कोरोना भाइरसको माहामारी विश्वभर नदेखिएको डब्लूएचओको भनाई

कोरोना भाइरसको माहामारी विश्वभर नदेखिएको डब्लूएचओको भनाई


चीनबाट सुरू भई विश्वका करिब दुई दर्जन मुलुकमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणले अहिले नै विश्वभरि महामारीको रूप नलिएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले बताएको छ ।

डब्लूएचओको सङ्क्रमणजन्य रोगको जोखिमविरूद्धको तयारी शाखाका प्रमुख सिल्भी ब्राएन्डले मंगलबार (४ फेब्रुअरी) जेनेभामा आयोजित एक कार्यक्रममा भनिन्– ‘अहिले हामी कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणको माहामारीको अवस्थामा छैनौँ । तर हामी सङ्क्रमणको महामारीको जोखिमको बहुकेन्द्रित चरणमा रहेका छौँ ।’

कोरोना भाइरसका कारण चीनमा ४९० जनाको मृत्यु भएको छ भने कम्तीमा २५ हजार व्यक्ति यसको सङ्क्रमणका कारण उपचार गराइरहेका छन् । चीनको मध्यक्षेत्र हुबेईको वुहानबाट पहिलो पटक डिसेम्बरमा देखा परेको उक्त भाइरस विश्वका करिब दुई दर्जन मुलुकमा पुगेको भए पनि त्यहाँ सङ्क्रमण महामारीको रूपमा नरहेको उनको भनाइ छ ।

चीनको हुबेईमा शीघ्र सङ्क्रमण भइरहेको भए पनि चीनकै अन्य राज्यमा यसको फैलावट छिटफुट अवस्थामा नै रहेको ब्राएन्डको भनाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

यसैबीच चीनका अधिकारीहरूले सङ्क्रमण नियन्त्रणका लागि प्रभावकारी उपायहरू अवलम्बन गरेका र अन्य प्रभावित मुलुकहरूले पनि भाइरस सङ्क्रमणलाई नियन्त्रणबाहिर जान नदिन यथेष्ट सावधानीहरू अपनाएको पाइएको छ ।

चीनको हुबेईका साथै अन्य भागमा अपनाइएका उपाय र विश्वका अन्य मुलुकहरूले नियन्त्रणका लागि देखाएका गम्भीर सावधानीका कारण छिट्टै सङ्क्रमण रोक्न वा यस भाइरसलाई पूर्णनिर्मूल पार्न सफलता मिल्नेमा डब्लुएचओ विश्वस्त रहेको बताइएको छ ।