मंगोलवादका नाममा गोपालको गलफत्ती-चूडामणि गुरुङ

मंगोलवादका नाममा गोपालको गलफत्ती-चूडामणि गुरुङ


आफ्नो राजनीतिक कार्यक्रमलाई ‘मंगोलवाद’ भन्दै आएको मंगोल नेसनल अर्गनाइजेसन नामक सङ्गठनलाई यसका कार्यकर्ता र र्समर्थकले छोटकरीमा एमएनओ भनेर पनि परिचित गराउने गरेका छन् । स्थापना भएदेखि हालसम्म नै गोपाल गुरुङ प्रेसिडेन्ट रहेको यो सङ्गठन अहिले आएर नेपालका समस्त मूलवासी मंगोल समुदायविरुद्ध रहेको र मूलवासी मंगोलमाझ यो सङ्गठनले ठूलो भ्रम र्छर्ने गरेको प्रमाणित भएको छ ।
गोपाल गुरुङले एमएनओको माध्यमबाट अहिन्दु मूलवासी मंगोल समुदायविरुद्ध प्रत्यक्ष र अप्रत्यक्ष रूपमा गतिविधि र क्रियाकलाप गर्दै २२ वर्ष गुजारिसकेका छन् । एमएनओको गठनताका र आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक अवस्था र परिस्थितिमा निकै ठूलो परिवर्तन भइसकेको छ, तर एमएनओ प्रेसिडेन्ट गोपाल गुरुङको सोचमा भने खासै परिवर्तन भएको देखिँदैन । गोपाल गुरुङले एमएनओलाई निर्वाचन आयोगले दर्ता दिएन भनेर मूलवासी मंगोल समुदायमाझ ठूलो भ्रम र्छर्ने काम गरेका थिए । तर, एमएनओका केन्द्रीयसभाका सचिव कृष्णबहादुर तामाङ र भीम गुरुङलगायतका व्यक्तिले संविधानसभाको निर्वाचनअघि एमएनओलाई निर्वाचन आयोगमा गई वैधानिक रूपमा दर्ता गर्ने काम गरेको जगजाहेर नै छ ।
एमएनओ निर्वाचन आयोगमा दर्ता हुने बेला गोपाल गुरुङ आफ्नै घर दार्जिलिङ गएर बसेका थिए । एमएनओ सचिव कृष्णबहादुर तामाङ र भीम गुरुङले चुनावमा भाग लिन आउनुस् भनेपछि मात्र गुरुङ इलाम आएर इलामको निर्वाचन क्षेत्र नं. ३ बाट चुनाव लडेका थिए । जुन क्षेत्रमा नेपाली काङ्ग्रेसका महामन्त्री कुलबहादुर गुरुङ पनि उम्मेदवार थिए । गुरुङ समुदायले गोपाल गुरुङलाई यो क्षेत्रबाट चुनाव नलडी अन्य क्षेत्रबाट लड्न अनुरोध गरेको थियो । यति हुँदाहुँदै पनि गोपाल गुरुङ कुलबहादुर गुरुङविरुद्ध चुनावमा प्रतिस्पर्धा गर्न तम्सिए । यही कारण अहिले त्यस क्षेत्रका गुरुङ गोपाल गुरुङको विरुद्धमा उत्रिएका छन् । उनलाई त्यस क्षेत्रबाट चुनावमा भाग लिनका लागि चाहिने आवश्यक कागजपत्र काठमाडौंबाट हरि तामाङले पठाइदिएका थिए । त्यतिखेर नै थाहा भयो कि एमएनओले निर्वाचन आयोगबाट वैधानिकता नपाउनुको कारण गोपाल गुरुङले निर्वाचन आयोगमा कहिल्यै पनि एमएनओलाई दर्ता प्रक्रियामा लैजाने कोसिस नै नगरेकोले रहेछ । किनकि गुरुङसँग विधान लेख्ने क्षमता पनि रहेनछ । पछिल्लो चरणमा एमएनओले निर्वाचन आयोगमा बुझाएको विधान एमएनओका तत्कालीन सचिव कृष्णबहादुर तामाङले तयार पारेका थिए र केन्द्रीयसभाले त्यो विधानलाई अनुमोदन गरेको थियो । त्यसभन्दा अघि एमएनओलाई निर्वाचन आयोगले दर्ता दिएन भनेर गोपाल गुरुङले प्रपोगण्डा मात्र फैलाएका रहेछन् भन्ने यसरी प्रमाणित भयो ।
