पृथ्वीनारायणको करनीति

पृथ्वीनारायणको करनीति


गोर्खामा जो प्रशासन–व्यवस्था थियो, त्यसलाई नबदल्नू भनेर श्री ५ पृथ्वीनारायण शाह काजी रणरुद्र शाहलाई गोर्खामा छोडेर आफू नुवाकोटमा आएका थिए । नुवाकोटमा धेरै काल रहेका हुनाले गोर्खाको प्रशासन–व्यवस्था त्यहाँ र लामीडाँडा जिल्लामा पनि उनले ल्याएका थिए । नुवाकोटबाटै सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र दोलखा जितेका थिए तापनि त्यहाँ शान्ति भङ्ग नहोस् भनेर प्रशासन–व्यवस्थालाई उनले ज्यादा बदलेका थिएनन् । मकवानपुर जितेपछि त्यहाँको प्रशासन–व्यवस्था जस्ताको तस्तै राखेका र भक्तपुर दखल भएपछि काठमाडौंलाई राजधानी बनाई आफ्नो सिंहासनसमेत त्यहीँ लगे तापनि उनले प्रशासन–व्यवस्थामा विशेष अन्तर गराएनन् । किराँतका दुई सेन ठकुराई जितेपछि पनि त्यहाँका प्रशासन–व्यवस्थामा हेरफेर भएको देखिँदैन ।

श्री ५ पृथ्वीनारायण शाहले नेपालको एकीकरणका निमित्त पहिले नुवाकोटमा अधिकार गर्ने योजना त बनाए, तर वाराणसीबाट फर्कंदा उनको हात रित्तिएको हुनाले कमल वनसित कर्जा लिई र गोर्खाको एक वर्षको आयबाट खर्च कटाई बचेको धनसमेत नुवाकोट दखल भएपछि गोर्खाको प्रशासन काजी रणरुद्र शाहलाई सौंपी श्री ५ पृथ्वीनारायण शाहले नुवाकोटलाई राजधानी बनाएपछि गोर्खा र नुवाकोटको आयबाट ऋण तिरी बचेको धनको सहायताले अगाडि बढी लामीडाँडा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र दोलखामा समेत उनले अधिकार गरेका थिए । दोलखा अधिकार हुँदा रुम्जाटारको गुरुङको बस्तीसमेत दखलमा आएको थियो । यस तरहसँग नयाँ प्रदेश जित्दै त्यहाँका आम्दानीबाट खर्च कटाई बचेको धनले अगाडि जित्दै जानुपर्दा खर्चले भ्याउँदैनथ्यो । यसकारण गोर्खा, नुवाकोट र काठमाडौंका समेत रैकर जग्गा रजबन्धकी राखी हजारौँ रुपैयाँ कर्जा लिँदै ठकुराईहरू दखल गर्दै जानुपरेको थियो । यसरी भूमिमा अधिकार बढाउँदै, अधिकार भएका भूमिका प्रशासन–व्यवस्था मिलाउँदै र तीन मल्ल ठकुराईका साथ तीन सेन ठकुराईसमेत उन्मूलन गर्न सफल हुनु श्री ५ पृथ्वीनारायण शाहजस्ता महान् व्यक्तिको काम थियो ।

जितिएका ठकुराईका रैतीहरूले परचक्रीको शासन भनी उनमा विराग पैदा नहोस् भन्नाका निमित्त भूमिकर साबिकभन्दा बढाएको देखिन्न । तर, भूमिकर बाँकी नराखी राज्यको आय क्रमशः बढाउँदै लगेको देखिन्छ । इ.सं. १७७० मा काठमाडौंलाई राजधानी बनाएपछि काठमाडौं उपत्यकालाई राजधानी क्षेत्र र अन्यत्रलाई विस्तृत क्षेत्रहरू (जिल्ला) मा बाँडेर प्रत्येक जिल्लामा (क्षेत्रमा) एक–एक प्रशासनाधिकारी राखिएका देखिन्छन् । ती यस तरहसँग रहेका अनुमान गरिन्छन् :– पश्चिमपट्टि १– गोर्खा, २– सल्यान (धादिङसहित), ३– नुवाकोट र ४– लामीडाँडा । पूर्वपट्टि ५– सिन्धुपाल्चोक, ६– काभ्रेपलाञ्चोक, ७– दोलखा, ८– माझकिराँत र ९– पल्लोकिराँत । दक्षिणपट्टि १०– मकवानपुर (तलहट्टीसमेत), ११– चौदण्डी (अम्बरपुरको तलहट्टीसमेत) र १२– विजयपुर तलहट्टी ।

