‘एमाले’माथि राज गर्दै प्रचण्ड, केपीका अघिल्तिर तीन विकल्प

‘एमाले’माथि राज गर्दै प्रचण्ड, केपीका अघिल्तिर तीन विकल्प


प्रचण्डको प्रवेशपछि कुनै पनि स्थान शान्त, सुरक्षित र स्थिर हुन नसक्ने कुराको पुनः एकपटक पुष्टि भएको छ । माओवादी सङ्घर्षको औचित्यमा विराम लगाउँदै नेकपा एमालेसँग पार्टी एकता गरेका प्रचण्ड उक्त पार्टीमाथि आफ्नो सम्पूर्ण नियन्त्रणको स्थिति बनाउन अग्रसर हुनुभएको छ । नेकपाको ‘एमाले’ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतमको खुला तथा महासचिव विष्णु पौडेल र रामबहादुर थापा बादलको गुप्त साथ–समर्थन मिलेपछि प्रचण्डको आत्मविश्वास निकै बढेको छ ।

बितेका तीन महिनाभित्र प्रचण्डले एकपछि अर्को उपलब्धि हाशील गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई रक्षात्मक अवस्थामा पुऱ्याइदिनुभएको छ । केपीबाट ‘कार्यकारी अध्यक्ष’को हैसियत फुत्काउन सक्नु प्रचण्डको ठूलो सफलता थियो । सभामुखमा सुवास नेम्वाङको चयन गर्ने केपीको योजना र अठोट पनि पूरा हुन सकेन, तर प्रचण्ड भने आफूले चाहेकै व्यक्ति (अग्नि सापकोटा) लाई सभामुख बनाउन सफल हुनुभएको छ । त्यसैगरी एमसीसी अनुमोदनसम्बन्धी विषयमा पनि प्रधानमन्त्री केपी ओली परास्त हुनुभएको छ । उहाँलाई एमसीसी सजिलै अनुमोदन हुने विश्वास थियो, तर केन्द्रीय समितिको बैठकले अध्ययन समिति गठन गरेर मात्र यस विषयमा टुङ्गो लगाउने निर्णय गरेको छ । तीन सदस्यीय समिति (झलनाथ खनाल, प्रदीप ज्ञवाली र भीम रावल) मा दुईजना एमसीसी अनुमोदनको विपक्षमा आफ्नो राय सार्वजनिक गर्दै आएका व्यक्ति हुनुहुन्छ भने एकजना प्रदीप ज्ञवाली मात्र अनुमोदनको पक्षधर मानिनुहुन्छ । समिति गठनले एमसीसी अनुमोदनको सम्भावनामाथि मात्र प्रश्न उठाएको छैन, पार्टीभित्र केपी ओलीको हैसियतमाथि पनि प्रश्न खडा गरेको छ ।

पार्टीको एकलौटि कमान्ड हातमा आइसकेपछि माधव नेपाललाई सजिलै सिध्याउन सकिने र केपी पक्षमा उत्पन्न हुने बदलाको भावनालाई समेत माधवविरुद्ध उपयोग गर्ने रणनीतिक चालमा प्रचण्ड रहनुभएको देखिन्छ । त्यसैले आगामी केही साताभित्रै प्रचण्डले केपीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गर्ने योजना बनाउनुभएको बुझिएको छ ।

केन्द्रीय समितिको बैठकमा छलफलका निम्ति निर्माण भएका तेह्रवटा टोलीमा सबै टोली केपी ओलीको मत र चाहनाविपरीत प्रस्तुत भएको थियो । पार्टीको आन्तरिक वातावरण केपीविरुद्ध रहेको देखिएपछि ईश्वर पोखरेल र विष्णु पौडेलले पनि केपीको रक्षा गरेर आफूहरूलाई ‘एक्स्पोज’ गर्न खोज्नुभएन । महासचिव विष्णु पौडेलले त वरिष्ठ नेता माधवकुमार नेपाललाई गुप्त रूपले भेटी आफ्नो ‘भोलिको लाइन’ सोझ्याइसक्नुभएको बताइन्छ । आइतबार (माघ १९ गते) समितिको बैठक समापन हुनुभन्दा दुई दिनअघि शुक्रबार राति विष्णु पौडेल माधव नेपाललाई भेट्न कोटेश्वरस्थित उहाँको निवासस्थान पुग्नुभएको थियो । केपी रक्षात्मक हुँदै गएपछि उहाँलाई कसरी बलियो बनाउने भन्दा पनि आफैँ कसरी सुरक्षित हुने भन्नेतिर विष्णु पौडेलसहितका नेताहरू लागिपर्नुभएको बुझिएको छ ।

अब के हुन्छ ?

