नेपालको विकासको आधार हुन सक्ने अनौठो तार-पुल

नेपालको विकासको आधार हुन सक्ने अनौठो तार-पुल


झोलुङ्गे पुल अथवा काठे पुलभन्दा पनि सस्तो तर अति आधुनिक प्रविधिको तार–पुलको नेपालमा सफलतापूर्वक निर्माण कार्य हालै सम्पन्न गरिएको छ । ललितपुर जिल्लाको नख्खुमा सफलतापूर्वक प्रयोग गरिएपछि काभ्रे र मकवानपुर जिल्लाको बीचमा पर्ने मिल्चेस्थित बागमती खोलामा उक्त पुल निर्माण भएपश्चात् त्यस भेगका झण्डै १० हजार जनता लाभान्वित भएका छन् । साथै यस्तो अत्याधुनिक प्रविधिको तार–पुल चढेर ओहोरदोहोर गर्न पाएकोमा उनीहरू मख्ख पनि छन् ।

उक्त तार–पुलको लम्बाइ ७० मिटर रहेको छ । सम्पूर्ण माल–सामानको ढुवानी खर्चसमेत हिसाब गर्दा पुलको निर्माण खर्च जम्मा तीन लाख रुपैयाँ लागेको बताइएको छ । जब कि उक्त ठाउँमा झोलुङ्गे पुल बनाउनुपरेको भए २० लाख रुपैयाँभन्दा बढी लाग्न सक्थ्यो । नेपालको भौगोलिक स्थिति हेर्दा यो प्रविधिको तार पुल अत्यन्तै उपयोगी ठहरिन सक्ने कुरा निर्माण दलका सदस्यहरूले बताएका छन् । तार–पुलको प्रविधि झन्डैझन्डै केबलकारसँग मेल खान्छ । तर, तार–पुल सञ्चालन गर्न केबलकारलाई जस्तो विद्युत्शक्तिको आवश्यकता भने पर्दैन । यो त अत्यन्तै सरल प्रविधिको पुल हो । मान्छेले नै सामान्य बल प्रयोग गरेर सामान अथवा मान्छे वारपार गर्न–गराउन सकिन्छ । यसको क्षमता दुई सय पचास किलोग्राम रहेको छ । पाँच वर्षको लागि ग्यारेन्टी दिइएको उक्त पुलको सम्पूर्ण प्रविधि अमेरिकी रहेको छ ।

यो पुलको निर्माणकार्य ‘इकोसिस्टम प्रा.लि.’ ले गरेको हो । इकोसिस्टम विदेशी व्यापारीहरूले नेपालमा आएर उद्योग सञ्चालन गर्ने एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो । उक्त संस्थाका प्रबन्ध–निर्देशक डेभिड सावर वाइनको प्रविधिमा काभ्रे जिल्लाको उक्त तारपुल निर्माण भएको हो । अमेरिकी नागरिक वाइनलाई नेपालमा यस्तो प्रविधिको पुल बनाउन तपाईं कसरी प्रेरित हुनुभयो भनी प्रश्न गर्दा उनी बताउँछन्, ‘विगत सात–आठ वर्षअघिदेखि म नेपालको धेरै पहाडी भेगहरू घुमिसकेँ । त्यहाँका जनताले खोला, नदी तर्नुपर्दा अनावश्यक दुःखकष्ट भोग्नुपरेको दृश्यले मेरो मन छोयो र मैले यस्तो नौलो प्रविधि भित्र्याउने उद्देश्य बनाएँ । पहिलो निर्माणकार्य सफलताका साथ सम्पन्न भएको छ, स्थानीय बासिन्दाहरू पनि दङ्ग छन् मलाई खुशी लागेको छ ।’

इकोसिस्टमको प्रविधि पार्वती फन्ड बेल्जियम जिल्ला विकास समिति काभ्रे, मिल्चे गाविस र जापान मेडिकल एसोसिएसनको संयुक्त लगानीमा उक्त पुल निर्माण गरिएको कुरा इकोसिस्टमका बजार व्यवस्थापक नन्दराम भण्डारीले जानकारी दिनुभयो ।

काभ्रे जिल्लास्थित मिल्चे गाविसका अध्यक्ष दलसुर मोक्तान उक्त पुल बनेपछि त्यस भेगका जनताको भाग्य नै सप्रेको बताउँदै भन्नुहुन्छ, ‘यो पुल बन्नुभन्दा पाँच वर्ष पहिले एउटा झोलुङ्गे पुल थियो । त्यसलाई ०५० सालको बाढीले बगाइदिएपछि मान्छेले धेरै दुःख पाएका थिए । अझ वर्षायाममा कतिपय मान्छे खोलो तर्नुपर्दा बगेर मर्थे । अब ती दिनहरू गएका छन् । स्कुल हिँड्ने केटाकेटीदेखि घाँसपात गर्ने महिलासम्मले अब यो पुलको उपयोग गर्नेछन् ।’

पुलको संरक्षण गर्ने उद्देश्यले एउटा स्थानीय संरक्षण समिति पनि गठन गरिएको जानकारी प्राप्त भएको छ । उक्त समितिले पुल चढ्ने व्यक्तिहरूमार्फत केही रकम सङ्कलन गर्ने र पछि मर्मतसम्भार गर्नुपर्दा सोही रकम उपयोग गर्ने सोचाइ रहेको जानकारी गाविस अध्यक्ष मोक्तानले दिनुभयो । गत मङ्सिर २२ गते काभ्रे जिल्ला विकास समितिका सभापति कृष्णप्रसाद सापकोटाले उक्त पुलको उद्घाटन गर्नुभएको थियो ।

इकोसिस्टमका बजार व्यवस्थापक नन्दराम भण्डारीले दिनुभएको जानकारीअनुसार तार–पुलको निर्माण गर्ने ठाउँ काठमाडौं उपत्यकामा पनि प्रशस्तै रहेका छन् । यसअघि ललितपुर उमनपा वडा नं. १० का अध्यक्ष नरसिंह व्यञ्जनकारले ललितपुरको ज्वागलबाट कामनपाको बानेश्वरसम्म उक्त पुल बनाउन सरसल्लाह गर्नुभएको थियो । तर, काठमाडौंका वडाध्यक्षले स्वीकृति नदिएका कारण उक्त योजना त्यसै तुहिएको थियो । काठमाडौंजस्तो यातायातको सुविधा भएको ठाउँमा तार–पुलको निर्माणकार्य २ लाख ५० हजार रुपैयाँमा पूरा हुने बताइएको छ ।

यातायातको सुविधा उपलब्ध गराउन अत्यन्तै कठिन पर्ने नेपालजस्तो पहाडी मुलुकमा यस्तो प्रकारको प्रविधि भएको पुल बरदान नै सिद्ध हुने देखिन्छ । बरु श्री ५ को सरकारले नै इकोसिस्टमलाई आवश्यक सहयोग गरिदिएर अन्य दुर्गम पहाडी भेगमा यस्ता पुल बनाउन लगाए खोला, नदी र बाढीबाट पीडित जनताले सुखको सास फेर्न पाउने थिए । – सुशील भट्टराई

(२०५५ पुस ८ गते बुधबार, घटना र विचार साप्ताहिक)