सरकारले पर्याप्त उपलब्धि हासिल गरेको मन्त्री ज्ञवालीको दाबी

सरकारले पर्याप्त उपलब्धि हासिल गरेको मन्त्री ज्ञवालीको दाबी


■ रमेश विश्वकर्मा, गुल्मी
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को बारेमा आवश्यक सूचना, दस्तावेज र आवश्यक ज्ञानको अभाव भएका मान्छेहरुले यसको बिरुद्धमा बोलिरहेको आरोप लगाएका छन् । एमसिसीको बारेमा केही जानकारी नभएका मान्छेहरुले मात्र यसको बिरुद्धमा बोलेको भन्दै उनले भने यसमा कुनै पनि शैन्य रणनीति नजोडिएको बताए ।

मङ्गलबार प्रेस सङ्गठन नेपालले जिल्लाको सदरमुकाम तम्घासमा ओजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले राष्ट्रको हित, विकासको आवश्यकता र मित्र राष्ट्रहरुसँगको सम्बन्धलाई केन्द्रविन्दुमा राखेर यो विषयलाई छिटो टुङ्याउने बताए ।

एमसिसीको विषयलाई लिएर बाहिर आइरहेका अनावश्यक, अतिरञ्जित, अतिप्रायोजित कुराप्रति हामी निकै सजग भएर एमसिसीको बारेमा अध्ययन गर्न लागेका छौँ, जसले एमसिसीको पुरा रुप जान्न सकेका छैनन्, तिनीहरुले नै त्यसको बिरुद्धमा बोलेका छन्’– उनले भने । यो कार्यक्रम ४९ वटा देशमा लागू भएको भन्दै यसबारे अध्ययन गर्न पनि उनले आग्रह गरे ।

सरकारले विकास निर्माणका धेरै कामहरु गरेको बताउँदै मन्त्री ज्ञवालीले भने, ‘पछिल्लो दुई वर्षको अवधिमा सरकारले पर्याप्त उपलब्धि हासिल गरेको छ । यसरी हामीले दुई वर्षको अवधिमा हासिल गरेका उपलब्धि देखेर हामी निकै नै हर्षित भएका छौँ । हामीले थुप्रै काम गर्न पनि बाँकी छन्, यसप्रति हामी निकै गम्भीर छौँ ।’

दुई वर्षको कार्यसम्पादनबाट नेपाल सरकारको आत्मविश्वास बढेको मन्त्री ज्ञवालीले बताए । गएको पाँच महिनामा वैदेशिक लगानी पाँच गुणाले बढेको विगतका वर्षहरुको तुलनामा यो धेरै भएको बताउँदै मन्त्री ज्ञवालीले भने, ‘व्यापार घाटा घटाएका छौँ । विकास निर्माणका कामले निकै तिव्रता पाएका छन् । वर्षौदेखि काम लिने तर काम समयमै सम्पन्न नगर्ने जुन प्रवृत्ति थियो त्यसको अन्त्य भएको छ ।’

वर्तमान सरकारले कामचोर प्रवृत्ति देखाउनेहरूलाई नियन्त्रण गर्ने काम गरिरहेको भन्दै उनले भ्रष्टाचारविरुद्ध सरकारले हमला सुरु गरेको दाबी गरे । भ्रष्टाचार गर्ने जुनसुकै ओहदाका मान्छेलाई वर्तमान सरकारले नछाड्ने दाबी उनको रह्यो ।

मन्त्री ज्ञवाली जिल्लामा स्वास्थ्य विमा आरम्भ कार्यक्रम, रेसुङ्गा नगरपालिका वडा नं. १० र ११ मा सञ्चालित खानेपानीको उदघाटन, रेसुङ्गा नगरपालिका वडा नं. १४ लाई खरको छानामुक्त वडा घोषणा गर्नेलगायतका विभिन्न कार्यक्रममा सहभागिता जनाउँदै छन् ।