चीनद्वारा ७५ अर्ब डलरबराबरका अमेरिकी सामानमा कर कटौतीको घोषणा

चीनद्वारा ७५ अर्ब डलरबराबरका अमेरिकी सामानमा कर कटौतीको घोषणा


चीनले अमेरिकाबाट आयात हुने करिब ७५ अर्ब डलरबराबरका सामानमा कर कटौती गर्ने घोषणा गरेको छ । गत फेब्रुअरी १४ मा चीनले करिब १५० अर्ब डलरबराबरका अमेरिकी सामानमा कर वृद्धि गर्ने घोषणा गरेको थियो ।

चिनियाँ कर आयोगका अनुसार अमेरिकी प्रशासनले चिनियाँ वस्तुमा करवृद्धि गर्ने घोषणा गरेपछि त्यसको प्रतिशोधस्वरूप चीनले पनि गत वर्ष सेप्टेम्बरमा एक हजार ७ सयभन्दा बढी किसिमका अमेरिकी वस्तुमा करवृद्धि गर्ने योजना सार्वजनिक गरेको थियो । यी करहरू ५ र १० प्रतिशत थिए ।

दश प्रतिशत करको दायरमा मुख्य रूपमा ताजा सामुद्रिक खाना, कुखुरा र सोयाबिन रहेका थिए । आयोगले जारी गरेको विज्ञप्तिमा चीन–अमेरिका आर्थिक तथा व्यापारिक सम्बन्धलाई स्वस्थ र स्थिर राख्ने प्रयत्नस्वरूप कर कटौती गरिएको उल्लेख छ । कर कटौतीको यो प्रस्ताव आगामी फेब्रुअरी १४ देखि नै लागू हुने आयोगको भनाइ छ ।

अमेरिकी प्रशासनले पनि करिब १२० अर्ब अमेरिकी डलरबराबरका चिनियाँ सामानमा थप कर नलिने घोषणा गर्ने अपेक्षा गरिएको छ । तथापि विगतमा घोषणा गरिएका कतिपय करवृद्धिका प्रस्ताव यथावत् रहने दुवै पक्षले जनाएका छन् । अमेरिका र चीनले गत जनवरीमा व्यापार–युद्धलाई मत्थर बनाउन र समझदारी विकास गर्न आंशिक व्यापार सम्झौतामा हस्ताक्षर गरिसकेका छन् । सम्झौतामा आगामी दुई वर्षभित्र २ सय अर्ब अमेरिकी डलरभन्दा बढीका अतिरिक्त सामान चीनले आयात गर्ने उल्लेख छ ।

पहिलो चरणको आंशिक सम्झौताअनुसार, अमेरिकाले १२० अर्ब डलर मूल्यबराबरका चिनियाँ सामानमा लगाइने करलाई आधा कटौती गरी ७.५ प्रतिशत कायम गर्नेछ । गत डिसेम्बरमा अमेरिकी राष्ट्रपतिले चिनियाँ सामानमा १५ प्रतिशत करवृद्धि गर्ने घोषणा गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समय चीनसँगको सम्बन्ध निकै प्रगाढ रहेको र निरन्तर सुधारतर्फ अग्रसर भएको बताउँदै आएका छन् ।
रासस–एएफपी