नेपाल कम्युनिस्ट पार्टी निरङ्कुश बन्ने बाटोमा

नेपाल कम्युनिस्ट पार्टी निरङ्कुश बन्ने बाटोमा


नेपाल कम्युनिस्ट पार्टीमा प्रचण्ड बलियो हुँदै गएपछि शक्ति र सत्ता केन्द्रीकृत गर्ने सूक्ष्म अभ्यास शुरु भएको छ । केही समययता नेकपाका नेताहरूबाट वर्तमान प्रणालीलाई ‘जनवादी गणतन्त्र’को संज्ञा दिँदै अब समाजवादी क्रान्तिको चरणमा प्रवेश गर्ने अभिव्यक्ति आउन थालेको छ ।

यसअघि ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ भनिएको प्रणालीलाई अहिले ‘जनवादी गणतन्त्र’ भनिनुको कारण खोजियो भने डरलाग्दो नियतको खुलासा हुन सक्छ । हालै सम्पन्न केन्द्रीय समितिको बैठकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख बनाउने विषयले प्रवेश पाएको छ । राष्ट्रपति र प्रधानमन्त्रीमध्ये एकलाई प्रत्यक्ष निर्वाचित कार्यकारी बनाउने अवधारणालाई संसदीय व्यवस्था प्रतिकुल मानिन्छ ।

संसदीय प्रणाली कायम राख्दा जनवादी गणतन्त्रबाट समाजवादी चरणमा प्रवेश गर्न मुस्किल हुने भएकोले रणनीतिक योजनामुताबिक नै ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख’को एजेण्डा पार्टीमा प्रवेश गराएको बुझिन्छ । त्यसैले नेकपामा प्रचण्डको स्थिति सुदृढ भएसँगै उक्त पार्टी पूर्ण रूपले निरङ्कुश बन्ने सम्भावना बढेको छ ।