लण्डनमा मारिएका युवा आफ्नो लडाकू भएको आइएसको दाबी

लण्डनमा मारिएका युवा आफ्नो लडाकू भएको आइएसको दाबी


इस्लामिक स्टेट (आईएस) लडाकूको समूहले आफ्ना एक जना लडाकू लण्डनमा मारिएको दाबी गरेको छ । लण्डनको व्यस्त दक्षिणी क्षेत्रमा दुई व्यक्तिलाई आक्रमण गरेर घाइते बनाउने एक युवकलाई प्रहरीले गोली प्रहार गरेको र गोली लागी ती युवाको मृत्यु भएको थियो ।

‘दक्षिणी लन्डनको स्ट्रीथम हाई रोडमा सर्वसाधारणलाई आक्रमण गर्ने ती आक्रमणकारी हाम्रो संगठनका लडाकू हुन्’, टेलिग्राम मार्फत् आइएस लडाकूको तर्फबाट जारी गरिएको वक्तव्यमा भनिएको एएफपीले जनाएको छ ।

सुदेश अम्मान नाम गरेका ती २० वर्षीय व्यक्तिले गत आइतबार (२ फेब्रुअरी) दिउँसो सर्वसाधारणलाई अन्धाधुन्ध आक्रमण गरेका थिए । आतङ्कवादसम्बन्धी अभियोगमा जेल परेका ती व्यक्ति घटनाको एक साताअघि मात्र कारागारबाट छुटेका थिए । उनलाई तीन वर्ष चार महिनाको सजाय सुनाइएको भए पनि आधा सजाय भोगेपछि मुक्त गरिएको थियो ।

जेलबाट छुटे पनि अम्मान प्रहरीको सक्रिय निगरानीमा रहेका थिए । प्रहरीका अनुसार अम्मानले एउटा पसलभित्र छिरेर मानिसहरूलाई चक्कु प्रहार गरे । त्यसपछि बाहिर निस्किएर फेरि अर्का एक महिलालाई आक्रमण गरेका थिए ।

यो घटनाले आतङ्कवादसम्बन्धी सजाय खेपिरहेका व्यक्तिहरूलाई गरिने व्यवहारबारे नयाँ व्यवस्था आवश्यक पर्ने ठहर गर्दै प्रधानमन्त्री बोरिस जोनसनले योजना सार्वजनिक गर्ने बताएका छन् ।

गत नोभेम्बर महिनामा पनि लन्डन ब्रिजनजिकै आतङ्कवादको घटनामा दोषी ठहर भएका एक व्यक्तिले चक्कु प्रहार गरेर दुई जनाको मृत्यु भएको थियो । त्यो व्यक्ति पनि आधा सजाय भोगेर जेलबाट छुटेका र प्रहरी कारबाहीमा परी मृत्यु भएको थियो ।

आतङ्कवादसम्बन्धी सजाय खेपिरहेका व्यक्तिहरूबाट एकपछि अर्को यस्ता घटना भएपछि बेलायती सरकारले नयाँ व्यवस्था गर्न लागेको जनाइएको छ ।