चीनको सार्वजनिक उडानहरूलाई अवरूद्ध नगरिने र सरकारले आफ्ना नागरिकलाई उनीहरू जहाँ भए पनि घर फर्कन चाहेको समय सहज व्यवस्था उपलब्ध गराउने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।
केही विदेशी अधिकारीहरूले आगामी दिनमा चीनले अझ बढी प्रतिबन्ध लगाउने र व्यवसायिक उडानमा चीन छोड्न गाह्रो हुने भन्दै छिट्टै चीन छोड्नुपर्ने धारणा सार्वजनिक गरेपछि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुन्निङद्वारा उक्त टिप्पणी गरिएको सिन्ह्वाले जनाएको छ । ‘त्यो केवल अफवाह हो’, हुआले भनेकी छन् ।
चिनियाँ सरकारले स्वदेशी तथा विदेशी नागरिकहरू सबैको जीवन र स्वास्थ्यलाई उच्च महत्व दिएको उनले दाबी गरेकी छन् । चीनले जटिल कोरोना भाइरसविरूद्ध सबभन्दा व्यापक तथा कडाईका साथ निवारण र नियन्त्रणका उपायहरू अपनाएको पनि उनको भनाई छ ।
चीनले चालेका कदम विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र अन्तर्राष्ट्रिय स्वास्थ्य नियमहरूको मापदण्डभन्दा स्तरीय रहेको उल्लेख गर्दै उनले अहिले चीनमा विदेशी नागरिकहरूको सुरक्षा, स्वास्थ्य र जीवनस्तरको ग्यारेन्टी रहेको दाबी गरिन् । चीनको नागरिक उड्डयन प्रशासनले हवाईजहाजमा फैलाउने भाइरसको सम्भावना कम गर्न र अन्तराष्ट्रिय उडानमा यात्रुहरूको सुरक्षा र स्वास्थ्य सुनिश्चित गर्न प्रभावकारी कदम चालेको प्रवक्ताको भनाई छ ।
सबै देशले महामारीको स्थिति र चीनको प्रयासलाई बढी शङ्का गरेर नभई शान्त, वस्तुनिष्ठ र तर्कसङ्गत रूपमा मूल्याङ्कन गर्न जरूरी भएको तर्क गर्दै प्रवक्ता हुआले भनिन्– ‘केही देशले डब्ल्यूएचओको सिफारिश र अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन बुलेटिनहरूको बावजुद उडान स्थगित गर्ने जस्ता चरम प्रतिबन्धहरूको अनुशरण गरेपछि केही चिनियाँ नागरिकहरू विदेशमा फसेका छन् ।’
चिनियाँ सरकारले यस अवस्थालाई सम्बोधन गर्न अत्यन्त महत्व दिने जनाउँदै विदेश मन्त्रालय र चिनियाँ कूटनीतिक नियोगहरूले विदेशमा उडानहरू परिवर्तन गरेर वा अन्य देशहरूको माध्यमबाट ट्रान्जिट गरेर उनीहरूलाई घर फर्कन सहयोग गरिरहेको हुआको भनाई छ ।
भारतद्वारा चीनबाट ६४० जनाको उद्धार
कोरोना भाइरसबाट अति प्रभावित चीनको वुहानबाट भारतले आफ्ना ६४० भन्दा बढी नागरिकलाई उद्धार गरेको छ । उद्धार गर्ने क्रममा माल्दिभ्सका सात जनालाई पनि उद्धार गरेको सम्बद्ध अधिकारीहरूले बिहीबार (६ फेब्रुअरी) जानकारी दिएका छन् ।
चीनसँगको सहकार्य र समन्वयमा उनीहरूलाई उच्च जोखिमका बीचमा उद्धार गरिएको भारतको विदेश मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता राविस कुमारलाई उद्धृत गर्दै एएनआईले जनाएअनुसार उनीहरुलाई दुई उडान मार्फत् भारत ल्याइएको र तीमध्ये अधिकांशलाई वुहान र वुहाननजिकैका क्षेत्रबाट उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये कसैलाई पनि कुनै पनि प्रकारको रोग नदेखिएको दाबी पनि गरिएको छ ।
भारतले यसलाई ‘ठूलो उद्धार’को रुपमा लिएको छ । उनीहरुलाई उद्धारका लागि चीनले गरेको सहयोग र समन्वय उल्लेख्य रहेको पनि प्रवक्ता रविस कुमारले बताएका छन् । भारत फर्किन खोजेका अरु दश जना भने स्वास्थ्य परिक्षणको प्रक्रिया पूरा नभएकाले फर्किन नपाएको खुलासाा पनि उनले गरेका छन् ।
चीनमा गत डिसेम्बरदेखि देखिन थालेको कोरोना भइरसका कारण अहिलेसम्म ५६२ भन्दा बढीको मृत्यु भइसकेको छ भने अरु हजारौँ सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया