केजरीवाललाई मोदीको बधाई

केजरीवाललाई मोदीको बधाई


भारतको राजधानी दिल्ली विधानसभाको निम्ति भएको निर्वाचनमा भारी विजय हासिल गरेको आम आदमी पार्टी (आप)का प्रमुख अरविन्द केजरीवाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । दिल्ली विधानसभाको ७० सिटमध्ये ६२ सिटमा ‘आप’ले विजय हासिल गर्नुअघि नै सोमबार साँझ मोदीले ट्वीट गर्दै केजरीवाललाई बधाई दिएका हुन् ।

सन् २०१५ मा सो पार्टीले ६७ सिटमा र भाजपाले जम्मा तीन सिटमा जित हासिल गरेको थियो भने यसपटकको निर्वाचनमा भाजपालाई थप पाँचसमेत आठ सिट हात लागेको छ । कुनैबेला दिल्लीमा १५ वर्ष लगातार शासन गरेको सोनिया गान्धी नेतृत्वको भारतीय कंग्रेसले चाहिँ शुन्यमै चित्त बुझाउनु परेको छ भने तुलनात्मक रूपमा केही सिट बढे पनि भाजपालाई यसपटकको विधानसभा चुनावले राम्रै धक्का दिएको ठानिएको छ ।

तत्कालीन सुषमा स्वराज नेतृत्वको सरकारले सन् १९९८ मा चुनाव हारेयता भाजपाले दिल्ली सरकारको नेतृत्व गर्न पाएको छैन, जबकि दिल्ली सरकारमा आफ्नो पकड बनाउन भाजपाले अनेक रणनीति अवलम्बन गरेको थियो । उसका सबै रणनीति असफल सावित भएका छन् ।

पूर्वदाबीअनुरुप भारी जित हासिल गरेपछि केजरीवालले मतदातालाई धन्यवाद दिन गरेको सम्बोधनमा यसपटकको मत परिणामले भारतमा नयाँ राजनीतिलाई जन्म दिएको अभिव्यक्ति दिए । उनले भने– ‘जसले विद्यालय बनाउँछ, स्वास्थ्य क्लिनिक बनाउँछ, सस्तो दरमा २४ घण्टा बिजुली दिन्छ, त्यसलाई नै जनताले मत दिने सन्देश दिल्लीका जनताले निर्वाचनमार्फत दिएका छन् ।’ आगामी पाँच वर्ष दिल्लीका दुई करोड जनतासँग मिलेर काम गर्ने शक्ति हनुमानजीले प्रदान गरून् भन्दै उनले मतदातालाई धन्यवाद दिए ।

दिल्लीमा गत शनिबार मतदान भएको थियो । कूल मतदाता सङ्ख्याको ६२.५९ प्रतिशतले मतदान गरेका थिए । दिल्ली निर्वाचन आयोगका अनुसार दिल्लीमा कुल मतदाता संख्या एक करोड ४६ लाख ९२ हजार १३६ छन् ।

सम्बन्धित समाचार हेर्नुहोस्-

दिल्ली विधान सभा निर्वाचन : ‘आप’लाई दुई तिहाई सिट हासिल हुने प्रक्षेपण