नेकपाले आफ्नो महाधिवेशन आगामी नयाँ साल (२०७७) चैतमा सम्पन्न गर्ने निर्णय लिएको छ । नेकपाको आन्तरिक राजनीति अब महाधिवेशनलाई नै केन्द्रबिन्दुमा राखेर अघि बढ्न सक्ने सम्भावना छ । प्रचण्ड केपी ओलीलाई महाधिवेशनभन्दा पहिले नै प्रधानमन्त्रीबाट मुक्त गर्ने प्रपञ्चमा हुनुहुन्छ । माधव नेपाललाई प्रधानमन्त्री बनाएर नेपालसँगको मोर्चाबन्दी कसिलो तुल्याउने र पार्टीको एकलौटि अध्यक्ष बन्ने योजनामा प्रचण्ड रहनुभएको बुझिन्छ । त्यसैले महाधिवेशनसम्म माधव नेपालको साथ पाइरहन जुनसुकै हथकण्डा अपनाउन पनि तयार रहने मानसिकतामा प्रचण्ड हुनुहुन्छ ।

पार्टीको एकलौटि कमान्ड हातमा आइसकेपछि माधव नेपाललाई सजिलै सिध्याउन सकिने र केपी पक्षमा उत्पन्न हुने बदलाको भावनालाई समेत माधवविरुद्ध उपयोग गर्ने रणनीतिक चालमा प्रचण्ड रहनुभएको देखिन्छ । त्यसैले आगामी केही साताभित्रै प्रचण्डले केपीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गर्ने योजना बनाउनुभएको बुझिएको छ । अहिलेको स्थिति यथावत् रह्यो भने यो योजनामा प्रचण्ड सफल बन्नुहुने सम्भावना पनि छ । यसरी केपीलाई हटाउँदा नेकपा विभाजित नै हुन्छ भने पनि त्यसप्रति प्रचण्ड संवेदनशील हुनुहुने ठानिएको छैन । शक्ति र सत्ताको केन्द्रबिन्दुमा रहिरहन जेसुकै गर्ने प्रचण्डको स्वभाव र शैलीका कारण विगतमा उहाँसम्बद्ध पार्टी पटक–पटक फुटेको थियो ।

अहिले पनि नेकपाबाट केपी र उहाँको टोली बाहिरिएको हेर्ने चाहना प्रचण्डमा भएको महसूस उहाँका निकटवर्तीहरूले गरेका छन् । त्यसैले प्रधानमन्त्री केपी ओलीका अघिल्तिर केवल तीन विकल्प देखिएको छ । पहिलो, नेकपाभित्रको ‘एमाले’ पक्षलाई एकताबद्ध गर्दै माओवादी पक्षको पनि सम्भव भएसम्मका नेताहरूलाई साथ लिएर मन्त्रिमण्डल पुनर्गठन गरी सरकारलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने, दोस्रो कम्तीमा चालीस प्रतिशत पुऱ्याएर पार्टी छुट्याउने र काङ्ग्रेसलगायतका दलहरूसँग मिली गठबन्धन सरकार बनाएर अघि बढ्ने तथा तेस्रो, ‘आफ्नो दिन सकिएको’ ठानेर आफ्नै पार्टीमा प्रचण्डको शासन चुपचाप सहेर बस्ने या प्रचण्डसमक्ष आत्मसमर्पण गर्ने । उल्लिखित तीनमध्ये कुनै पनि विकल्पमा केपी जान सक्नुहुने सम्भवना देखिएको छ, तर उहाँले तीनमध्ये कुनचाहिँ विकल्पलाई प्राथमिकता दिनुहोला भन्ने स्पष्ट तस्बिर देखापरिसकेको भने छैन ।