प्रतिबन्धित नेकपाका नेतालाई स्वास्थ्य र अर्थले साथ नदिएपछि…

प्रतिबन्धित नेकपाका नेतालाई स्वास्थ्य र अर्थले साथ नदिएपछि…


नेपाल सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको कास्की जिल्ला कमिटि सदस्य एवम् अखिल नेपाल क्रान्तिकारी टेड युनियन महासङ्घका गण्डक ब्युरो संयोजक विजय अधिकारीले पार्टी परित्यागको घोषणा गरेका छन्। आइतबार (१९ माघ) हस्तलिखित एक प्रेस विज्ञप्ति जारी गर्दै उनले आफू पार्टी र सङ्गठनको कुनै पनि जिम्मेवारीमा अब नरहेको जानकारी दिएका छन् ।

जिल्लामा इमान्दार युवा नेताको ख्याति कमाएका उनी पार्र्टीनिकटकै स्वास्थ्य तथा सरसफाइ सङ्गठनका केन्द्रीय संयोजक समेत रहेका थिए। विजय पूर्व जनमुक्ति सेनाका प्लाटुन भिसी हुँदै दुई लाइन संघर्षका क्रममा वैद्य हुँदै पछिल्लो समय विप्लवनेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा सक्रिय थिए।

पेटसम्बन्धी रोगबाट पीडित अधिकारीको ६महिनाको बीचमा दुईवटा सल्यक्रिया गरिएको उनको परिवारिक स्रोतले जनाएको छ। शुरुमा एपेन्डिक्स र त्यसको लगत्तै गत तिहारको मुखमा उनको पित्तको अपरेशन गरिएको बताइएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले प्रतिबन्ध लगाएपछि प्रहरीको नजरमा तारो बन्दै आएका नेता अधिकारीले लगातारको स्वास्थ्य समस्या र पारिवारिक तनावको सामना गरिरहेका थिए। पार्टी प्रतिबन्धित भएको अवस्थामा शुरुमा पार्टीले सबै सहयोग गर्ने बचन दिए पनि खासै सहयोग नगरेको र आफुले आफन्तको घरमा शरणार्थीको रुपमा बसेर नियमित रुपमा स्वास्थ्य संस्थामा चेकजाँच गरिरहेको गुनासो उनले गरेका छन्। उनले यही बीचमा आफुले पारिवारिक रुपमा चरम आर्थिक संकट व्यहोर्नु परेको तीतो यथार्थ पनि व्यक्त गरका छन् ।

पार्टी पंक्ति र संगठनमा निकै इमानदार र लोकप्रिय नेताका रूपमा छवि बनाएका युवा नेता अधिकारीले आगामी दिन स्वतन्त्र रुपमा रही आफ्नो जीवीकोपार्जनको काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन्।

विजय अधिकारीद्वारा जारी प्रेस विज्ञप्ति-