सैनिक कमान्डोले सपिङ मलमा अन्धाधुन्ध गोली चलाउँदा २६ को मृत्यु

सैनिक कमान्डोले सपिङ मलमा अन्धाधुन्ध गोली चलाउँदा २६ को मृत्यु


थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओचाले देशको उत्तरपूर्वी क्षेत्रमा एकजना सैनिक जवानले अन्धाधुन्ध चलाएको गोली लागेर २६ जना सर्वसाधारणको मृत्यु भएको पुष्टि गरेका छन् । उनले आइतबार दिएको जानकारीअनुसार शनिबार भएको उक्त घटनामा अरू ५७ जना घाइते भएका छन् । उक्त घटनमा गोली चलाउने सैनिकको पनि मृत्यु भएको छ ।

देशको नाकोर्न रात्चासिमा सहरमा रहेको एउटा किनमेल केन्द्र (सपिङ मल) मा एकजना मानसिक रूपमा अस्वस्थ सैनिक कमान्डोले अन्धाधुन्ध गोली चलाएका थिए । ती सैनिकले ब्यारेकबाट एउटा स्वचालित हतियार ‘हुम्वी’ चोरेर शहर पसेको र अन्धाधुन्ध गोली चलाएको थाई स्थानीय प्रहरीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेका छन् ।

प्राप्त जानकारीअनुसार आक्रमणकारी भनिएका ती सैनिकले गोली चलाउँदै व्यापारिक भवनमा छिरेका र त्यहाँ एउटा आफ्नो तस्बिर ‘सेल्फी’ खिचेर सामाजिक सञ्जाल फेसबुकमा राखेको पनि प्रहरीले बताएको छ । फेसबुकमा पेस्तोल र तीन गोलीको तस्बिर राखेर ‘अब मजा गर्ने समय आएको’ र ‘कसैले पनि मृत्युलाई छल्न नसक्ने’ भनेर लेखेका थिए । फेसबुकले अहिले त्यो पेज हटाइदिएको छ ।

जक्रफन्थ थोम्मा नामक ती व्यक्तिलाई पनि सुरक्षाकर्मीहरूले मारिदिएका छन् । हतियारधारी ती सैनिकलाई कब्जामा लिन गरिएको कारबाहीका क्रममा उनको मृत्यु भएको जनाइएको छ । स्थानीय समयअनुसार शनिबार ९ः३० बजेतिर प्रहरीले ३२ वर्षीय ती बन्दुकधारी मारिएको पुष्टि गरेको हो । ती बन्दुकधारीलाई भवनको पछिल्तिरबाट भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गरेको थियो । आत्मसमर्पण गर्न लगाउन उनकी आमालाई पनि त्यहाँ लगिएको थियो ।

सिन्ह्वाले जनाएअनुसार शनिबार आफ्नो कमान्डरलाई मारेर सैनिक शिविरबाट हतियार चोरेको अहिलेसम्मको अनुसन्धानबाट देखिएको अधिकारीहरूले बताएका छन् ।