतबारसम्ममा कोरोना भाइरसका कारण ३०४ जनाको मृत्यु भएको चिनियाँ अधिकारीहरूले बताएका छन् । अघिल्लो दिनको तुलनामा थप ४५ जनाको मृत्यु भएको हो । चीनमा दुई हजार ५९० जना नयाँ रोगी पनि फेला परेका छन् जसका कारण कुल संक्रमित व्यक्तिको संख्या १४ हजार पाँच सय पुगेको छ ।

सन् २००२–३ मा चीनमा फैलिएको सार्सभन्दा कोरोना भाइरसका बिरामी धेरै बढी देखिएका छन् । सार्सका कारण विश्वभर ७७४ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा मुख्यतः चीन र हङकङका नागरिक थिए ।

व्यक्तिबाट व्यक्तिमा हावाबाट सर्ने भएका कारण यो भाइरस चाँडै फैलिने गर्दछ । त्यहीकारण करिब एक करोड १० लाख जनसंख्या भएको उहानमा जनवरी २३ देखि मानिसको आवातजावतमा कडाइ गरिएको छ । उहान शहर हुवेई प्रान्तको राजधानी शहर पनि हो । हुवेई प्रान्तका करिब ५ करोड मानिस अहिले कोरोना भाइरसको त्रासमा बाँचिरहेका छन् ।

रासस–एएफपी