गच्छदारविरुद्ध मुद्दा दायर भएपछि कांग्रेस आकस्मिक छलफलमा

गच्छदारविरुद्ध मुद्दा दायर भएपछि कांग्रेस आकस्मिक छलफलमा


कांग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध साढे नौ करोडको बिगोसहित भ्रष्टाचार मुद्दा दायर भएपछि नेपाली कांग्रेसका शीर्ष नेताहरूको आकस्मिक बैठक बसेको छ । बिहीबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बोलाइएको बैठकमा केही कांग्रेसनिकट कानून व्यवसायीलाई पनि परामर्शका लागि बोलाइएको छ ।

बालुवाटारस्थित ललितानिवास प्रकरणमा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसभापति गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछ कांग्रेसका नेता र कानुन व्यवसायी छलफलमा जुटेका हुन् ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. मीनेन्द्र रिजाल, संसदीय दलका प्रमुख सचेत बालकृष्ण खाण, सचेतक पुष्पा भुसाल, राष्ट्रिय सभा संसदीय दलका नेता सुरेन्द्र पाण्डे, सचेतक सरिता प्रसाईं सहभागी रहेको बुझिएको छ ।

बिहान १० बजेदेखि बसेको बैठकमा नेताहरूको अब यस विषयमा कानुनी रूपमा कसरी अघि बढ्ने भन्ने विषयमा नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनका अध्यक्ष योगेन्द्रबहादुर अधिकारी, पूर्वअध्यक्ष भरतप्रसाद खरेल, कानून व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसन महासचिव लीलामणि पौडेल र कानुनविज्ञ राधेश्याम अधिकारीसँग छलफल भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार ललितानिवास प्रकरणमा दोषी ठहर गर्दै कांग्रेस उपसभापति गच्छदारसहित एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।