संविधानसभाको निर्वाचनताका एमएनओ प्रेसिडेन्ट गोपाल गुरुङको भूमिका शून्य रहेको थियो । निर्वाचनमा गोपाल गुरुङको भूमिका शून्य रहेको देखेपछि सिङ्गो मंगोल समुदाय र गुरुङ समाज उनीसँग आक्रोशित भएका थिए । संविधानसभाको चुनावपछि यो दलको साङ्गठनिक अवस्था शून्यमा रहेको थियो । यति हुँदाहुँदै पनि २०६७ फागुन १५, १६ र १७ गते एमएनओको राष्ट्रिय महाधिवेशन इलामको सदरमुकाम इलाम बजारमा सम्पन्न भयो । उक्त महाधिवेशनमा हजोरौँको सङ्ख्यामा जनताको सहभागिता रहेको थियो । महाधिवेशनमा हजारौँको सहभागिता हुनुको श्रेय एमएनओका केन्द्रीयसभाका तत्कालीन सचिव कृष्णबहादुर तामाङलाई नै जान्छ । एमएनओको महाधिवेशन भएको १९ महिना बितिसकेको छ । तर अहिलेसम्म एकपटक पनि केन्द्रीयसभाको बैठक बस्न सकेको छैन ।
केन्द्रीयसभाको बैठक बस्न नसकेपछि दलको भावी नीति, कार्यक्रम र योजना ठप्प हुन पुगेको थियो । यसरी एमएनओका सबै कार्यक्रम ठप्प हुन पुगेपछि केन्द्रीयसभाका सचिव कृष्णबहादुर तामाङलाई कार्यकर्ताले भावी नीति, कार्यक्रम र योजना बनाएर एमएनओलाई अगाडि बढाउन वा नयाँ पार्टी निर्माण गर्न दबाब दिएपछि तामाङले २०६८ भदौ १५ गते केन्द्रीय सभाबाट राजीनामा दिएका छन् । तामाङले केन्द्रीय सभाबाट राजीनामा गरी मंगोल डेमोक्रेटिक पार्टीको स्थापना गरेका छन् । पार्टीको केन्द्रीय समितिका प्रेसिडेन्टमा एमएनओका पूर्व मूलसचिव किरण याक्तेन रहेका छन् । तामाङले केन्द्रीय सभाबाट राजीनामा दिई मंगोल डेमोक्रेटिक पार्टीको गठन गरेपछि एमएनओ प्रेसिडेन्ट गोपाल गुरुङले तामाङसँग अनुनय/विनय गर्दै एमएनओमा नै रहन अनुरोध गरेका थिए । तर, तामाङले नमानेपछि उनलाई २०६८ भदौ २६ गते पार्टीबाट कारबाही गरेेको घोषणा गर्दै विभिन्न ठाउँमा पत्र पठाएका थिए । जब कि तामाङले यसभन्दा १२ दिनअगाडि नै राजीनामा गरिसकेका थिए । तामाङले एमएनओको केन्द्रीय सभाबाट राजीनामा गरेपछि एमएनओको सङ्गठन पूर्ण रूपमा ध्वस्त भएको छ । यसबाट अत्तालिएर अहिले गुरुङले तामाङमाथि एमएनओमा रहँदा आर्थिक घोटाला गरेको र विभिन्न अवैध क्रियाकलाप गरेको भन्ने भ्रमपूर्ण पर्चाहरू निकाल्ने तयारी गरिरहेका छन् । एमएनओको कुनै पनि आर्थिक कोष नभएकोले गोपाल गुरुङलाई कुनै पनि ठाउँमा भएको एमएनओको कार्यक्रमहरूमा भाग लिन जाँदा लाग्ने सम्पूर्ण खर्च तामाङले नै दिनुपथ्र्यो । गोपाल गुरुङले तामाङलाई एमएनओ नछाड्न भनी आग्रह गरेको गुरुङको भ्वाइस रेकर्ड सुरक्षित रहेको बुझिन्छ ।
