कोरोनाका कारण हालसम्म ७ सय २२ जनाको मृत्यु

कोरोनाका कारण हालसम्म ७ सय २२ जनाको मृत्यु


चीनबाट सुरु भई विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या शनिबार ८ फेब्रुअरी) सम्म ७ सय २२ पुगेको छ । मृत्यु हुनेमध्ये दुई जना विदेशी रहेको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले ६० वर्षीय एक अमेरिकी नागरिकको वुहानमा गत बिहीबार मृत्यु भएको जानकारी दिए पनि अन्य विवरण नदिएका एएफपीले जनाएको छ ।

त्यसैगरी अर्का एक जना ६० वर्षकै जापानीको पनि कोरोना भाइरसबाट वुहानमै मृत्यु भएको छ । जापानको विदेश मन्त्रालयले घटनाको पुष्टि गरेको समाचारमा जनाइएको छ ।

चिनियाँ सरकारी अधिकारीहरुका अनुसार थप झण्डै ३५ सय जनामा यस भाइरसको सङ्क्रमण देखिएको छ । कोरोनाका कारण चीन बाहिर भने अहिलेसम्म हङकङ र फिलिपिन्समा दुई व्यक्तिको मृत्यु भएको छ । उनीहरु दुवै जना चिनियाँ नागरिक नै हुन् ।

डिसेम्बरकोे अन्त्यमा चिनियाँ बजार वुहानमा पहिलोपटक देखापरेको नयाँ कोरोना भाइरसको सङ्क्रमण विश्वभर फैलिएको छ । विश्वका झण्डै ३० देशमा यो भाइरसबाट ग्रसित व्यक्ति फैलिएका छन् भने तीन देशमा कुल ३ सय २० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

कोरोना भाइरसबाट अति प्रभावित क्षेत्र मानिने वुहानमा सरकारले शुक्रबार ११ हजार स्वास्थ्यकर्मी थप गरेको छ । देशका अति राम्रा मानिएका आईसियु स्टाफसहितका स्वास्थ्यकर्मीको टोली वुहानमा पठाइएको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुमध्ये तीन हजार जना सघन उपचार कक्षमा काम गर्ने चिकित्सक र नर्स रहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।