महाअभियोगबाट राष्ट्रपति ट्रम्प मुक्त

महाअभियोगबाट राष्ट्रपति ट्रम्प मुक्त


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प महाभियोग प्रक्रियाबाट मुक्त भएका छन् । अमेरिकाको माथिल्लो सदन सिनेटमा बुधबार भएको मतदानपछि राष्ट्रपति ट्रम्पले महाअभियोगबाट मुक्ति पाएका हुन् । आफ्नो राजनीतिक स्वार्थका लागि विदेशी शक्तिमाथि आफ्ना सम्भावित चुनावी प्रत्याशी जोन बाइडेनविरुद्ध भ्रष्टाचारको छानबिन गर्न दिएको आरोपमा ट्रम्पमाथि महाअभियोगको प्रक्रिया अगाडि बढेको थियो ।

राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव तल्लो सदन ‘हाउस अफ रेप्रिजेन्टेटिभ्स’बाट भने पारित भएको थियो । हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट अर्थात् तल्लो सदनबाट महाभियोग प्रक्रियाको सामना गर्ने ट्रम्प तेस्रो अमेरिकी राष्ट्रपति भएको अमेरिकी सञ्चारमाध्यम बताउँछन् । महाअभियोग प्रस्तावमा ट्रम्पले शक्तिको दुरुपयोग गरेको भन्ने पक्षमा ४८ मत परेको थियो । तर, विपक्षमा ५२ मत परेको थियो ।

त्यस्तै अमेरिकी संसद् अवरुद्ध गरेको आरोपमा पनि पक्षमा ४७ मत र विपक्षमा ५३ मत प्राप्त भएको थियो । एक सय सदस्य रहेको अमेरिकी सिनेटमा रिपब्लिकनको बहुमत रहेको छ । अमेरिकी सिनेटमा रिपब्लिकनका ५३, डेमोक्रेटिकका ४५ र स्वतन्त्रका २ सदस्य रहेका छन् । राष्ट्रपतिविरुद्धको महाभियोग पारित गर्न कम्तीमा पनि ६७ मतको आवश्यकता पर्छ ।

महाभियोगको हल्लाविरुद्ध अमेरिकी जित भएको दाबी राष्ट्रपति ट्रम्पले गरेका छन् । यस विषयमा उनले बिहीबार सम्बोधन गर्ने समाचारमा जनाइएको छ ।
RSS/AFP