कोरोनाको उद्गम क्षेत्र हुबेईमा पठाइयो आठ हजारभन्दा बढी डाक्टर

कोरोनाको उद्गम क्षेत्र हुबेईमा पठाइयो आठ हजारभन्दा बढी डाक्टर


विश्वभर त्रास फैलाएको कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको हुबेई प्रान्तमा आठ हजारभन्दा बढी स्वास्थ्यकर्मी खटाइएको छ । हुबेईबाट प्राप्त समाचारअनुसार उक्त प्रान्तका विभिन्न क्षेत्रमा ८ हजार ३ सय १० जना स्वास्थ्यकर्मी पठाइएको जनाइएको छ । ६८ वटा मेडिकल समूह बनाएर ती स्वास्थ्यकर्मी त्यहाँ पठाइएको हो ।

आजसम्म चीनमा मात्र यस संक्रमणबाट मृत्यु हुनेको संख्या ३६० पुगिसकेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । अवस्था झन् जटिल बन्दै गएपछि स्वास्थ्यकर्मीहरुको संख्या पनि बढाइएको सो समाचारमा जनाइएको छ । चीनका विभिन्न २९ प्रान्त, स्थानीय निकाय र यहाँका स्वास्थ्य आयोगबाट ती स्वास्थ्यकर्मी खटाइएको यहाँका स्वास्थ्य अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।

ती स्वास्थ्यकर्मीमध्ये ठूलो संख्याका स्वास्थ्यकर्मीलाई विमानस्थलमा राखिएको छ । विमानस्थलमा यस भाइरसको जाँच कडा पारिएको छ । कोरोना भाइरस फैलन नदिन विश्वका धेरै मुलुकले चीनसँगको आवतजावतमा कडाइ गरिसकेका छन् । गत वर्षको अन्त्यतिर मध्य चीनको उहानबाट यो भाइरसको संक्रमण फैलिएको अनुमान गरिएको छ । यस कोरोना भाइरसबाट चीनमा मात्र १४ हजार मानिसमा संक्रमण भएको छ भने विश्वका २४ मुलुकमा यस भाइरस देखापरेको बताइएको छ ।

हुबेई प्रान्तका सहायक गभर्नर सिआयो जुवाले उक्त प्रान्तमा स्वास्थ्य उपचार र सतर्कताको काममा कुनै कसर बाँकी नराखिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनले चीनले उहानबाट भाइरस अन्यत्र फैलिन नदिन विशेष सतर्कता अपनाएको भए पनि भाइरस बाहरिएको पनि जानकारी दिए । यता चीनको केन्द्र सरकारले पनि उहानलगायतका धेरै शहर बजारमा मानिसको आवतजावत रोक्नाका साथै सवारीसाधन बन्द गरेको छ ।

सहायक गभर्नर सिआयोले ती चिकित्सक र स्वास्थ्यकर्मी वरिष्ठताका आधारमा पठाइएको र उनीहरू स्वासप्रस्वास र छाती रोगसम्बन्धी विशेषज्ञ रहेको जानकारी दिए । यसरी पठाइएकामा ५७ मेडिकल टिमका करिब सात हजारजना चिकित्सक र स्वास्थ्यकर्मी उहानमा मात्र पठाइएको उनले जानकारी दिए । उहान हुबेईको राजधानी शहर हो र यो सबैभन्दा बढी प्रभावित क्षेत्र पनि हो ।

विश्व स्वास्थ्य संगठनले बिहीबार मात्र कोरोना भाइरसका कारण विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको छ । संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड र इजरायलले चीनबाट आउने व्यक्तिहरूलाई प्रवेश निषेध गरेका छन् भने आफ्ना नागरिकलाई पनि चीन भ्रमण नगर्न चेतावनी दिएका छन् । मंगोलिया र रुसले सीमानाका बन्द गरेका छन् र पपुवान्युगिनीले एसियाली मुलुकका हवाई वा बन्दरगाहबाट आउने जोसुकै व्यक्तिलाई प्रवेशमा रोक लगाएको छ । हाल कोरोना भाइरसको फैलने दरमा कमी आएको छ तर पूर्ण रूपमा रोकिएको छैन ।

फिलिपिन्समा पनि आइतबार एकजनाको ज्यान गएको छ । उनी पनि उहानबाट गएका ४४ वर्षीय चिनियाँ नागरिक नै रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । ती चिनियाँ नागरिकको मृत्यु भएको पुष्टि भएलगत्तै फिलिपिन्स सरकारले चीनबाट आउने विदेशी नागरिकको आवागमन बन्द गर्ने घोषणा गरेको छ । चीनबाहिर कोरोना भाइरसका कारण व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ ।

चीनमा आइतबारसम्ममा कोरोना भाइरसका कारण ३६० जनाको मृत्यु भएको चिनियाँ अधिकारीहरूले बताएका छन् । आइतबार अघिल्लो दिनको तुलनामा थप ४५ जनाको मृत्यु भएको हो । चीनमा दुई हजार ५ सय ९० जना नयाँ रोगी पनि फेला परेका छन् जसका कारण कुल संक्रमित व्यक्तिको संख्या १४ हजार ५०० पुगेको छ । हालसम्म त्यहाँ १७ हजार मानिस संक्रमित भएको बताइन्छ ।
रासस–एएफपी