बङ्गलादेशका सेना प्रमुखद्वारा रक्षामन्त्री र प्रधानसेनापतिसँग भेटवार्ता

बङ्गलादेशका सेना प्रमुखद्वारा रक्षामन्त्री र प्रधानसेनापतिसँग भेटवार्ता


नेपाल भ्रमणमा रहेका बङ्गलादेशका सेना प्रमुख जनरल अजिज अहमद र उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलबीच आइतबार (२३ माघ) शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्ताको क्रममा उपप्रधानमन्त्री पोखरेलले दुई देशका सेनाबीच असल र मैत्रीपूर्ण सम्बन्ध रहेको र संयुक्त सैनिक अभ्यास तथा तालीममार्फत दुई देशको सेनाबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सकिने विश्वास व्यक्त गरेका बताइएको छ ।

उपप्रधानमन्त्री पोखरेलले दुई देशबीच सन् १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको र द्विपक्षीय सम्बन्ध जनस्तरसम्म विस्तार भएको उल्लेख गरेका रक्षा मन्त्रालयले जनाएको छ ।

बताइएअनुसार सो अवसरमा बङ्गलादेशका सेना प्रमुख अहमदले बङ्गलादेशको स्वतन्त्रतालाई समर्थन गर्ने नेपाल सातौँ राष्ट्र रहेको कुरा उल्लेख गर्दै दुई देशबीच विगत पाँच दशकदेखि अत्यन्त घनिष्ट र मैत्रीपूर्ण सम्बन्ध रहेको स्मरण गराएका थिए । उनले नेपाल र बङ्गलादेशका सेनाबीच अत्यन्त सौहार्दपूर्ण सम्बन्ध रहेको चर्चा गर्दै द्विपक्षीय सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउँदै जान आवश्यक रहेको धारणा राखे ।

यसैगरी सैनिक जनसम्पर्क निर्देशनालयले दिएको जानकारीअनुसार प्रधानसेनापति पूर्णचन्द्र थापा र बङ्गलादेशका सेना प्रमुख अहमदबीच पनि आइतबार शिष्टाचार भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेका सेनाप्रमुख अहमद र प्रधानसेनापति थापाबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।