कोरोना भाइरसका बारेमा वास्ताविकताभन्दा बढी हल्ला चलाएर अमेरिकाले त्रास फैलाएको आरोप चीनले लगाएको छ । चीनबाट सुरु भएको कोरोना भाइरस नियन्त्रण हुन नसकिरहेको विषयलाई अमेरिकाले गलत तरिकाले व्याख्या गरेको चिनियाँ विदेश मन्त्रालयले सोमबार जनाएको हो ।
विदेश मन्त्रालयका प्रवक्ता हु चुन्यीङले विश्व समुदाय जिम्मेबार, शान्त र गम्भीर हुने विश्वास व्यक्त गर्दै वैज्ञानिक तथ्यलाई आधार मान्ने र समस्याको समाधान गर्न तथा सामना गर्न तयार रहनु पर्नेमा पनि जोड दिए । धेरै देशहरुले कोरोना भाइरससम्बन्धी समस्यासँग जुध्न चीनलाई सहयोग गर्न खोजिरहेका र चासो दिइरहेका उनले बताए ।
महामारीबाट जोगिने बलियो क्षमता भएका अमेरिकाजस्ता विकसित देशले नै विश्व स्वास्थ्य सङ्गठनको सिफारिसभन्दा विपरीत प्रतिबन्धहरू लगाउने कार्य गर्नु अस्वभाविक भएको उनको भनाई छ । ज्ञातव्य छ, अमेरिकाले प्रतिबन्ध लगाएलगत्तै अस्ट्रेलियाले पनि आफ्नो देशमा चिनियाँ नागरिकको आवागमनमा प्रतिबन्ध लगाएको छ । हङकङले पनि चीनसँग जोडिएका १३ मध्ये १० वटा सीमाबाट सोमबार मध्यरातदेखि मानिसको आवागमन रोकेको छ ।
विश्व स्वास्थ्य सङ्गठनले खासमा यात्रुहरू अनौपचारिक रूपमा देश प्रवेश गरे त्यसले झन् भाइरसको सङ्क्रमण बढाउन सक्ने भन्दै सीमा बन्द गर्ने निर्णयप्रति सतर्क गराएको छ । गत जनवरी ३० तारिखमा विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी रूपमा स्वास्थ्य सङ्कटकाल घोषणा गरेको थियो । उक्त घोषणापछि अमेरिकाले आफ्ना सबै कर्मचारीका परिवारका २१ वर्षमुनिका सदस्यलाई अमेरिका फर्किन निर्देशन दिएको थियो ।
प्रवक्ता चुन्यीङले कोरोना भाइरसको संक्रमण आफ्नो देशमा नछिरोस भनेर नाकाहरुमा परिक्षण गर्ने, चेकजाँचमा कडाई गर्ने, नाका बन्द गर्ने, चिनियाँ नागरिकलाई प्रवेश नदिने लगायतका कार्यको आफुहरुले सम्मान गर्ने पनि उल्लेख गरेका छन् ।
चीनको हुवेइ प्रान्तअन्तर्गत पर्ने वुहानमा गत डिसेम्बरमा पहिलो पटक देखिएको कोरोना भइरसका कारण अहिलेसम्म चीनका सयौँको मृत्यु भइसकेको छ भने चीनसहित विभिन्न देशका हजारौमा सङ्क्रमण देखिएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार अहिलेसम्म दुई दर्जनभन्दा बढी देशमा यसबाट सङ्क्रमितहरु भेटिएका छन् ।
चीन बाहेक गत आईतबार फिलिपिन्समा एकजनाको यही भाइरसका कारण मृत्यु भएको पुष्टि गरिएको छ । चीनमा १७ हजारभन्दा बढी मानिसमा कोरोनाभाइरस देखा परेको पुष्टि भइसकेको छ भने चीनमा मात्रै करिब ३६१ जनाको ज्यान गइसकेको समाचार एजेन्सीहरुले जनाएका छन् ।

प्रतिक्रिया