कुनै पनि परिवर्तनकारी पार्टीले आफ्नो लक्ष्यअनुरूप आफ्नो आधारभूत शक्तिको पहिचान गर्दछ र त्यसैको बलमा मुलुकको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन गर्ने योजना बनाउँछ । गोपाल गुरुङले त आफ्नो आभारभूत शक्तिको पहिचान पनि गर्न सकेका छैनन् । आधारभूत शक्तिको पहिचान नगर्ने पार्टी गफाडीहरूको चिया पसलको गफ मात्र हुन्छ । त्यसले आमूल परिवर्तनको डिङ हाँक्न सक्छ, तर माखो पनि मार्न सक्दैन । एमएनओको नामले नै उसको आधारभूत शक्ति भनेको अहिन्दु मूलवासी मंगोलहरू हुन् । तर, गोपाल गुरुङले त आफ्नै समुदायलाई शत्रु घोषित गरेका छन् । हो, हरेक राजनीतिक दलले आफ्नो मित्रशक्ति र शत्रुशक्तिको पहिचान गर्दछन्, त्यसैअनुसार दलको रणनीति र कार्यक्रम तय गर्दछन् अनि विभिन्न दल तथा सङ्घ-संस्थासँग सहकार्य वा एकता गर्दछन् । गोपाल गुरुङले ९९ प्रतिशत मंगोल समुदायको प्रतिनिधित्व गर्ने सङ्घ-संस्थाहरू र ती संस्थाहरूसँग आबद्ध वा त्यस आन्दोलनका नेतृत्वहरू डा. ओम गुरुङ, पर्शुराम तामाङ, सीताराम तामाङ, पद्मरत्न तुलाधर, मल्ल के. सुन्दर, सुरेश आलेमगर, वैरागी काइँला, डा. कृष्णबहादुर भट्टचन, नोबलकिशोर र्राई, डा. चैतन्य सुब्बा र बालकृष्ण माबुहाङलगायत मंगोल समुदायका सयौँ नेतृत्वकर्तालाई ज्यानी-दुश्मन घोषणा गरेका छन् । यी सङ्घ-संस्था र नेताहरूले निम्त्याएको कुनै पनि कार्यक्रममा आफ्ना कार्यकर्तालाई भाग नलिनु भन्ने आदेशसमेत जारी गर्ने गरेका छन् । यसबाट गोपाल गुरुङ र एमएनओले गरिरहेका गतिविधि र क्रियाकलाप अहिन्दु मूलवासी मंगोल समुदायले वर्तमान समयमा गरिरहेको आन्दोलनविरुद्ध रहेको देखिन्छ । यसरी गोपाल गुरुङ र एमएनओले कुन आफ्नो मित्रशक्ति हो र कुन आफ्नो शत्रु हो भन्ने कुरा छुट्याउन सकेका छैनन् । गोपाल गुरुङको यो क्रियाकलाप मंगोलको कल्याण गर्ने नाममा घुमाउरो पाराले मंगोल समुदायकै विरुद्ध उभिएपछि एमएनओका सबै नेता तथा कार्यकर्ताले एमएनओ परित्याग गरी मंगोल डेमोक्रेटिक पार्टीको स्थापना गरेका हुन् । एमएनओमा अहिले मुलुकभरिमा सयजना कार्यकर्ता भेट्टाउन पनि मुस्किल छ ।
गोपाल गुरुङले राजालाई आजीवन राष्ट्रपति बनाउने प्रस्ताव गरेपछि एमएनओका समग्र कार्यकर्ताले विरोध गरेका थिए । एमएनओले प्रान्तीय सरकारको कुरा गरे पनि मुलुकमा कतिवटा प्रान्त हुनुपर्छ र सरकारको स्वरूप कस्तो हुनुपर्छ ? राज्यको स्वरूप समावेशी, समानुपातिक प्रतिनिधित्व वा मंगोल मात्रको एकलौटी के हुनुपर्छ ? के कसरी उत्पीडनमा परेका अहिन्दु मूलवासी मंगोल समुदाय, पिछडा वर्ग र हिन्दूहरूले शुद्र बनाइएको तथाकथित अछुत वर्ग दलित समुदाय र मुस्लिमको हक-अधिकारको सुरक्षित गर्ने ? भावी गणतन्त्र नेपालको आर्थिक ढाँचा कस्तो हुने ? यी तमाम विषयमा गोपाल गुरुङ र एमएनओसँग कुनै भिजन र प्रस्ताव छैनन् । हामी नेपालका हिन्दू आर्यन शासकहरूबाट शोषित-पीडित समुदायले अधिकारविहीन संविधान र भोकै बस्ने मंगोलवाद अवश्य नै खोजेको होइन । किताब खानु मिल्दैन, आकाश ओढ्नु मिल्दैन । सपनाको आनन्दले गुजारा चल्दैन । गोपाल गुरुङ र एमएनओको अहिलेको गतिविधि र क्रियाकलाप यथास्थितिवादी अर्थात् सामन्ती दलाल र पुँजीपतिको पक्षपाती रहेको देखिन्छ । तर्सथ, गोपाल गुरुङको नेतृत्वमा रहेको एमएनओ तमाम गरिब, गरिखाने वर्ग र अहिन्दू मूलवासी मंगोल समुदायको हितविरुद्ध उभिएको छ ।
