कोरोना भाइरसबारे पछिल्लो विश्वव्यापी विवरण

कोरोना भाइरसबारे पछिल्लो विश्वव्यापी विवरण


चीनबाट शुरु भएर विश्वव्यापी भएको कोरोना भाइरसका कारण अहिलेसम्म ११ सय १३ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले ‘कोभिड—१९’ नाम दिएको यस भाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुनेहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।

भाइरसको सङ्क्रमण विभिन्न देशमा फैलिन थालेपछि आर्थिक क्रियाकलापमा समेत असर पर्न थालेका छ भने आम नागरिक त्रसित अवस्थामा रहेका छन् । कोरोना भाइरसका कारण चीनमा मात्रै थप ९७ जनाको मृत्यु भएकाले मृत्यु हुनेको सङ्ख्या बढेर ११ सय १३ पुगेको हो । सङ्क्रमित हुनेको सङ्ख्या भने चीनमा मात्रै ४४ हजार ६ सय पुगेको छ ।

‘मलाई लाग्छ फेब्रुअरीको मध्यदेखि अन्त्यसम्ममा यसको जोखिम उच्चस्तरमा पुगेको हुन्छ,’ चीनको राष्ट्रिय स्वास्थ्य आयोगका चर्चित वैज्ञानिक झोङ नान्शानले भनेका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले जेनेभामा भाइरसका बारेमा विषेश सम्मेलनको आयोजना गरेको छ भने सम्मेलनमा बोल्ने मुख्य वक्ता टेड्रोस अधनोम घेब्रेयेसुसले भाइरसविरुद्ध लड्ने मौकाको रूपमा लिनुपर्ने बताएका छन् ।

‘हामीले अहिले नै त्यसका लागि लगानी ग¥यौँ भने हामीले यो नियन्त्रण गर्ने मौका पाउने छौँ,’ उनले भने ।

त्यही सम्मेलनमा यो भाइरसको नाम कोभिड—१९ राखिएको घोषणा गरिएको थियो । ‘को’ भन्नाले कोरोना, ‘भीआई’ भन्नाले भाइरस र ‘डी’ भन्नाले डिजिज (रोग) भन्ने बुझाउन र सन् २०१९ मा देखिन शुरु भएकोले कोभिडको पछाडि १९ देखिएको उनीहरूले बताएका छन् ।

यो भाइरसको सङ्क्रमण सन् २०१९ को डिसेम्मबरमा चीनको उहानबाट देखिन थालेको हो भने यसको पहिचान पहिलो पटक डिसेम्बर ३१ मा भएको थियो ।

यो कोरोना भाइरसको प्रकोप नियन्त्रणका विश्वका नेताले सहयोग गर्ने आश्वासन चीनलाई दिएका छन् । चीनलाई मङ्गलबार मात्र ग्रुप–७७ समूह, संयुक्त राष्ट्रसङ्घ तथा संयुक्त राज्य अमेरिकाले पनि सहयोग गर्ने जनाएका हुन् ।

त्यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालसम्म चीनले यो भाइरसको नियन्त्रणका लागि गरेका प्रयासको सराहना गरेका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पनि चीनलाई यो सङ्क्रमणविरुद्धको लडाईँमा आवश्यक सहयोग गर्ने बताएका छन् ।

पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डि सोउसाले पनि चीनलाई सान्त्वना दिँदै यो समस्याबाट चीनले छिट्टै नै मुक्ति पाउने विश्वास व्यक्त गरेका छन् ।

ग्रीक राष्ट्रपति प्रोकोपिस पाभ्लोपाउलसले यस भाइरसबाट ज्यान गुमाउने चिनियाँ नागरिकप्रति दुःख व्यक्त गरेका छन् ।

टर्कीका राष्ट्रपति रिसेप तयप एर्डाेगानले चीनका राष्ट्रपति सि चिनफिङको कुशल नेतृत्वबाट यो भाइरस निवारणको काम चीनले छिट्टै गर्ने धारणा राखेका छन् ।

यसैगरी अल्जेरिया, इथियोपिया तथा अइरिस प्रधानमन्त्रीले पनि चीनलाई सान्त्वता दिँदै यस सङ्क्रमणको नियन्त्रण एवं निवारणका लागि आफ्नो तर्फबाट सबै प्रकारका सहयोग गर्ने आश्वासन दिएका एएफपीले जनाएको छ ।