एमसिसीको ‘फुलफर्म’ थाहा नभएकाहरुले विरोध गरे : परराष्ट्रमन्त्री ज्ञवाली

एमसिसीको ‘फुलफर्म’ थाहा नभएकाहरुले विरोध गरे : परराष्ट्रमन्त्री ज्ञवाली


परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमसिसीविरुद्ध बाहिर आएका कुरा अनावश्यक, अतिरञ्जित र प्रायोजित भएको बताएका छन् । सरकारले देश र जनताको हितलाई केन्द्रविन्दुमा राखेर यस विषयलाई उठान गरेको छ भन्दै उनले बजारमा अनावश्यक विषयमा बहस गरेर मित्रराष्ट्रसँगको सम्बन्धलाई कसैले पनि तीतो बनाउन नहुने तर्क गरे ।

आज (२१ माघ)देखि गुल्मीमा शुरु हुने स्वास्थ्य बीमा घोषणा कार्यक्रमका सन्दर्भमा गृहजिल्ला पुगेका परराष्ट्रमन्त्री ज्ञवालीले प्रेस सङ्गठन नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपालको राष्ट्रिय हित, जनताको लाभ र देशको विकास जेमा हुन्छ सरकार त्यसैमा अघि बढ्छ भन्दै एमसिसीको विस्तृत रूप (फुलफर्म) थाहा नभएकाहरुले यसका विरुद्धमा बजारमा बहस शुरु गरेको टिप्पणी गरेका राससले जनाएको छ ।

उनले चुइगम चपाउँदा रस सकिएर दाँतमा टाँसिने र त्यसको कुनै स्वाद नहुने जस्तै प्रकृतिको बहस एमसिसीका बारेमा अहिले बजारमा चलिरहेको दाबी गरे ।

पार्टीहरु लोकतन्त्रका आधारस्तम्भ भएको र पार्टीहरु कमजोर हुँदा लोकतन्त्रसमेत कमजोर हुने धारणा राख्दै उनले दुई वर्षको कार्यसम्पादनबाट वर्तमान सरकारको आत्मविश्वास बढ्दै गएको तथा नेकपा अहिलेको सर्वाधिक लोकप्रिय दलका रूपमा स्थापित भएको जिकिर गरे ।

जनताको वर्षौंदेखिको समृद्धिको सपना यही सरकारले पूरा गर्ने दाबी गर्दै मन्त्री ज्ञवालीले त्यसमा कोही पनि द्विविधामा नपर्न आग्रह गरे । नेपाली जनताले वर्तमान सरकारलाई ठूलो जिम्मेवारी सुम्पिएको छ भन्दै उहाँले उक्त जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्न सरकार दृढ रहेको बताए ।