गोपाल गुरुङले २२ वर्षदेखि एमएनओको नाममा हुङ्कार गर्दै आइरहेको भए पनि उनीसँग सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक कार्यक्रम र भावी नेपालको खाका छैन । उनीसँग केही छ भने दम्भ र घमण्ड मात्र छ । ‘मै खाउँ, मै लाउँ, सब सुख-सयल वा मोज म गरूँ ! मै नाचुँ, मै हासुँ, अरू सब मरुन् दुर्बलहरू !!’ भन्ने सोच र प्रवृत्ति गुरुङसँग छ । एक किसिमले यो सोच र प्रवृत्ति पनि बाहुनवाद नै हो । गुरुङले एमएनओ स्थापना भएदेखियता हालसम्म पार्टीबाट निष्काशन र कारबाही गरेका नेता तथा कार्यकर्ताको संख्या मात्रै हजारभन्दा बढी रहेको छ । गुरुङले यतिसम्म गरेका छन् कि आफ्नै बहिनी कृष्णा गुरुङलाई समेत घरबाट निकाल्ने काम गरेका थिए । अहिलेसम्म एमएनओका जति नेता तथा कार्यकर्तालाई गोपाल गुरुङले पार्टीबाट निष्काशन गरेका छन्, ती सबै नेता तथा कार्यकर्ता अति सक्षम र जुझारु छन् । निष्काशन गरेका जति व्यक्ति छन्, उनीहरूलाई एमएनओको विधानविपरीत निष्काशन गरेका छन् । गुरुङको यस कार्यले उनी एकलकाटे चरित्र र प्रवृत्ति भएका व्यक्ति हुन् भन्न उपयुक्त हुनेछ ।
त्यसकारण गुरुङ र एमएनओसँग रहेका करिब एक सयजति नेता तथा कार्यकर्ताले आफूलाई परिवर्तन गरी परिवर्तनकारी दल मंगोल डेमोक्रेटिक पार्टीमा रूपान्तरित हुने तयारी गरिरहेका छन् । गोपाल गुरुङसँग समग्र उत्पीडित समुदाय वर्ग र क्षेत्रको समस्या सम्बोधन गर्ने कुनै दृष्टिकोण छैन भन्ने ठहर उनीहरूले गरिसकेका छन् । यस्तो व्यक्तिको नेतृत्वमा रहेको सङ्गठनले कसरी सिङ्गो मुलुकबासीको मानव-अधिकार, वातावरण र विकास तथा मुलुकको स्वाधीनताको रक्षा गर्न सक्छ ? यो एकदमै सोचनीय कुरा हो । यतिसम्म कि एमएनओ प्रेसिडेन्ट गुरुङलाई आफ्नै गुरुङ समुदायका सबै सङ्घ/संस्थाहरूले विगत केही वर्षदेखि तिरष्कृत र बहिष्कृत गर्दै आएका छन् । गुरुङले दक्षिणपन्थी र प्रतिक्रियावादीहरूको सेवा गर्ने गरेको आरोप गुरुङ समुदायले लगाउने गरेको छ । यही कारण एमएनओ प्रेसिडेन्ट गुरुङले सिङ्गो गुरुङ समुदायलाई शत्रु घोषणा गरेका हुन् । उनलाई गुरुङ समुदायको कुनै पनि सङ्घ/संस्थाबाट निमन्त्रणा नआउनु, अनि उनी पनि गुरुङ समुदायले गर्ने गरेका कुनै पनि कार्यक्रमहरूमा सहभागी नहुनुले यस कुराको पुष्टि हुन्छ । गोपाल गुरुङको एमएनओ र मंगोलवाद अन्ततः प्रतिगमनकारी, यथास्थिति-वादी, प्रतिक्रियावादी, सामन्ती, राजावादी, जातिवादी, दक्षिणपन्थी र विर्सजनवादीको हतियार बन्ने खतरा र सम्भावना रहेको देखिन्छ । यही कारण अहिले गोपाल गुरुङ र एमएनओसँग रहेका सबै नेता तथा कार्यकर्ता मंगोल डेमोक्रेटिक पार्टीमा प्रवेश गरिरहेका छन् ।