काठमाडौं उपत्यकामा र बाह्र प्रशासन क्षेत्रमा पनि रैकर भूमि सर्वत्र थियो । गोर्खामा रजबन्धकी भएका भूमि पनि थिए । यिनको भूमिकर बन्धकवाला उठाउँथे । बिर्ता सर्वत्र थिए । यिनको भूमिकर बिर्तावार नै उठाउँथे । राजगुठी पनि सर्वत्र थिए । यिनको भूमिकर गुठियार उठाउँथे । पल्लोकिराँतमा सेवाजागिर पनि थिए । सेवकले सेवा छोडेमा यी जागिर झिकिन्थे पनि । अन्यत्र सेवाबिर्ता पनि थिए । सेवा छोडेमा ती बिर्ता पनि रैकर हुन सक्तथे । हिमालपट्टि खेत छँदै थिएनन् । पाखा पनि वैरान ज्यादा हुनाले अनाजको उब्जनी कम हुन्थ्यो । पहाडखण्डमा खेत पनि थिए, तर कम मात्रामा थिए । खेतको तिरो चर्को थियो । पाखाबाली भिरालामा हुनाले त्यहाँ मकै, कोदो, मास आदि अनाज मात्र उब्जनी हुन्थ्यो । खेती गर्न कठिन हुनाले तिरो नाम मात्रको नगदी हुन्थ्यो । तराईपट्टि पनि भावरमा खेत कम र पाखा ज्यादा हुन्थे । तलहट्टीपट्टि खेत ज्यादा हुन्थे । यिनबाट राजकर ज्यादा आउने हुँदा तराईमा अधिकार थाम्नका निमित्त श्री ५ पृथ्वीनारायण शाहले अनेक कूटनीति खेल्नुपरेको थियो ।

श्री ५ पृथ्वीनारायण शाहले किराँतमा आक्रमण गर्नुभन्दा पहिले गोर्खादेखि दोलखासम्मका सेनाको काम गर्न सक्ने मुर्मीहरूलाई उनीहरूको घर–वास परेको पाखा जग्गालाई किपट भन्ने नाम दिएर रैकर बनाई एक तरहको जागिर बनाएका थिए । किपट जग्गाको असुल तहसिल गर्नु नपर्दा जिल्लाका प्रशासकको काम केही हलुका भएको थियो । साधारणतया जिल्लाका प्रशासक सुब्बा वा सर्दार हुन्थे । तर, विजयपुरमा बख्शी अभिमानसिंह बस्न्यात नै सुब्बाको काम पनि गर्दथे । जग्गा भिन्नभिन्न किसिमका भएकाले तिरोको दर फरक भएको थियो तापनि साबिकको दरभन्दा श्री ५ पृथ्वीनारायण शाहले बढाएनन् । रैकर खेतको तिरो धान लाग्दथ्यो । कहीँकहीँ पाखाको तिरोमा मास र पल्लोकिराँतमा अलैँची पनि लाग्दथ्यो । यिनको मोल नगद लगाएर असुल गरिन्थ्यो । प्रत्येक जिल्लाको आम्दानी प्रायः जिल्लाहरूका काममा लाग्ने भई तलहट्टीबाट मात्र केही नगद उठ्ती भएर काठमाडौंका राज्यकोषमा पुग्दथ्यो ।

भूमिकरबाहेक ‘श्री राज अंक’ नामक अर्को राजकर पनि लागेको थियो । ‘रानी, पानी, खानी’ राजाको हुन्छ भन्ने सुप्रसिद्ध नियम भएकाले माछा पाल्ने पोखरीको तिरो, नदीनालाको घाट तर्ने नाउको तिरो र खानीको तिरो राज अंकभित्र पर्दथ्यो । बजारमा बिक्री हुन जाने चौपाया र अरू वस्तुको जगातभन्सार पनि राज अंकभित्र पर्दथे । यीबाहेक काठमाडौं उपत्यकाभित्र रहेका बिर्ता जग्गा खरिद–बिक्री भएमा रोपनी एकको ४ आना (रुपैयाँको चौथाइ भाग) काम पाको गराएबापत किन्नेसँग कर असुल गरिन्थ्यो । यसैगरी पक्की घर खरिद–बिक्री हुँदा पनि मामुली कर असुल गरिन्थ्यो र यी पनि राज अंकभित्र पर्दथे । प्रशासक भएका जिल्लाका हाकिमहरूले यो राज अंक उठाउन पाउँदैनथे । यस विषयमा अलग विभाग हुन्थ्यो र राजाबाट खटिएका कर्मचारीले यो राज अंक उठाउँथे । राजदरबारको खर्च, परराष्ट्रसम्बन्धी खर्च र लडाइँको खर्च ज्यादा गरी राज अंकका आम्दानीबाटै चल्दथ्यो र पछि राजकोषमा जगेडा पनि रहन लागेको देखिन्छ । तर, रजबन्धकीका ऋण तिरिएका देखिन्नन् ।

चौतारा, काजीदेखि लिएर खजाञ्ची, कपर्दार, सर्दार, खरिदार र पण्डिततकका खानगीमा जग्गा भर्ना हुन्थे र आफ्नाआफ्ना खानगीमा परेका जमिनको भूमिकर यिनै उठाउँथे । यस तरहसँग सामान्यतया प्रशासनको खर्च भूमिव्यवस्थाबाटै चल्दथ्यो ।

(‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी’बाट)