गच्छदारको बचाउ गर्दै कांग्रेसद्वारा संसद अवरोध

गच्छदारको बचाउ गर्दै कांग्रेसद्वारा संसद अवरोध


प्रमुख विपक्षी दल नेपाली कांग्रेसले बालुवाटारस्थित ललितनिवास जग्गा प्रकरणमा आफ्ना नेता विजयकुमार गच्छदारमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको भन्दै बिहीबार संसद् अवरोध गरेको छ ।

बिहीबार बसेको प्रतिनिधिसभाको संसदको बैठक सुरु हुनासाथ समय लिएर कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले कांग्रेस भएकै कारण गच्छदारमाथि प्रतिशोधपूर्ण रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको आरोप लगाएकी छिन् । उनले भनिन्, ‘यसबाट अख्तियारजस्तो संवैधानिक आयोग पनि सरकारको लाचार छाया बनेको पुष्टि भएको छ ।’

उनले नेकपा महासचिव विष्णु पौडेल र न्यायाधीश कुमार रेग्मीको नाम नलिएरै भनिन्, ‘कसैलाई जग्गा फिर्ता गरेको भन्दै मुद्दा नचलाउने र कसैलाई मुद्दा चलाउने निर्णय गरेर कसैलाई काखा कसैलाई पाखा गरिएको छ ।’

कांग्रेस सांसदले उठेर सदन अवरोध गरेपछि संसद बैठक शुक्रबार दिउँसोसम्मका लागि स्थगित भएको छ । अख्तियारले बुधबार मात्र ललितानिवास प्रकरणमा गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।