मधेशकेन्द्रित दलद्वारा ‘सत्ताको राजनीति’ गरिएको सिके राउतको आरोप

मधेशकेन्द्रित दलद्वारा ‘सत्ताको राजनीति’ गरिएको सिके राउतको आरोप


सत्तारुढ नेकपाको शीर्ष नेतृत्वद्वारा खुला राजनीतिमा उतारिएपछि आफ्नो अध्यक्षतामा ‘जनमत पार्टी’ नामको दल खोलेका सिके राउतले आफू परिस्थितिले उब्जाएको समस्याका कारण राजनीतिमा सक्रिय भएको अभिव्यक्ति दिएका छन् । यसअघि ‘पृथकतावादी’ पात्रको रूपमा समेत चिनिँदै आएका राउतले शनिबार (१८ माघ) सप्तरीको सदरमुकाम राजविराजमा आयोजित आमसभामा आफू कुनै रहरले राजनीतिमा नआएको बरु मधेशको परिस्थितिका कारण राजनीतिमा होमिनु परेको तर्क दिए ।

जनमत पार्टीद्वारा आयोजित उक्त सभामा उनले मधेशका समस्याहरू अहिले पनि ज्यूँको त्यूँ रहेको उल्लेख गर्दै राजनीतिबिना विकास र मधेशको परिवर्तन सम्भव नहुने परिस्थितिका कारण आफू राजनीतिमा प्रवेश गरेको जिकिर गरे । मधेश आन्दोलनको नाममा ५४ जनालाई शहीद गराएर आफूलाई मधेशकेन्द्रित दल भन्ने पार्टीहरुले सत्ताका लागि मात्र राजनीति गरिरहेको आरोपसमेत लगाए ।

समृद्ध मधेशको परिकल्पनालाई साकार गर्न र सम्पूर्ण मधेशीको अधिकार सुनिश्चित गराउन जनमत पार्टीको गठन गरिएको उनको प्रष्टोक्ति थियो ।